काठमाडाैं- नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धि कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ। युनिसेफले जारी गरेको ुमातृ तथा बाल पोषण जर्नलु को प्रकाशित सूचकअनुसार कोभिड(१९ महामारीले गर्दा यो अवस्था अझै बिग्रने सम्भावनासमेत छ।
सन् १९९६ र २०१६ को अन्तरालमा नेपालको प्रारम्भिक स्तनपानको दर १८ प्रतिशतबाट ५६ प्रतिशत पुगेको थियो। शिशुलाई पूरक खाना खुवाउने दर ५४ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो।
यस्तै महिलाले गर्भावस्थामा पर्याप्त मात्रामा आइरन र फोलिक एसिड चक्कीको सेवन गर्ने दर सन् २००१ मा ६ प्रतिशतबाट सन् २०१६ मा ७१ प्रतिशत पुगेको थियो।
विशेषांकअनुसार नेपालमा सरकारको प्रगतिशील क्रियाकलापले गर्दा नै पोषणको क्षेत्रमा यस्ता महत्त्वपूर्ण सफलता प्राप्त भएका हुन्। तर अहिले कोभिड महामारीले गर्दा महिला र बालबालिकाको पोषण वृत्तिविकास प्रभावित बनेको छ। विगत तीन दशकमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर युनिसेफले 'मातृ तथा बाल पोषण' को विशेषांक सार्वजनिक गरेको हो।