काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्यार्थी संघको महाधिवेशनबारे पार्टी चाँडै निर्णय लिने बताएका छन्।
मंगलबार नेविसंघका नेता–कार्यकर्तासँग पार्टी मुख्यालय सानेपामा भएको छलफलमा थापाले महाधिवेशन गराउने गरी पार्टीले चाँडै निर्णय लिने बताएका हुन्।
उनले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने गरी पार्टीले निर्णय लिने बताएका थिए। आगामी शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी भएको भन्दै उनले बैठकले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताए।
‘केही दिन भित्रै हामी निर्णय गर्छौं। र, त्यो निर्णयलाई सबै साथीभाईले त्यसलाई साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाई दिनुहोस्, यतिनै आग्रह गर्दछु,' उनको भनाइ थियो, 'केन्द्रीय कार्य सम्पादन समितिमा भातृ संस्था, शुभेच्छुक संस्थाहरु, यसमा एउटा एजेन्डा हुन्छ। त्यसको आधारमा निर्णय पनि हुन्छ।कार्य सम्पादन समिति बस्छ। सम्भवतः यही शुक्रबार बस्छ होला। त्यसबारे निर्णय हुन्छ।’
नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए।