काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा यो वर्षकै कम कारोबार भएको छ । साताको चौथो दिन बुधबार १७ करोड ५३ लाख ७७ हजार ६८७ रुपैयाँको मात्रै कारोबार भएको छ । १३९ कम्पनीको ४ लाख ७७ हजार ६८७ शेयरको खरिद बिक्रीबाट उक्त रकम बराबरको कारोबार भएको हो । यो चार वर्ष यताकै सबैभन्दा कम कारोबार हो ।
नेपाल स्टक एक्सचेञ्जले एक विज्ञप्ति जारी गर्दै प्राविधिक समस्याका कारणले बुधबार नेप्सेको कारोबार स्थगित भएको जनाएको छ । प्राविधिक समस्या समाधान गरी कारोबार प्रसारणलार्इ सुचारु गरिएको पनि नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
शेयर विश्लेषक धनकुमार राईले बुधबार यो वर्ष २०७५ सालमा अहिलेसम्मको कम शेयर कारोबार भएको बताए । ‘आज नेप्से बजार र क वर्गको सेन्सेटीभ इण्डेक्स दुवै घटेको छ,’ उनले भने ‘यस्तो अवस्था नेप्से बजारमा विरलै देखिन्छ ।’ यो अवस्था चार वर्षमा सबैभन्दा कम रहेको पनि रार्इले बताए ।
बजार घटे पनि शेयार बजार बढ्ने संकेत उनी देख्दछन् । राजनैतिक स्थिरता विभिन्न कम्पनीहरुमा पछिल्लो समय अर्थिक अवस्था समेत सुध्रिदै गएको कारणले आगामी दिनमा बजार बढ्ने उनको तर्क छ।
नेप्से परिसूचक ५.५४ अंकले घटेर १ हजार १९८.७७ विन्दुमा पुगेको छ । ‘क’ बर्ग कम्पनीहरुको सेन्सेटिभ इण्डेक्स पनि १.२४ प्रतिश घटेर २५२.३८ विन्दुमा पुगेको छ ।
नेप्सेमा आएका अधिकांश समूहको परिसूचक रातो भएका छन् । फाइनान्स र होटल समूहको बाहेक सबै समूहको परिसूचक ओरालो लागेको हो। फाइनान्सको परिसूचक ०.७६ अंक बढेको छ होटलको स्थिर छ।
सबैभन्दा बढी लाइफ इन्स्योरेन्सको परिसूचक ६७.६५ अंक घटेर ६ हजार ५७.६९ विन्दुमा पुगेको छ । त्यसपछि नन लाईफ इन्स्योरेन्स समूहमा परिसूचक ६१.६१, माइक्रोफाइनान्सको परिसूचक १५.९२ अंक घटेको छ।
त्यस्तै सबैभन्दा कम अन्य समूहको परिसूचक १.३८ अंक घटेर ७११.४६ विन्दुमा पुगेको छ ।