काठमाडौं- स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेगरी बैठक बोलाएका हुन्।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि आफूहरू त्यसको तयारीका विषयमा छलफल गर्न जुट्न लागेको बताएका छन्।
स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी ५ जेठमा सकिँदै छ। सरकारले स्थानीय तहको चुनावको घोषणा गर्ने भएपछि त्यसको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।
सचिवालय बैठकमा यसका साथै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा पनि छलफल हुने रिजालले बताए।