काठमाडौं- सहसचिव रामेश्वर दंगाल विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदबहादुर सिंहको नाम सिफारिस गरेको थियो।
दंगाल र निरौला यस अघि पनि सचिव बढुवाका लागि सिफारिस भएका थिए। सिंह पहिलोपटक सचिवका लागि सिफारिसमा परेका थिए।
बढुवा हुनुअघिसम्म दंगाल अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको रुपमा कार्यरत थिए।