शनिबार, वैशाख २२, २०८१

कांग्रेसका दुई अलमल : एउटा निवारण हुँदा अर्को पेचिलो बन्दै

संस्थापन समूह स्थानीय तहको निर्वाचन असोजसम्म धकेल्ने गठबन्धनको प्रयत्नमा समावेश थियो। तर, डा. शेखर कोइराला समूह यसको विरोधमा थियो।
 |  आइतबार, माघ १६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, माघ १६, २०७८

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसमा पछिल्लो केही सातायता दुई अलमल देखिँदै आएका थिए। स्थानीय तहको निर्वाचनको मिति र सत्ता गठबन्धनको निरन्तरताका सन्दर्भमा कांग्रेस दुई ध्रुवमा विभाजित थियो। 

triton college

संस्थापन समूह स्थानीय तहको निर्वाचन असोजसम्म धकेल्ने गठबन्धनको प्रयत्नमा समावेश थियो। तर, डा. शेखर कोइराला समूह यसको विरोधमा थियो। तर, शनिबार दुई पटक बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसको एउटा अलमल निवारण गरिदिएको छ। सत्ता गठबन्धन जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न तयार भएपछि कांग्रेसको एउटा अलमलको च्याप्टर क्लोज भएको छ। यद्यपि कांग्रेसमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा औपचारिक छलफल भने भएन।

शेखर समूहले निर्वाचनका सन्दर्भमा पार्टीभित्र छलफल गर्नुपर्ने माग गरेको थियो। सरकार सञ्चालनमा सहयोग गर्न भन्दै बनाइएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा भएका छलफल मान्य नहुने तर्क शेखर समूहको थियो। स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने प्रयासमा कांग्रेस लाग्न नहुने मत शेखर समूहको थियो। 

शेखर समूहले निर्वाचनका सन्दर्भमा पार्टीमा छलफल गराउन माग गरे पनि देउवाले एजेन्डा प्रवेश नै गराएनन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा यो एजेन्डामा छलफल हुने अपेक्षा राखिएको थियो। तर, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने बाहेकका एजेन्डा बैठकमा प्रवेश गराइएन। ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेर बैठक सकिएको थियो। यद्यपि, बैठककै छेको पारेर केन्द्रीय कार्यालय सानेपामा पुगेका केही पदाधिकारीबीच भने निर्वाचनका सन्दर्भमा छलफल भएको थियो।

संस्थापन समूह स्थानीय तहको निर्वाचन असोजसम्म धकेल्ने गठबन्धनको प्रयत्नमा समावेश थियो। तर, डा. शेखर कोइराला समूह यसको विरोधमा थियो।

खासगरी शेखर समूहका पदाधिकारीहरुले निर्वाचनको मितिका सन्दर्भमा सभापति देउवासँग छलफल गरेका थिए। उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले देउवालाई वैशाखमै स्थानीय निर्वाचन गर्न आग्रह गरेका थिए। देउवाले गठबन्धनमा यस विषयमा कुरा राख्ने जवाफ फर्काएका थिए। शनिबार बिहान र अपरान्ह बसेको गठबन्धनको बैठकले जेठमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।  

corrent noodles
Metro Mart

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेछ। गठबन्धनको यो निर्णयले निर्वाचनको मितिका सन्दर्भमा कांग्रेसभित्र देखिएको मतान्तरको अन्त्य भएको छ।  

‘पार्टीमा छलफल हुनुपर्ने विषय थियो। तर, गठबन्धनले नै जेठभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि यो विषयको च्याप्टर क्लोज भयो,’ शेखर समूहका एक नेता भन्छन्। यद्यपि, गठबन्धनले स्थानीय निर्वाचन ऐन संशोधनका लागि आवश्यक तयारी अघि बढाउन सुझाव दिएको प्रति चाहिँ शेखर समूह सन्तुष्ट छैन। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार गठबन्धनले संविधानसँग बाझिएका स्थानीय तह निर्वाचनसँग सम्बन्धित कानुन संशोधन गर्ने निर्णय गरेको थियो। गठबन्धनको निर्णय अनुसार सरकारले कानुन संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सुझाव समेत बैठकले दिएको छ।  

तर, शेखर कोइरालाले भने ऐन संशोधन आवश्यक नभएको बताएका छन्। आइतबार विराटनगरमा पत्रकारहरुसँग बोल्दै उनले संविधान र ऐनमा भएका प्रावधान निर्वाचनका लागि पर्याप्त रहेको भन्दै ऐन संशोधन आवश्यक नरहेको बताएका छन्।  

गठबन्धनलाई लिएर तिव्र मतभेद  

निर्वाचनको मितिका सम्बन्धमा कांग्रेसमा देखिएको मतभेदको अन्त्य भए पनि सत्तारुढ गठबन्धनको निरन्तरताका विषयमा भने कांग्रेसमा दुईधार कायमै छ। संस्थापन समूह सत्ता गठबन्धनलाई कायमै राखेर तीन तहको निर्वाचनमा जानुपर्ने लचक देखिन्छ। सत्ता गठबन्धनको घटक दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै प्रधानमन्त्री देउवा गठबन्धन कायम राख्न तयार देखिएको अभिव्यक्ति दिएका छन्।

उनका अनुसार शनिबार बिहान भएको गठबन्धनको बैठकमा उपस्थित कांग्रेस नेताहरुले गठबन्धन चुनावसम्म कायम राख्ने सामूहिक प्रतिबद्धता जनाएका थिए। ‘गठबन्धनको बैठकमा कांग्रेसका नेताहरु गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भनेर सामूहिक प्रतिवद्धता जनाउनुभएको छ। स्वयं प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता जनाउनुभएको छ,’ नेपालले भनेका छन्, ‘गठबन्धनले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु भनेर प्रधानमन्त्रीले भनिसकेको हुनाले गठबन्धनको भविष्यका सन्दर्भमा शंका गरिरहनुपर्छ भन्ने छैन।’ 

कांग्रेसको संस्थापन समूहका नेताहरु गठबन्धनको निरन्तरताका सन्दर्भमा पार्टीमा दुईथरी मत रहेको तर अहिलेको सन्दर्भमा गठबन्धनकै आधारमा निर्वाचनमा जाने कुरामा आफू तयार रहेको बताउँछन्। यद्यपि, केन्द्रीय समितिको बैठकमा पर्याप्त छलफल गरेर मात्रै निर्णय लिइने उनीहरुको भनाइ छ। 

निर्वाचनको मितिका सम्बन्धमा कांग्रेसमा देखिएको मतभेदको अन्त्य भए पनि सत्तारुढ गठबन्धनको निरन्तरताका विषयमा भने कांग्रेसमा दुईधार कायमै छ।

‘गठनबन्धनको निरन्तरताका सन्दर्भमा कांग्रेसमा मत¬–अभिमत छ। कांग्रेस एक्लै निर्वाचनमा जनुपर्छ भन्ने मत पनि छ र अहिलेको गठबन्धनलाई साथमा लिएर जानुपर्छ भन्ने मत पनि छ,’ संस्थापन समूहका सक्रिय एक नेता भन्छन्, ‘अहिले कांग्रेस गठबन्धनलाई साथै लिएर जाने मनस्थितिमा छ। तर, केन्द्रीय समितिमा यसबारे छलफल हुन्छ र एकमतले निर्णय गरेर पार्टी अघि बढ्नेछ।’

संस्थापन समूह गठबन्धनको निरन्तरताका सन्दर्भमा लचक देखिए पनि शेखर समूहले भने एक्लै निर्वाचनमा होमिनुपर्ने बताउँदै आएको छ। गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा गठबन्धन गर्न नहुने शेखर समूहको भनाइ छ। ‘अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै हो। निर्वाचनमा दलिय गठबन्धन गर्न हुँदैन,’ कोइरालाले भने। 

शेखर समूहले यसअघि नै कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। समूहको गत सोमबार बसेको बैठकले पनि निर्वाचनमा जाँदा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निष्कर्ष निकालेको थियो। उक्त बैठकले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णय गरेको थियो। ‘तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ। त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ,’ शेखर समूहको भेलाको निष्कर्ष थियो।

प्रकाशित: Jan 30, 2022| 16:30 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...