काठमाडौं-सरकारले टेलिकममा दुई र इन्टरनेटमा १३ प्रतिशत सेवाशुल्क थपेपछि निजी क्षेत्रको सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकका लागि राहत प्याकेज घोषणा गरेको छ ।
एनसेलले १ साउनदेखि नै लागू हुने गरी ९० दिनका लागि दैनिक, तीन दिने, साप्ताहिक र मासिक डाटा प्याकेज ल्याएको हो । यस्तै, भ्वाइस सेवामा थप टक टाइम पनि प्रदान गरेको छ ।
नयाँ डाटा योजनाअन्तर्गत् एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मूल्य प्रदान गर्ने गरी आकर्षक प्याकेज ल्याएको छ । दैनिक प्याकमा ग्राहकले मात्र नौ रुपैयाँमा ३५ एमबी डाटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबीको फोरजी डाटा भोल्युम बोनसस्वरूप निःशुल्क प्राप्त गर्नेछन् ।
एनसेलका अनुसार ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डाटा प्याकमध्ये कुनै विकल्प रोजेर सहजै आफनो आवश्यकताअनुसार राहत प्याकेज प्रयोग गर्न सक्नेछन् । साथै, भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास वा १७११८ मा डायल गरी निर्देशनअनुसार प्याकेज लिन सकिनेछ ।
नयाँ दूरसञ्चार सेवाशुल्क लागू हुँदा मूल्यमा पर्ने असरलाई केही कम गर्न एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ र रोमिङ प्याकलगायत कर अगाडिको शुल्क घटाएको कम्पनीको भनाइ छ ।
लोकल कलमा लाग्दै आएको करबाहेकको दर एक रुपैयाँ ९९ प्रतिमिनटमा कुनै परिवर्तन गरिएको छैन । यस्तै, एसएमएस, डाटा सेवाअन्तर्गत्को पे एज यु गो, सापटी र पोस्टपेड सेवाका प्याकहरूको करअघिको शुल्कमा पनि कुनै परिवर्तन नगरिएको कम्पनीको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४