काठमाडौं– साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ।
मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ।
बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे भएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा २ प्रतिशत भन्दा कमले गिरावट आएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि बुधबार विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। यता सिइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको सेयर मूल्य बढेको छ। तर पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स, मानुषि लघुवित्त, समृद्धि फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि घटेको छ।
आज कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।