आइतबार, जेठ ६, २०८१

सहयोगी मन जुटाउँदै 'कोसिस मानवताका लागि'

पवित्राजस्तो मान्छेलाई आफूले सक्ने काम जुराइदिएकोमा आनी 'कोसिस मानवताका लागि' कार्यक्रमलाई जश दिन्छिन्। ‘२ महिना भयो यहाँ काम गर्न थालेको। अहिले आधा बिमार सन्चो भएकोजस्तो भएको छ,’ ब्रेकफास्टमा काम गरिरहेको अवस्थामा भेटिएकी पवित्राले भनिन्।
 |  बिहीबार, माघ २०, २०७८

राज सरगम

राज सरगम

बिहीबार, माघ २०, २०७८

काठमाडौं- २८ वर्षीया पवित्रा देवकोटालाई दैनिक तीनपटक पेरिटोनियल डायलाइसिस (सीएपीडी) गर्नुपर्छ। सिन्धुली चपौलीकी पवित्राले दैनिक तीन पटक यस्तो डायलाइसिस गर्न थालेको पनि चार वर्ष भइसकेको छ। तीन महिनासम्म पाटन अस्पतालमा बसेर उपचार गरेपछि उनी अहिले घरमै छिन्। तर यसका लागि खर्च जुटाउन भने उनको परिवारलाई मुस्किल छ। यो डायलाइसिस पेटमा भएको परिटोनियल थैलीबाट गरिने रगत शुद्धीकरण विधि हो। यस्तो डायलाइसिस घरमै गर्न सकिन्छ।

पाटन अस्पतालमा उपचारका क्रममा १० लाखभन्दा बढी रकम खर्च भयो। यसका लागि उनले जग्गाजमिन बेचिन्। मिर्गौलाको समस्या तत्कालै ठिक हुन गाह्रो हुन्छ। उपचारका लागि आर्थिक अभाव थियो। त्यहीँ माथि कोरोना संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउनमा आमासँग राजधानीमा डेरा गरी बस्दै आएकी उनलाई झन् बढी सास्ती थपियो। सुखदुःख कोठाभाडा र हातमुख जोर्ने व्यवस्था पनि लयबाहिर मोडिन पुग्यो। 

पवित्राकी आमाले अरुको घरमा घरायसी काम सघाइदिएर मासिक १२ हजारसम्म कमाउछिन्। पवित्राको उपचार र खर्च पनि व्यवस्थापन गर्नुपर्ने भएकाले कति दिन त  काममै जान पाउँदिनन्। काममै जान नपाएपछि पैसा आउने कुरा भएन। दैनिक तीन पटक छोरीको डायलाइसिस गर्नुपर्ने भएपछि मासिक १२ हजारले काठमाडौंको महँगी कसरी धान्न सक्थ्यो? मासिक ६ हजार त कोठाभाडामै जान्छ। 

पवित्रालाई स्वास्थ्यमा समस्या भएपछि बुबा सम्पर्कविहीन भए। गरिबीले थिचेकाले उनले छोरीको स्वास्थ्य कमजोर हुँदा साथ दिन सकेनन्। रोगको बज्रापात, पारिवारिक बेमेल र आर्थिक समस्यामाथि समस्या थपिए। बाबुको माया उनले महसुस गर्न पाइनन्। यी सबै चुनौतीसँग जुध्न पवित्राकी आमाले संघर्ष गरिरहेकी थिइन्। 

triton college

मिर्गौलापीडितहरूका लागि सरकारले आर्थिक सहायता पनि उपलब्ध गराउँछ भन्ने सुनेपनि पवित्राको परिवारले त्यस्तो सहायता पाउन सकेको छैन। उनले जसरीतसरी गुजारा र उपचार खर्च जुटाउँदै आइन्। 

000

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि देशभर एकसाथ लकडाउन गर्ने निर्णय गर्‍यो। लकडाउनका बेला अधिकांश मानिसजस्तै चलचित्र निर्देशक सन्तोष लोहनी पनि फुर्सदिला बने। सुरुका केही दिन निष्फिक्री भएर परिवारसँगै बस्ने अवसर पाएकोमा रमाइलो पनि थियो। सामाजिक सञ्जालमा खानेकुरा तयार गरी खाएर परिवारमा खुशी रहेको दर्शाउने लहर नै सुरु भयो। समाजिक सञ्जालमा पहुँच भएका लोहनीसम्म ती तस्बिर/भिडियो नपुग्ने कुरा भएन। 

कोरोनाको जोखिम बढेको बढ्यै थियो। समाचार कोरोनाकेन्द्री थिए। लकडाउन सुरु भएको दुई/तीन साता बित्दा पनि खुल्ला हुने कुरै थिएन। तर सामाजिक सञ्जालका तस्बिरले रमाइलो बोल्न छाडिसकेका थिए। मानिसहरूका पीडा र बाध्यता सामाजिक सञ्जालमा देखिन थाले। राजधानी छोडेर राजमार्गमा अनिश्चितकालीन यात्रा गर्नेको ताँतीले राजधानीका कोठामा थुनिएकाहरूलाई बेचैन बनाएको थियो। यसमाथि थप पीडा हुनेहरूका बाध्यता त कति थिए कति!

corrent noodles
Metro Mart

भोक र रोगसँग संघर्ष गरिरहेका मानिसहरूका दृश्यले सामाजिक सञ्जाल भरियो। लकडाउन लम्बिइरहेको थियो। दीर्घरोगीका बाध्यताहरू पनि सामाजिक सञ्जालमा आउन थाले। यी सबै दृश्यले निर्देशक लोहनीलाई पनि घच्घच्यायो। कसरी सहयोग गर्न सकिन्छ त भन्ने सोचले पिरोल्न थाल्यो।

उनलाई दीर्घरोगीका समस्याले बढी घोच्यो। बिरामीलाई सहयोग गर्न सोच्दासोच्दै निष्कर्षमा पुगे- सहयोगका लागि टेलिभिजनमा कार्यक्रम बनाउने। नाम जुराए ‘कोसिस मानवताका लागि’। तर यसलाई मूर्त रूप दिन उनलाई केही समय लाग्यो।

000

'कोसिस मानवताका लागि' कार्यक्रम प्रस्तोता सन्तोषले पवित्राको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले टीभीमा बोलाए। कार्यक्रममा अतिथि बनेर आएकी थिइन् गायिका आनी छोइङ डोल्मा। 

दुवैजना एकै मञ्चमा बसेर कुराकानी गरे। आनीले सहयोग गर्ने आशय देखाइन्, पवित्राको आत्मविश्वासको प्रशंशा  गरिन्। कार्यक्रम सकिँदासम्म पवित्राको जिन्दगीमा सहयोगी हात जुट्लान् भन्ने आशा त थियो, तर पूर्णरूपमा विश्वस्त हुन सकेकी थिइनन्। 

000

कार्यक्रममा आफ्ना दुःख पोखेर बाहिर निस्कने बित्तिकै पवित्रालाई सहयोग गर्न तयार भइन् उनै आनी। आनीले पवित्रालाई उपचार गर्ने मात्रै वचन दिइनन्, काममा पनि लगाइदिइन्। काम पाए आफूले गर्ने कुरा पवित्राले कार्यक्रममा नै बताएकी थिइन्। 

आनीले आफ्नो गाडीमा राखेर पवित्रालाई लाजिम्पाटको ‘माइक ब्रेकफास्ट’ मा पुर्‍याइन्। स्वास्थ्यका कारण भारी काम गर्न नसक्ने पवित्रालाई बसेर गर्ने काम ‘क्यासिएर’मा लगाइदिइन्। पवित्राले वाणिज्यशास्त्र विषयमा स्नातकसम्मको अध्ययन गरेकी छन्। तर मिर्गौलामा समस्या भएपछि उनले तेस्रो वर्षको परीक्षा दिन सकिनन्। 

000

यतिबेला पवित्रा काममा जान्छिन्। कामले उनलाई पीडा भुलाउन सहयोग गरेको छ। आफूले पाउने माया थपिएको छ। ‘उहाँ (आनी)ले मलाई छोरीलाई झैं माया गर्नुहुन्छ। मलाई भेटिरहनुहुन्छ। उहाँले मलाई काम मात्रै दिनुभएन, मेरो उपचार पनि गरिदिँदै आउनु भएको छ,’ पवित्राले भनिन्। 

पवित्राजस्तो मान्छेलाई आफूले सक्ने काम जुराइदिएकोमा आनी 'कोसिस मानवताका लागि' कार्यक्रमलाई जश दिन्छिन्। ‘२ महिना भयो यहाँ काम गर्न थालेको। अहिले आधा बिमार सन्चो भएकोजस्तो भएको छ,’ ब्रेकफास्टमा काम गरिरहेको अवस्थामा भेटिएकी पवित्राले भनिन्।  

असहायका लागि सहयोगी हात बनेको ‘कोसिस मानवताका लागि’ कार्यक्रम पवित्रा र आनीको भेटको माध्यम बनेको कार्यक्रम अहिले पीडितहरूको दुःख बिसाउने ठाउँ बनेको छ।

‘असहाय मानिसहरुलाई किन सहयोग नगर्ने? उनीहरुको दुःख र रोग कम गराउन किन पहल नगर्ने? प्रस्तोता सन्तोष भन्छन्, ‘यस्तै भावले उद्वेलित भएर मैले कोसिस मानवताको लागि कार्यक्रमको परिकल्पना गरेको हुँ,' उनी थप्छन्, ‘यो कुनै नाफा कमाउने उद्देश्यले बनाएको कार्यक्रम होइन। केवल सेवाको भावनाबाट अभिप्रेरित भएर पीडितलाई सहयोग गर्ने वातावरण बनाउन खोजिएको मात्र हो।’ 

000

'कोसिस मानवताका लागि'को आठौं एपिसोड सकिएको छ। कार्यक्रमले पवित्राकै जस्तै दुःख भएका आठै जना पीडित असहायलाई तीस हजारदेखि चालिस हजारसम्मको सहयोग पनि गरेको छ। 

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत लालबहादुर कार्कीलाई भेट्न कोसिस मानवताका लागिको टिम अस्पताल पुग्यो। जन्मिएको ६ महिनापछि खुट्टा सुक्दै गएपछि लालबहादुर अशक्त बने। यसै पनि उनी अपाङ्ग त थिए, दुई महिना अगाडि आगोले जल्न पुगे। हिँड्न सक्थे भने उनी आगोबाट बच्न भाग्थे होलान्। शारीरिक असक्तताका कारण उनी भाग्न सकेनन् र उनको दुवै गोडा जले।

ट्रमा सेन्टरमा दुई महिनादेखि उनी जलेको गोडाको उपचार गराउँदै आएका छन्। उनको उपचारका लागि कोसिसले अपिल गरेको छ सहयोगी मनसँग। कार्यक्रममा अथिति पाहुनाका रुपमा पुगेका क्याप्टन विजय लामाले कार्कीलाई अस्पतालमै पुगेर पचास हजार रुपैयाँ सहयोग गरेका छन्। 

000

हर्नियाका बिरामी श्याम नेपाली पेट फुलिएर राम्ररी कपडा लगाउन सक्दैनन्। हिँड्न सक्दैनन्। कोसिस टिमले उनलाई खोज्यो। आर्थिक अवस्थाका कारण उपचार गतिलो हुन नसकेको श्यामलाई कार्यक्रम प्रस्तोता लोहनीले अस्पताल लगेर उपचार गराए। नगद ३१ हजार रुपैयाँ पनि सहयोग उपलब्ध गराए। अहिले पनि निरन्तर लोहनी श्यामसँग उपचारका बारेमा सोधिरहन्छन्। श्यामसँग जोडिएको विषय समावेश कार्यक्रममा अतिथि थिए संविधानविद् डा भीमार्जुन आचार्य। 

‘पीडित र असहायलाई सहयोग गर्न चुकेको राज्यलाई कोसिस मानवताको लागि कार्यक्रमले घच्घच्याउने कोसिस गरेको छ। सहयोगी मनहरुलाई एक ठाउँमा ल्याउन पनि भूमिका खेलेको छ,' डा आचार्य भन्छन्। 

नायक राजेश हमाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल, हास्यकलाकार राजाराम पौडेल, पत्रकार ऋषि धमलाजस्ता पाहुना र पीडितलाई प्राइम टिभीमै बोलाएर हरेक शुक्रबार साँझ ६:३० बजे उनी पीडितका कुरा सुनेका छन् प्रस्तोता लोहनीले। उनले सहयोगी मनहरुलाई पनि पीडितका कथा सुनाएका छन्। 

खुशी हुन अनेक उपाय छन् तर समाजसेवा गरेर खुशी हुन भने समय र पैसा दुवै लगानी गर्नुपर्ने हुन्छ। ‘भित्रैदेखि खुशी हुन सकेको छु। मैले गरेको कामले मलाई सन्तुष्टि मिलेको छ,’ लोहनी भन्छन्। 

प्रकाशित: Feb 03, 2022| 14:15 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।