काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी (एप) 'खल्ती' पाँचौँ वर्षमा प्रवेश गरेको छ। सन् २०१७ मा स्थापना भएको खल्तीले छोटो समयमा उल्लेखनीय प्रगति गरेको बताएको छ।
कम्पनीका सह-संस्थापक अमित अग्रवालले ४ जनाबाट काम सुरु गरेपनि अहिले कम्पनीमा १३० भन्दा बढी कर्मचारी आवद्ध छन्। सहरदेखि गाउँका लाखौं सेवाग्राहीसम्म खल्ती पुगिसकेको छ।
खल्ती एपको प्रयोग गरी मोबाइलबाटै टपअप, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद र होटल रुम बुकिङ गर्न सकिन्छ। यीलगायत विभिन्न सेवाहरूसमेत रहेको खल्तीले थप सेवा विस्तार गर्ने क्रममा रहेको बताएको छ।
एक बेला नेपालमा स्प्यारो एसएमएस लोकप्रिय थियो। विभिन्न इभेन्टका लागि म्यासेज पठाउनेदेखि विद्यालय तह र विश्वविद्यालयका परीक्षाको नजितासमेत स्प्यारो एसएमएसबाट हेर्न सकिने व्यवस्था थियो।
स्प्यारो एसएमएसबाट कमाएको सम्पत्ति पनि खल्तीमा लगाएर अग्रवाललगायतले खल्ती सुरु गरेका थिए। ‘स्प्यारोबाट जति कमाएका थियौं, त्यो सबै खल्तीमा लगानी गरेका हौं,’ उनले भने, 'त्यसबेला १० वर्षसम्म कमाएको पैसा खल्तीमा लगानी गर्नु कम चुनौतीपूर्ण थिएन। तर अहिले प्राप्त गरेको सफलताले पछुतो लाग्न दिएको छैन।'
कम्पनीका चारै जना संस्थापक राजधानीबाहिरबाट आएका युवा थिए। मनिष मोदी, ध्रुव अधिकारी र अरविन्द साह पुल्चोक क्याम्पसका सहपाठी हुन्। खल्तीलाई अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित गराउने कम्पनीको योजना छ। यद्यपि सुरूमा नेपालमै ‘एक घर एक खाता’को मूल नारालाई मूर्त रुप दिन कम्पनी लागिपरेको अमित बताउँछन्।
‘हामीले चाँडै नै हाम्रो प्रणाली र एपीआईमा क्रेडिट र डेबिट कार्ड भुक्तानीको सेवा ल्याउने लक्ष्य राखेका छौं, ’ मनिष भन्छन्। डिजिटल भुक्तानी बजारमा खल्तीको १५ प्रतिशत हिस्सा रहेको कम्पनीको भनाइ छ।
हालै खल्तीमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक जोडिएको छ। कोभिड महामारीका कारण डिजिटल भुक्तानी सेवालाई प्रोत्साहन पुगेको र यसको फाइदा खल्तीले पनि लिन सक्यो। पछिल्लो एक वर्ष खल्तीमा पाँच लाख नयाँ प्रयोगकर्ता थपिए।
आगामी दिनमा ठूला कम्पनीहरू पनि डिजिटल भुक्तानी बजारमा प्रवेश गर्ने भएकाले प्रतिस्पर्धा बढ्ने चुनौती सामना गर्नुपर्ने छ। वर्ल्डलिंको साझेदारीले खल्तीलाई आड प्रदान गरेको छ।