सोमबार, माघ ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • दृष्टिविहीन वेटरले खानेकुरा सर्भ गर्ने अँध्यारो रेष्टुराँको उज्यालो कथा

Siddartha premir insuranceSiddartha premir insurance

दृष्टिविहीन वेटरले खानेकुरा सर्भ गर्ने अँध्यारो रेष्टुराँको उज्यालो कथा

ललितपुरको कुपन्डोलमा खुलेको ‘डाइनिङ इन द डार्क रुम’ रेष्टुराँमा मधुरो उज्यालो होइन, पूरै अन्धकारमा खानुपर्ने हुन्छ। बाहिरबाट हेर्दा रेष्टुराँ झिलिमिली देखिन्छ, तर कोठाहरु अँध्यारा।
 |  बिहीबार, माघ १३, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, माघ १३, २०७८

ntc landingntc landing

काठमाडौं– राति खाना खाँदै गर्दा बत्ती गएर अँध्यारो भयो भने तपाईं के गर्नुहुन्छ? पक्कै पनि खान रोकेर बत्तीको जोहो गर्नतिर लाग्नुहुन्छ र उज्यालो बनाएर मात्र खान थाल्नुहुन्छ। अँध्यारोमा खानु हुँदैन भन्ने नेपाली समाजको मान्यता पनि छ। बूढापाका भन्छन्– अँध्यारोमा त भूतले खान्छ।

himalayan bank box

यो त भयो घरको कुरा। होटल–रेष्टुराँमा पनि तपाईं–हामीलाई उज्यालो र फराकिलो ठाउँ मन पर्छ। अँध्यारो रेष्टुराँ रोजाइमा पर्दैन होला, बरु मधुरो उज्यालोमा क्यान्डिल लाइट डिनरचाहिँ धेरैले गर्नुभएको होला। अब भने अँध्यारोमा छामछाम–छुमछुम गर्दै खाने रेष्टुराँ खुलेको छ राजधानीमा। ललितपुरको कुपन्डोलमा खुलेको ‘डाइनिङ इन द डार्क रुम’ रेष्टुराँमा मधुरो उज्यालो होइन, पूरै अन्धकारमा खानुपर्ने हुन्छ। बाहिरबाट हेर्दा रेष्टुराँ झिलिमिली देखिन्छ, तर कोठाहरु अँध्यारा।

सोची–सम्झी नै रेष्टुराँको वातावरण यस्तो बनाइएको हो। सञ्चालकका अनुसार तपाईंले अर्डर गर्नुभएको खानेकुरा अँध्यारो कोठामा रहेको टेबलमा आइपुग्नेछ। कोठामा पस्नुपूर्व तपाईंलाई त्यहाँको वातावरणको बारेमा जानकारी गराइनेछ। मोबाइल, घडी वा अन्य प्रकाश दिने सामग्री भित्र लैजान निषेध गरिएको छ।

चाखलाग्दो कुराचाहिँ के छ भने तपाईं दृष्टिविहीन वेटरको काँधमा हात राखेर कोठाभित्र जानुहुनेछ र उनले नै तपाईंले अर्डर गरेको खानेकुरा टेबुलमा ल्याइदिनेछन्। 

अँध्यारोमा खानका लागि रेष्टुराँले मेनुको प्याकेज नै ल्याएको छ, जसमा सुप, सलाद, मेन कोर्स र डेजर्ट समावेश हुन्छ। मेन कोर्समा तीन वटा आइटम राखिएको छ– रेड, ब्लु र ग्रिन अर्थात् भेज, चिकेन र फिस आइटम। अँध्यारो कोठामा दृष्टिविहीन वेटरहरूले पाहुनालाई यी थरिथरिका भोजनको स्वाद चखाउने छन्। अर्थात् आफ्नोजस्तै संसारको अनुभूत गराउने प्रयास गर्नेछन्।  

दृष्टिविहीन व्यक्तिहरुले कसरी आफ्नो दैनिकी चलाउँछन्, उनीहरुको संसार कस्तो हुन्छ, कसरी खानाको स्वाद लिन्छन् भन्ने कुराको प्रत्यक्ष रुपमा अनुभूत गराउने उद्देश्यले यस्तो रेष्टुराँ खोलिएको प्रबन्धक सुरेश महर्जनले बताए। ‘रेष्टुरेन्ट व्यवसायमा केही छुट्टै अभ्यास गर्न सकियोस् भनेर यस्तो रेष्टुरेन्ट खोलेको हुँ। कोभिड संक्रमणका कारण धेरैको रोजगारी गुम्यो। त्यसमा पनि दृष्टिविहीनको अवस्था त झन् नाजुक भयो। त्यसपछि उनीहरुका लागि केही गर्न सकिन्छ कि भनेर यस्तो रेष्टुराँ खोलेको हुँ,’ महर्जनले भने।

चुनौतीपूर्ण छ भन्ने जान्दाजान्दै पनि आफूले जोखिम मोलेको उनले सुनाए। थोरै संख्यामा भए पनि दृष्टिविहीनलाई रोजगारी दिन रेष्टुराँ खोलेको उनले बताए। महर्जनलाई आफ्नो कामले आत्मसन्तुष्टि त दिएको छ नै, दृष्टिविहीनको संसार चिहाउने पनि अवसर दिएको छ। 

यस्तो प्रकृतिको रेष्टुराँ नेपालमा पहिलो भएको र विश्वभर २२ वटा देशमा मात्रै यस किसिमको रेष्टुराँ सञ्चालनमा रहेको सञ्चालकहरुको दाबी छ। सन् १९९७ मा फ्रान्सको पेरिसबाट सुरु भएको ‘डार्क डाइनिङ’को अवधारणाले सन् १९९९ मा जर्मनीबाट मूर्त रुप पाएको थियो। दृष्टिविहीन जर्ज स्पाइलम्यानले आम मानिसलाई दृष्टिविहीन हुनुको अनुभूति गराउन यस्तो रेष्टुराँ खोलेका थिए। 

चाखलाग्दो कुराचाहिँ के छ भने तपाईं दृष्टिविहीन वेटरको काँधमा हात राखेर कोठाभित्र जानुहुनेछ र उनले नै तपाईंले अर्डर गरेको खानेकुरा टेबुलमा ल्याइदिनेछन्। 

युवा उद्यमीहरू सुरेश महर्जन, समिर महर्जन, अरिन भण्डारी र रतिश बस्न्यातले कुपन्डोलमा ‘डाइनिङ इन द डार्क रुम’ खोलेका हुन्। कोरोनाको दोस्रो लहरपछिको अवस्था सामान्य बन्दै गएपछि उनीहरुले उद्यमशिलताको नयाँ प्रयोग गरेका हुन्। विदेशमा रहेका एकजना साथीले यस्तो पनि रेष्टुराँ हुने रहेछ है भनेर सुझाएपछि आफूहितको टिमले यसलाई नेपालमा मूर्त रुप दिएको सुरेशले सुनाए। हाल रेष्टुराँमा ५ जना दृष्टिविहीनले काम पाएका छन् वेटरको रुपमा। दृष्टिविहीनले पनि होटल–रेष्टुराँ क्षेत्रमा सेवा गर्न सक्छन् भन्ने सन्देश दिन आफूहरु लागिपरेको सुरेशले दोहोर्याए।

‘डाइनिङ इन द डार्क रुम’ रेष्टुराँले दृष्टिविहीन व्यक्तिले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभई जिब्रोले कसरी लिन्छन् भन्ने कुराको अनुभूति अरुलाई पनि गराउने रेष्टुराँकी सुपरभाइजर एरिका बुढाथोकीले बताइन्। भन्छिन्, ‘रेष्टुराँ व्यवसायमा केही पृथक अभ्यास गरौं भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका हौं।’ उनका अनुसार सुरुवाती समयमा दृष्टिविहीनहरूलाई वेटरको तालिम दिन निकै कठिन भएको थियो। ‘प्लेटिङको कुरा, स्वागतसत्कार र सेवा प्रवाह गर्ने कुरासँगै अँध्यारो कोठामा पाहुना व्यवस्थापनको कुरा अलि जटिल थियो। त्यो चरण पार गरेर आइसकेपछि भने सजिलो भएको छ।

उच्च सिकाइ क्षमता र सिकेको कुरा सहजै व्यवहारमा उतार्न सक्ने दृष्टिविहीनको क्षमताका कारण पनि कठिन विषय सहज बनेको अनुभव उनले सुनाईन्। ‘हामीले चार पुरुष र एक महिला दृष्टिविहीनलाई तीन महिना तालिम दिएका थियौं। उहाँहरुबाट अहिले सहज र राम्रो सर्भिस भइरहेको छ,’ बुढाथोकीले भनिन्। त्यसो त रेष्टुराँमा बार, क्याफे, लाइभ म्युजिकजस्ता थुप्रै सेवा पनि उपलब्ध छन्। यहाँ एकै पटकमा ४० जना पाहुनाले डार्क डाइनिङको सेवा लिन सक्छन्। 

काभ्रे पाँचखालका दुर्गा खड्का आफूजस्ता दृष्टिविहीनलाई लक्षित गरेर रेष्टुराँ खुलेकोमा खुुसी छन्। दृष्टिविहीन भएकै कारण धेरै ठाउँमा रोजगारीबाट वञ्चित हुनुपरेको नमिठो अनुभूति उनीसँग छ। ‘दृष्टिविहीनलाई रोजगारी दिने यस्तै ठाउँहरु हुने हो भने समानता हुने थियो होला,’ दुर्गाले भने। यसअघि उनी चाबहिलको एउटा दोहोरी साँझमा काम गर्थे, दिनभरी फुर्सद हुन्थ्यो। उनी कामको खोजीमा भौंतारिए पनि। दृष्टिविहीन भएकै कारण अनेक झमेला झेलेका उनी साथीमार्फत डाइनिङ इन द डार्क रुम रेष्टुराँमा ठोक्किन आइपुगेका रहेछन्। ‘सुरुमा काम अनौठो लाग्थ्यो। फेरि मनमा त्यहाँ काम गरेर देखाउन सके अरुले आफूलाई हेर्ने सोच बदलिन्छ भन्ने लाग्यो। अहिले त आनन्द लागेको छ। हाम्रो सेवाबाट पाहुना पनि खुसी हुनुहुन्छ,’ उनले सुनाए।

प्रकाशित: Jan 27, 2022| 06:35 बिहीबार, माघ १३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्