काठमाडौं-आर्थिक वर्ष ०७४/७५ मा वैदेशिक लगानी प्रतिवद्धता(एफडीआई) ६१ अर्ब आएको छ। वैदेशिक लगानीबाट सञ्चालन हुने तीन सय ९५ उद्योग दर्तामार्फत कुल ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक लागनी प्रतिवद्धता आएको हो। खुद वैदेशिक लगानी प्रतिवद्धता भने ५५ अर्ब ६४ करोड रुपैयाँ आएको हो।
अघिल्लोभन्दा गएको आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिवद्धता दुई सय ५७ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा चार सय उद्योग सञ्चालनको लागि कुल १७ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता(एफडीआई) आएको थियो।
सबैभन्दा बढी उर्जामा लगानी
सबैभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता उर्जा क्षेत्रमा आएको छ । उर्जा क्षेत्रमा ३७ अर्ब ९१ करोड रुपैयाँ प्रतिवद्धता आएको हो । ६ परियोजनामार्फत आएको उक्त प्रतिवद्धतामार्फत ६ सय ७४ जनालाई रोजगारी मिल्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको तथ्याङकमा उल्लेख छ । अघिल्लो अर्थिक वर्ष उर्जा क्षेत्रको लागि कुनै पनि प्रतिवद्धता आउन सकेको थिएन ।
त्यस्तै उत्पादनमुलक क्षेत्रमा आठ अर्ब ८७ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । त्यसमार्फत ६६ उद्योग दर्ता भएका छन् । ती उद्योगहरुले तीन हजार चार सय ८३ जनालाई रोजगार प्रदान गर्ने भएको छ ।
उत्पादनमुलक क्षेत्रमा अघिल्लोको तुलनामा गएको आर्थिक वर्षमा एक सय १४ प्रतिशत लगानी प्रतिवद्धता बढेको हो ।
खनिज क्षेत्रमा तीन उद्योगमार्फत तीन अर्ब ८० करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । जसबाट पाँच सय १० जनालाई रोजगार मिल्ने विभागको तथ्याङ्कमा देख्न सकिन्छ । उक्त प्रतिवद्धता आघिल्लो ०७३/७४ कोभन्दा नौ हजार चार सय प्रतिशत बढी हो । सो आर्थिक वर्षमा चार करोड रुपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो ।
त्यस्तै गएको आर्थिक वर्षमा पर्यटन क्षेत्रमा चार अर्ब ७६ करोड, सेवा क्षेत्रमा दुई अर्ब ९६ करोड, कृषि तथा वन पैदावार क्षेत्रमा दुई अर्ब १६ करोड र संञ्चार तथा प्रविधि क्षेत्रमा ५८ करोड रुपैयाँ विभिन्न परियोजना सञ्चालनका लागि कुल लागनी प्रतिवद्धता आएको छ ।
यद्यपि पर्यटन क्षेत्रमा भने अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले लगानी प्रतिवद्ध घटेको छ । अघिल्लो आवमा ६ अर्ब ५८ करोड रुपैयाँ प्रतिवद्धता आएको थियो ।
विभागका प्रवक्ता दुर्गा भुसालले पछिल्लो समय मुलुकमा ह्वात्तै लगानी प्रतिबद्धता बढेको बताए । उनकाअनुसार मुलुकमा स्थिर सरकार बनेको, लोडसेडिङ हटेको र गएका वर्षहरुमा भएका विभिन्न लगानी सम्मेलन लगायतको कारणले लगानी बढेको हो । ‘अझै नेपालमा विभिन्न मुलुकहरुबाट लगानी विभिन्न क्षेत्रमा लगानी गर्न चासो दिइरहेकाछन्,’ उनले भने ।
१४ हजार नयाँ रोजगार सृजना
०७४/७५ मा आएको ६१ अर्ब सात करोड लगानी प्रतिवद्धतामार्फत संञ्चालन हुने तीन सय ९५ परियोजनाबाट १३ हजार आठ सय २८ जनाले रोजगार पाउने भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आव ०७३/७४ मा १७ अर्ब १२ करोड लगानी प्रतिवद्धतामार्फत चार सय उद्योग विभागका सञ्चालनको लागि विभागमा दर्ता भएका थिए । ती उद्योगहरुमार्फत ११ हजार आठ सय ४२ जनालाई रोजगार मिल्ने भनिएको थियो । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा दर्ता भएका विभिन्न परियोजनामार्फत १७ प्रतिशत बढी रोजगार सृजन हुने भएको छ ।
जसमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा तीन हजार नौ सय ५२ रोजगार सृजना हुने भएको छ भने सबैभन्दा कम खनिज क्षेत्रमा पाँच सय १० जानाले नयाँ रोजगार पाउने विभागको तथ्याङकमा देख्न सकिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४