काठमाडौं- नेपालका शीर्ष नेताहरु नै एक दोस्राले प्राप्त गरेको विद्यावारिधि उपाधिमाथि हेयाउन थालेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र पू्र्वउप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता डा. भीम रावल दुवै जनाले आफूले प्राप्त गरेको उपाधिलाई 'अब्बल' मान्दै अर्काले प्राप्त गरेको उपाधिलाई भने 'नक्कली' हुनसक्ने शंका गर्दै सामाजिक सञ्जालमा पीएचडीकै बदनाम गर्न थालेका हुन्।
पूर्वउप्रधानमन्त्री भीम रावलले सोमबार सांसदहरुलाई एमसीसी पास नगर्न आग्रह गर्दै स्मृति पत्र लेखेका थिए। सोही विषयमा अनलाइन खबरले समाचार बनाएर ट्विटरमा सेयर गर्यो। अनलाइन खबरको उक्त समाचारमा 'बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नु एको हो' भन्ने रावलको भनाइ उद्धहरण गरिएको छ।
अनलाइन खबरको ट्विटलाई बाबुराम भट्टराईले कोट ट्विट गर्दै भीम रावलको भनाइमा सत्यता नभएको दाबी गर्न उनको पीएचडी उपाधिलाई समेत निशाना बनाएका छन्।
'यी कण (भीम रावलको ट्विटर ह्यान्डल मेन्सन गरिएको)ले पीएचडी गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन्! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत/मिति/स्थान खुलाउनुपर्छ। उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको' हो भने कहिले, कहाँ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली पीएचडी हुन्?' डा. भट्टराईको कोट ट्विटमा उल्लेख छ।