काठमाडौं- अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषय स्थानीय तहको निर्वाचनसँग जोडिन पुगेको छ। जेठमा निर्वाचन गर्ने समझदारी बन्नासाथै प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौता अनुमोदन गराउने विषयमा सक्रिय भएको बालुवाटार स्रोत बताउँछ।
सत्ता गठबन्धनमा स्थानीय तह निर्वाचन जेठमा गर्ने समझदारी बने पनि त्यसका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन प्रक्रिया र मिति तोक्ने भएको छैन। तर देउवाले अहिले एमसीसी अनुमोदन प्राथमिकतामा राखेर छलफल तीव्र पारेका छन्। गठबन्धनमा आबद्ध माओवादी र एकीकृत समाजवादी भने तत्काल एमसीसी अनुमोदन गरेर जेठमा स्थानीय तहको निर्वाचनमा जान नसकिने अडानमा छन्।
देउवाले एमसीसीबारे आगामी फागुन १६ भित्र संसद्को औपचारिक जवाफ दिने जानकारी अमेरिकी अधिकारीहरूलाई दिएसँगै गठबन्धनबीच सहमतिको प्रयास जारी राख्दै आएका छन्।
सम्झौता अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रका पाँच दलबीच नै समान धारणा आउन सकेको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ। अन्य दलमा भने एमसीसी सम्बन्धमा मत बाझिँदै आएको छ। माओवादी र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी अनुमोदन नगराउने अडानमा छन्।
पाँच दलको सत्तागठबन्धनले एमसीसीका विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजक रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गराउने पक्षमा रहे पनि गठबन्धनमा सहमति नभएको बताउँछन्। उनी भन्छन्, ‘प्रधानमन्त्री एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ। तर, यस विषयमा पाँच दलका गठबन्धनमा सहमति भएको छैन।’
नयाँ दस्तावेज सातआठ सय पृष्ठभन्दा बढी रहेका कारण पनि अध्ययनका लागि समय लागिरहेको खनाल बताउँछन्।
उनले केही दिनअघि मात्र एमसीसीबारे नौ वटा नयाँ दस्तावेज प्राप्त गरेको जानकारी दिँदै भने, 'यसबारे अध्ययन गर्न पाएका छैनौं। यी सबै कुरा अध्ययन, संश्लेषण एवम् विश्लेषण नगरी एमसीसीबारे टुंगो लाउन सक्दैनौं।’ नयाँ दस्तावेज सातआठ सय पृष्ठभन्दा बढी रहेका कारण पनि अध्ययनका लागि समय लागिरहेको खनाल बताउँछन्। संसद् बैठक सञ्चालनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाधक बनिरहेको खनालको आरोप छ।
खनाल नेतृत्वको एमसीसी कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन्।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीबारे गठबन्धनका दलहरुबीच छलफल भइरहे पनि सहमति भइनसकेको बताउँछन्। उनी भन्छन्, ‘प्रधानमन्त्री देउवा संसद्मा टेबल गर्नुपर्छ र पारित पनि गर्नुपर्छ भन्नेमा हुनुहुन्छ। गठबन्धनका अरु पार्टीचाहिँ यथास्थितिमा एमसीसी पारित गर्न नसकिनेमा हुनुहुन्छ।' एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादवजी पनि एमसीसीबारे विभाजित रहेको श्रेष्ठ बताउँछन्। उनले एमसीसी पारित नभए गठबन्धन टुट्छ भन्ने हल्ला निराधार रहेको बताए। उनले भने, 'एमसीसी टेबल गर्ने, पास गर्ने भन्ने सहमति गठबन्धनमा भएको भन्ने दुवै विषय सत्य होइन।'
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई ‘गठबन्धन जोगाउन एमसीसी तत्काल पारित गर्नुपर्ने’पक्षमा छन्। तर उनको दलमै यसबारे समान धारणा बन्न सकेको छैन। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्य फागुनसम्म एमसीसी अनुमोदन गर्न नसके शक्ति राष्ट्रले बदल्न सक्ने रणनीतिको चेपुवामा नेपाल पर्न सक्ने खतरा औंल्याएका छन्। उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट अनुमोदन गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊँ, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’
प्रधानमन्त्री देउवाले एमसीसी लगायत संसद बैठक अघि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्दै आएका छन्। उता विपक्षी एमाले भने संसद्मा टेबुल भएपछि मात्र एमसीसीबारे धारणा बनाउने पक्षमा देखिएको छ।
पाँच दलीय उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौतामा सहमति जुटाउन दलहरुबीच सहमतिको प्रयास जारी रहेको बताउँछन्।
एमाले सचिव पद्मा अर्यालले एमसीसी संसद्मा दर्ता हुनेनहुने यकिन नभएको बताउँछिन्। उनी भन्छिन्, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो संसदमा दर्ता हुन्छ कि हुँदैन यकिन छैन। त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ। जतिबेला त्यहाँ दर्ता दर्ता हुन्छ, त्यो बेला एमालेले आफ्नो पोजिसन क्लियर गर्नेछ।’
पाँच दलीय उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौतामा सहमति जुटाउन दलहरुबीच सहमतिको प्रयास जारी रहेको बताउँछन्। उनी भन्छन्, ‘यसबारे अहिले केही भएको छैन। सहमतिको प्रयास जारी छ।’