काठमाडौं– नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टीको प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि गर्ने निर्णय गरेको हो।
बाँकी रहेका जिल्ला अधिवेशन भने स्थानीय निर्वाचनअघि नै गर्ने निर्णय भएको पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।बैठकले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिएको छ।
स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय भएको रिजालले बताए। आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सरकार र आयोग तयार भए पनि औपचारिक रुपमा मिति घोषणा भने भएको छैन।
बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन पनि गरेको छ ।