पाठकहरू घण्टौंसम्म घोरिएर साहित्यिक पुस्तक पढ्नुभन्दा युट्युबमा भिडियो हेरेर ज्ञान र मनोरञ्जन लिन थालेका छन्। सोही कारण पुस्तक लेखन, प्रकाशन र बिक्री खस्किँदै गएको छ। गुणस्तरीय पुस्तक प्रकाशन नगर्ने हो भने अब लेखक र प्रकाशक दुवैको भविष्य त्यति सुरक्षित नहुनेमा प्रकाशक मात्रै होइन पाठक पनि सहमत छन्।
बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक भएको चार हप्ता भयो। पत्रकार एवं लेखकसमेत रहेका बस्नेतको ‘महाभारा’ गत पुस २४ गते सार्वजनिक गरिएको हो। फाइन प्रिन्टले प्रकाशन गरेको उक्त पुस्तकले राम्रो बजार पाउने अपेक्षा थियो।फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले उपन्यासमा रहेको विषयवस्तु गज्जब भएकाले पनि राम्रो बजार पाउने अपेक्षा गरिएको बताए। पुस्तकलाई जतिले पढे, राम्रै प्रतिक्रिया दिइरहेका छन्। भारीकै शब्दलाई आधार मान्ने हो भने अपेक्षित रुपमा पुस्तकको व्यापार हुन सकेको छैन। उसो त 'महाभारा'का लेखक सञ्चारकर्मी भएकै कारण पनि पुस्तकले बढी चर्चा पाएको कतिपयको बुझाइ छ।
प्रकाशकहरूका अनुसार २०७५ को अन्तिमसम्म चल्तीका लेखकको पुस्तक १५ दिनमा पाँच हजारसम्म बिक्थ्यो। नयाँ लेखकका पुस्तक दुई हजार बेचिन्थे। सोही आकर्षणका कारण पनि प्रकाशकहरु साहित्यिक कृति बजारमा ल्याउन उत्साहित हुन्थे। पछिल्लो तीन वर्षयता नेपालमा पुस्तकको बजार खस्किँदा लेखक र प्रकाशक दुवै अप्ठ्यारो अवस्थामा छन्। यसो हुनुमा एउटा प्रविधिको विकास हो भने अर्को कोरोना महामारी।
‘हामी निकै अप्ठ्यारोमा छौं। केही समय तंग्रिएको साहित्यको बजारले आशावादी बनेका थियौं। महामारी आइसकेपछि पुस्तक लेखन, प्रकाशन र पठन संस्कृति ओरालो लागेको छ,’ भारी भन्छन्। उनले अब त दुुई हजार प्रति किताब छाप्न पनि सोच्नुपर्ने बताए।
साहित्यिक कृति लेखन र प्रकाशनमा कमी आउनुमा कोरोना महामारी मात्रै हो या अन्य कारण पनि छन् भन्ने विषयमा चाहिँ अध्ययन भएको छैन। त्यसैले नेपालमा कति पुस्तक प्रकाशन हुन्छन् र बिक्री हुन्छन् भन्ने कुरा प्रकाशककै तजबिजीमा भर पर्नुपर्ने अवस्था छ। अहिले पुस्तक बजारलाई प्रभाव पार्ने प्रमुख कारण कोरोना महामारी भए पनि प्रविधिको विकास अर्को कारण रहेको बताउँछन् बुक हिल प्रकाशनका भूपेन्द्र खड्का।
गर्दै आएको व्यवसाय छोड्न मन कहाँ थियो र? कतिपय त आफ्ना नियमित ग्राहक बनिसकेका थिए। बाँच्नै पर्यो। त्यसैले पुस्तक व्यवसाय छाड्न बाध्य भएँ,’
‘पाठकमा पुस्तक किनेर पढ्ने बानी थियो। कोरोनाले सबै आर्थिक क्रियाकलाप ठप्प भयो। पहिलो प्राथमिकतामा नपर्ने भएकाले पुस्तक किन्न छाड्नु स्वाभाविकै हो। अनि पढ्ने बानी हराउँदै गयो’, उनी भन्छन्। निकै मेहनत र प्रतीक्षापछि नेपाली साहित्यले पाठक पाइरहेकोमा कोरोना महामारीले त्यो बानीलाई ध्वस्त पारिदिएको उनको ठहर छ। यस्तै पाठकहरु प्रविधिमा अलमलिन थालेकाले पनि पुस्तक पठन संस्कृति कमजोर हुन थालेको उनले बताए।
कोरोना प्रभाव कति?
कोरोना महामारीले विश्व अर्थतन्त्रलाई खलबलाइदिएको छ। संक्रमणले मृत्युदर बढेसँगै विश्वका अधिकांश स्थानमा लकडाउन गरियो। थुप्रैले रोजगारी गुमाउन थाले। आयस्रोत घट्दै गयो। चालु कारोबार ठप्प भएपछि बजार प्रभावित हुन पुग्यो। आफूसँगको सञ्चित पुँजी मानिसले अत्यावश्यक काममा मात्र प्रयोग गर्न थाले। यस्तो अवस्थामा पुस्तक मानिसको पहिलो प्राथमिकता बन्न छोड्यो। इन्टरनेको सहज पहुँचका कारण पनि पुस्तक धेरैको रोजाइमा पर्न नसकेको खड्का बताउँछन्।
‘मानिससँग रहेको पैसा लकडाउनमा सकियो। त्यही पैसा खानेकुरा र उपचारमा खर्च भयो। आम्दानीका स्रोतमा कमी आयो। अनि पुस्तक प्राथमिमकतामा परेन। यो पाठकको बाध्यता पनि हो,’ फाइन प्रिन्टका निर्देशक अजित बराल भन्छन्।
फुटपाथमा पुस्तक बिक्री गर्नेहरुले भोगेको संकटले पनि पुस्तक बिक्रीमा कमी आएको स्पष्ट हुन्छ। २०७६ को अन्त्यसम्म चाबहिलकी गंगादेवी (नाम परिवर्तन) फुटपाथमा किताब बेच्थिन्। पुस्तक बेचेर राम्रै आम्दानी हुन्थ्यो। तर, यतिबेला पुस्तकको बजार ठप्प भएपछि उनलाई के गर्ने भइरहेको छ। कपडा बेच्नेहरूले राम्रो व्यापार गरेको देखेपछि उनले त्यही व्यवसाय अंगालिन्। ‘गर्दै आएको व्यवसाय छोड्न मन कहाँ थियो र? कतिपय त आफ्ना नियमित ग्राहक बनिसकेका थिए। बाँच्नै पर्यो। त्यसैले पुस्तक व्यवसाय छाड्न बाध्य भएँ,’ उनले भनिन्। प्रकाशकहरु भने पुस्तक पसलमा भीड लाग्नु भन्दा बिक्रीलाई आधार मान्छन्। अन्य सामानका पसलमा लाम लागेजस्तो साहित्यिक पुस्तक पसलमा लाम नलागे आफू त्यसमै सन्तुष्ट रहेको बताउँछन् बुक हिलका खड्का। उनी भन्छन्, 'पसलमा कति ग्राहक आएभन्दा कति किताब बिक्री भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।'
बागबजारस्थित जागरण बुक्सका गणेश चिताउरे कोरोना महामारीभन्दा पहिले कुनै दिन दर्जनौं साहित्यिक पुस्तक बेच्थे। कोभिडपछि उनलाई दिनमा एउटा पुस्तक बेच्न पनि कठिन भइरहेको छ। ‘कोभिडको पहिलो र दोस्रो भेरियन्टको समयमा त पुस्तक बेचेर भाडा तिर्नसमेत हम्मेहम्मे भयो। किताब किन्ने पाठक कहाँ गए गए,’ उनी भन्छन्।
कोभिडमा किताबभन्दा नि युट्युबतिर ध्यान गयो। युट्युब हेर्न थालेपछि समय बितेको पत्तै हुँदैन।'
उनले पहिले अंग्रेजी किताब किन्ने पाठकले चित्त बुझेका नेपाली किताब पनि किन्ने गरेको अनुभव सुनाए। त्यसले गर्दा नेपाली साहित्यको बजारलाई सहयोग पुग्ने गरेको थियो। विदेशबाट आयात हुने पुस्तकमा सरकारले १० प्रतिशत कर लगाइदिएपछि पाठकमा पुस्तकको पनि मूल्य बढेको भन्ने भ्रम थियो। पुस्तकमा लगाइएको करमा चौतर्फी विरोध भएपछि फिर्ता लिइयो। नेपाली किताब पढ्ने पाठक भने भड्किए। खड्का भन्छन्, ‘पाठक भड्किनुमा कोरोनासँगै कर पनि हो।’
युट्युबले दिएको धक्का
नयाँ पुस्ता डिजिटलमा गइसकेको छ। मनोरञ्जन र ज्ञानका सबै कुरा इन्टरनेटमै छ। त्यसको असर पुस्तक र पठन संस्कृतिमा पनि परेकाे बताउँछन् प्रकाशकहरु। यसमा फिनिक्स बुक्सका सञ्चालक गणेश सुवेदी पनि सहमत छन्। उनी भन्छन्, 'अब साहित्यिक कृति अध्ययन गरेर त्यसको रसास्वादन गर्नु भन्दा भिडियो हेरेर रमाउने जमात बढेको छ।'
बुक वर्ल्डका देवेन्द्र नेपाली किताब पढ्ने पाठक इन्टरनेटमा बढी भुलेका कारण साहित्यिक पुस्तक कम बिकेको बताउँछन्। उनी भन्छन्, ‘पहिला किताब पढ्ने अहिले मोबाइलमा सीमित भए। त्यसैले पुस्तक पढ्ने बानी हराउँदै गएको छ।'
जसको हातमा मोबाइल छ ऊ इन्टरनेटमा निरन्तर अपडेट हुन चाहन्छ किन कि मोबाइलमा विश्वको बारेमा बताउन सक्ने एप्सहरू छन्। काममा छिटो छरितो हुने भएकाले समयको बचत हुने र सहज पनि हुने भयो।
केही विषयमा अध्ययन गर्नु पहिले चार सय पेजका किताब बढ्नुपर्नेमा अहिले युट्युबले सबै कुरा दुई घन्टामै बताउनुले पनि बजार प्रभावित भइरहेको सरोकारवालाको बुझाइ छ। ‘कक्षा १२ मा अध्ययनरत एक बहिनीले आफ्नै नामको युट्युब चलाउँछिन्। उनी नृत्यमा पारंगत छिन्। आफूले नाचेको भिडियो मोबाइल एप्सबाटै सम्पादन गरेर अपलोड गर्छिन्। बहिनीले आफ्नो प्रतिभालाई युट्युवमा राखेर राम्रो कमाइ गरेकी छन्,’ नेपालीले भने। पाठक डिजिटल मैत्री भए पनि पुस्तक बजार भने डिजिटलतर्फ गइसकेको छैन।
पुस्तक अध्येताकै भनाइलाई आधार मान्ने हो पनि पढ्न भन्दा मानिसलाई भिडियो हेर्न सहज हुन थालेको छ। कपनमा बस्दै आएका रुपेश श्रेष्ठलाई बजारमा आएका केही नयाँ किताब खोजीखोजी पढ्ने बानी थियो। पढेका किताबका बारेमा उनी सामाजिक सञ्जालमा समिक्षात्मक केही शब्द लेख्थे। कोरोना महामारी सुरु भएपछि पढ्ने बानी नै छुटेको उनी बताउँछन्। भन्छन्, ‘कोभिडमा किताबभन्दा नि युट्युबतिर ध्यान गयो। युट्युब हेर्न थालेपछि समय बितेको पत्तै हुँदैन।' युट्युब हेर्दा उनी आर्ट डकुमेन्ट्री र केही चलचित्र हेर्छन्। उनलाई किताबमा घोरिएर पढिरहनु भन्दा भिडियो हेर्न सजिलो हुन थालेको छ।
‘किताब बेचेर नुन किन्न र बालबालिकाको किताबकपी जोड्न पनि गाह्रो होला जस्तो भइसक्यो। यही व्यवसाय अंगालौं टिक्न गाह्रो, कुनै अरु व्यवसाय बारे नै सोचौं यसैमा वर्षौंको मिहिनेत छ।'
भर्खर–भर्खर आख्यानका किताब पढ्ने बानी बस्न थालेका पाठकलाई युट्युबले प्रभाव पारेको उनी बताउँछन्। उनी भन्छन्, ‘अडियो, इबुक र प्रिन्ट तीन संस्करणमध्ये आफूलाई जुन सजिलो लाग्छ त्यही पढ्ने या सुन्ने हो। तर सहज त हेर्नुमै छ।’
इन्डिगो इन्कका प्रकाशक विष्णु पौडेल साहित्यको बजार ओरालो लाग्दै गएको भन्दै चिन्ता व्यक्त गर्छन्। ‘किताब बेचेर नुन किन्न र बालबालिकाको किताबकपी जोड्न पनि गाह्रो होला जस्तो भइसक्यो। यही व्यवसाय अंगालौं टिक्न गाह्रो, कुनै अरु व्यवसाय बारे नै सोचौं यसैमा वर्षौंको मिहिनेत छ,’ उनले भने।
पछिल्लो समय टिकटकलगायत एपहरूले पनि मानिसको महत्त्वपूर्ण समयलाई बरबाद गरिरहेका छन्। ती एपहरू लतकै रुपमा विकास भइरहका छन्। जसले गर्दा मानिसको सिर्जनात्मक समय क्षमतामा ह्रास आउन थालेकाे बताउँछन् लेखक रामलाल जोशी। ‘कुनै कुराको सदुपयोग हुनु राम्रो कुरा हो। तर, यही कुरालाई तलको रुपमा विकास हुन दिनु हुँदैन। यसले मानिसको महत्त्वपूर्ण समय बरबाद गर्छ’, उनी भन्छन्।
प्रविधिमैत्री त हुनैपर्छ तर कुनै पनि कुराको निश्चित सीमा हुने भएकाले त्यसभित्र रहेर मानिसले आफ्ना क्रियाकलाप गर्नुपर्ने जोशी बताउँछन्। ‘किताबमा इतिहास हुन्छ। विश्व हुन्छ। भूगोल हुन्छ। मनोरञ्जन हुन्छ। ती सबै कुरालाई आफ्नै आँखाले स्पर्श गरे जस्तो आनन्द अरु कहाँबाट प्राप्त हुनु?’ उनी भन्छन्।
सानैदेखि बालबालिकामा पढ्ने बानीको विकास गर्न सक्यौं भने साहित्यको बजार विस्तारमा टेवा पुर्याउनेछ।’
किताबमा समाज बाँचिरहोस् भन्ने आफूहरूको चाहना रहेको पौडेल बताउँछन्। उनले युवा मात्र नभएर बालबालिका पनि युट्युबको लत बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्छन्। उनी बालबालिकालाई सानैबाट इन्टरनेटको लतबाट जोगाउन नसके त्यसले बिस्तारै समस्या निम्त्याउने बताउँछन्। ‘छोराछोरी किताब पढ्छन् भविष्यमा ठूलो मान्छे बन्छन् भन्ने आमाबुवालाई विश्वास हुन्छ। तर, इन्टरनेटमा भुल्दा बालबालिका बिग्रिँदै गए भन्ने भान हुन्छ। सानैदेखि बालबालिकामा पढ्ने बानीको विकास गर्न सक्यौं भने साहित्यको बजार विस्तारमा टेवा पुर्याउनेछ,’ उनले भने। भिडियोले क्षणिक मनोरञ्जन दिए पनि पुस्तक पढेजस्तो दीर्घकालीन ज्ञान त्यसबाट प्राप्त नहुने पौडेलको बुझाइ छ।
सेलिङ काउन्टरमा थन्किँदै साहित्यका पुस्तक
कुनै समय पुस्तकको व्यापार राम्रो थियो। त्यसका लागि पसलमा छुट्टै र्याकको व्यवस्था गरिएको हुन्थ्यो। पाठकले मागेअनुसारकाे पुस्तक उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले त्यसरी र्याक छुट्याइएको हुन्थ्यो। त्यो पनि बाहिरबाट सिसाको फ्रेम लगाएर। अहिले ती र्याकमा पुरानै पुस्तक थन्किएको बताउँछन् पुस्तक व्यवसायी चिताउरे। मनिसले पहिले आफूले चाहेका पुस्तकको सूची नै ल्याएर दिन्थे।
अहिले त्यो कुरा एकादेशको कथाजस्तै बनेको छ। ‘यति चाँडै पठन संस्कृति हराउला भन्ने सोचेकै थिइनँ। एकै पटक समय फेरियो,’ उनले भने। कोरोना, युट्युब, टिकटकसँगै पछिल्लो समय पुस्तक मेला लाग्न नसक्नुले पनि बजार खस्किएको ठान्छन् शिखा बुक्सका पुष्पराज पौडेल।
कसरी उठ्ला पुस्तक बजार?
फाइन प्रिन्ट निर्देशक बराल सबैले नेपाली पुस्तकलाई माया गर्नुपर्छ भन्ने भावना विकास नहुँदासम्म पुस्तक बजार बलियो बन्न नसक्ने बताउँछन्। ‘एउटा लेखकले हाम्रो भूगोल लेख्छ, इतिहास लेख्छ। समाज लेख्छ। हामीले त्यसलाई बचाउन सकेनौं भने उसले लेख्न छोड्छ। जसले गर्दा हाम्रो राष्ट्रिय र राष्ट्रिय महत्त्वका निधि कमजोर हुन्छन् भन्ने कुरा पाठकले बुझ्नुपर्छ,’ उनले भने।
यसका साथै आफ्ना बालबालिकालाई सानैदेखि पठन संस्कृतिमा लगाउनुपर्ने उनी बताउँछन्। व्यक्तिले आफ्नो आधारभूत आवश्यकतामा किताब पठनलाई पनि राख्नुपर्ने बरालको धारणा छ। पुस्तक पढेर प्राप्त हुने साहित्यिक आनन्द भिडियो हेरेर वा श्रव्य सामग्री सुनेर हुन सक्दैन। त्यसैले पठन संस्कृति जीवन्त राख्न पुस्तक मेला आयोजना गर्नुपर्ने, प्रकाशक र लेखकहरू पाठकको माझमा पुगेर अन्तरक्रिया गर्नुपर्ने लगायतका गतिविधि गर्नैपर्ने बताउँछन् पुस्तक व्यवसायी खड्का। ‘बजार खस्कियो भनेर कराइरहेर मात्रै समस्या समाधान हुँदैन। समाधानका उपाय पनि खोज्नुपर्छ। यो व्यवसाय रोजिसकेपछि यसमा देखिने समस्या समाधान गर्ने पहिलो दायीत्व पनि हाम्रै हो’, उनले भने। कोरोनाले थला परेका पुस्तक व्यवसायीलाई माथि उठाउन सरकारले पनि राहतका प्याकेज ल्याउनुपर्ने उनले बताए।