काठमाडौं- सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को बजेटसँगै दैनिक उपभोग्य सामग्री, सवारी साधन, सेवालगायतमा मूल्य आकासिएको छ ।
आगामी आव ०७५/७६ १ साउनदेखि भएसँगै टेलिकमको सेवा शुल्क र इन्टरनेटको मूल्य बढेकोे छ । अक्सिजन ग्यासलगायतको पनि मूल्य बढेको छ ।
दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सरकारी स्वामित्वको टेलिकम र निजी क्षेत्रको एनसेललगायत विभिन्न इन्टरनेट प्रदायक कम्पनीहरूले १ साउनदेखि लागू हुने गरी सेवा शुल्कमा मूल्य समायोजन गरेका छन् । सरकारले बजेटमार्फत् टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट १३ र थप इन्टरनेट शुल्क १३ प्रतिशत थपेसँगै यो अवस्था आएको हो ।
दैनिक उपभोग्य सामग्री, अटोमोबाइल क्षेत्र, मदिरा तथा सुर्तीजन्य पदार्थलगायतमा बजेटलगत्तै मूल्य बढेको थियो ।
आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक भएयता दैनिक उपभोग्य सामग्रीको बजार मूल्य २० प्रतिशतले बढिसकेको छ ।
बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा बिक्री वितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर एक सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले १ साउनदेखि लागू हुनेगरी साविकको दुई सय रुपैयाँमा पाइने अक्सिजन सिलिन्डरको मूल्य बढाएर चार सय ५० रुपैयाँ बनाएका हुन् ।
नेपाल अक्सिजन ग्यास उत्पादक संघले नै देशभरका कम्पनी र डिलरलाई पत्र लेखी नयाँ मूल्यअनुसार बिक्रीवितरण गर्न निर्देशन दिएको छ । १ साउनदेखि अनिवार्य रूपमा लागू हुनेगरी सानो सिलिन्डरको दुई सय २५ र ठूलो सिलिन्डर चार सय ५० रूपैयाँ मूल्य निर्धारण गरिएको संघले जनाएको छ ।
बजेट सार्वजनिक भएयता अहिलेसम्ममा दैनिक उपभोग्य सामग्रीको मूल्य २० प्रतिशत बढिसकेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । मूल्य बढ्ने क्रम नरोकिएको उनको भनाइ छ । उनका अनुसार दैनिक उपभोग्य सामग्री चामल, तेल, दाल, गेडागुडीलगायतमा मूल्य बढेको हो ।
‘सरकारले करको दायरा बढाउनुको सट्टा करको दर बढाएको छ,’ महर्जनले भने, ‘यसबाट सीधै उपभोक्ताको ढाड सेकिएको छ ।’ अहिलेसम्म इँटाभट्टा, क्रसरलगायत उद्योगलाई करको दायरामा ल्याउन नसकेको महर्जनले बताए । त्यसको साटो उल्टो दैनिक उपभोग्य सामग्री तथा इन्टरनेटलगायत अत्यावश्यक सामग्री तथा सेवाको मूल्य बढाउन सरकारले प्रत्यक्ष सहयोग पुर्याएको उनको भनाइ छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजेटअघिको तुलनामा साउन लागेसँगै तरकारीमा प्रतिकिलो दुई सय २२ प्रतिशतसम्म बढेको छ । १० जेठमा प्रतिकिलो १८ रुपैयाँ रहेको हरियो फर्सीको थोक मूल्य १ साउनमा ५८ रुपैयाँ पुगेको छ ।
यस्तै, हरियो धनियाँ दुई सय पाँच, भेडे खुर्सानी एक सय ५८, गाँजर एक सय एक प्रतिशतले मूल्य बढेको छ । दर्जनभन्दा बढी तरकारीको भाउ ५० प्रतिशतभन्दा बढी पुगेको छ ।
बजेटको प्रभावस्वरूप अटोमोबाइल क्षेत्रको मूल्य पनि बजेट सार्वजनिक भएसँगै बढिसकेको छ । मोटरसाइकलमा पाँच लाखदेखि कार, जिपलगायत चारपांग्रे सवारी साधनमा ३० लाख रुपैयाँसम्म भाउ बढेको छ ।
तरकारीमा प्रतिकिलो दुई सय २२ प्रतिशतसम्म र अक्सिजन ग्यासको प्रतिसिलिन्डर एक सय २५ प्रतिशत मूल्यवृद्धि ।
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष शम्भु दाहालका अनुसार एक सय ५० देखि दुई सय सीसीसम्मका मोटरसाइकल खरिदमा २० हजार रुपैयाँ बढेको छ । दुई सय ५० भन्दा बढी सीसीका मोटरसाइकलमा एकदेखि पाँच लाख रुपैयाँसम्म मूल्य बढेको उनले जानकारी दिए ।
अटोमोबाइल व्यवसायीहरूका अनुसार चारपांग्रे सवारी साधनमा ३० लाख रुपैयाँसम्म बढेको छ । सरकारले बजेटमार्फत् एक सय ५० सीसीभन्दा बढीका मोटरसाइकल र एक हजार सीसीभन्दा बढीको चारपांग्रे सवारी साधनमा अन्तःशुल्क बढाएको छ ।
बजारमा मदिरा तथा सुर्तीजन्य पदार्थमा त्यसरी नै मूल्य बढेको छ । बजेट आएसँगै मदिरा तथा सुर्तीजन्य उत्पादनहरूमा मूल्य बढेको मदिरा तथा सुर्ती उत्पादक संघका अध्यक्ष रवि केसीले बताए । उनका अनुसार बजेटमार्फत् मदिराजन्य पदार्थमा २० देखि एक सय ३६ प्रतिशतसम्म अन्तःशुल्क बढेको छ ।
सोहीअनुसार मूल्यवृद्धि भएको केसीको भनाइ छ । उनका अनुसार बजेटअघि प्रतिक्वार्टर ५०/६० रुपैयाँ पर्ने सस्तो रक्सीको मूल्य बढेर एक सय २० देखि एक सय ३० रुपैयाँसम्म पुगेको छ । त्यसको आधारमा अहिले मदिराजन्य पदार्थमा एक सय १७ प्रतिशतसम्म मूल्य बढेको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४