आइतबार, साउन ३१, २०८३

सरस्वतीको मूर्तिमा सिप खन्याउँदै कुमाल समुदाय

वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ। 'अब दिन कति बाँकी रहे र?,' मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरीको भंगाहा नगरपालिका–५ भुचक्रपुरका सीताराम पण्डित कुमालले भने, 'दुई-चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नु परेको छ।'
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले कुमाल समुदाय सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन्। सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुमाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ। 

वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ। 'अब दिन कति बाँकी रहे र?,' मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरीको भंगाहा नगरपालिका–५ भुचक्रपुरका सीताराम पण्डित कुमालले भने, 'दुई-चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नु परेको छ।'

यसपालि यही माघ २३ गते आइतबार श्रीपञ्चमी परेको छ। माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुमाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन्। अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरेको सीतारामको भनाइ छ। 

मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग उच्च गरेको छ। 'अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडबाड विशेषमा सीमित भएको छ,' उनले भने। 

सरस्वती पूजनोत्सवमा एक महिनापहिले देखि नै कुमालको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यस क्रमका काम हुन्छन्। सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्र पूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टि नगरपालिका–४ पिपराढीका महादेव पण्डितले बताए। 

यसपालि पर्वकै मुखमा कोरोना भाइरस सङ्क्रमणको सन्त्रास बढेको हुँदा सरस्वती पूजनोत्सवका समारोह पनि निकै कम आयोजना हुने देखिन्छ। यसले पर्वकेन्द्रित कमाई घटाउने भए पनि पुख्र्यौली पहिचान थाम्न चाडबाड विशेषका सामग्री बनाउने गरिएको उनको भनाइ छ। 

माग भएका सामान समयमै दिनपर्ने हुँदा अहिले सरस्वतीका मूर्ति तयार गर्न धमाधम परेको कुमाल बताउँछन्। 'पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला (सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा), ढकन, अङ्खरा र छ्याँची (दही जमाउने भाँडा) प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो,' महादेव भने, 'अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लास्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ।'

दुई दशकपहिलेसम्म सधैं माटाका भाँडा बनाउन व्यस्त रहने कुमाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुर्ख्यौली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन्। 

पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लास्टिककै प्रयोग हुन थालेका छन्। माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लास्टिकका भाँडा पर्न थालेका कुमाल स्वयं स्वीकार गर्छन्।

दसैंमा दुर्गाजी, तिहारमा लक्ष्मीजी, श्रीपञ्चमीमा सरस्वतीज,भदौ शुक्ल चौथीमा गणेशजी र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्तिको माग उच्च हुने गरेको छ। यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाको माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरू काममा व्यस्त हुनुपरेको कुमालहरु बताउँछन्। 

आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुख्र्यौली पेसा छाड्दै गएका लोहारपट्टि–४ कै वडासदस्यसमेत रहनुभएका पाका उमेरका कुमाल राजकिशोर पण्डितले बताए। 'हेर्नोस्, हाम्रो बस्तीमा ४० घर जति कुमाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्,' ६० वर्षीय राजकिशोरले भने, 'जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुख्र्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन।'

जिल्लामा अल्पसंख्यक नै देखिने कुमाल जातिका पाका व्यक्ति अब एक-दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन्। एक दशकअघि २०६८ को राष्ट्रिय जनगणनामा एक हजार ३६९ जनसङ्ख्या देखाइएको कुमाल अब पाँच हजारको हाराहारीमा पुगेका तथ्यांक कार्यालय महोत्तरीको अड्कल छ। यकिन संख्या गत बुधबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को जातीय बसोबास तालिकाबाट चाँडै थाहा पाइने कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 29, 2022| 06:00 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।