धनगढी- कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालले मोबाइल चोरी गरेका हुन्।
लागूऔषधको कारोबार भैरहरेको सूचनाको आधारमा ग्यालरी पुगेको प्रहरीको टोली मध्येका प्रहरी हवल्दार माल र जवान बडुवालले मोबाइल चोर्दै गरेको भिडियो पसलको सिसिटिभीमा कैद भएको थियो।
धनगढीको ट्राफिक चौराहामा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए। मोबाइलको खाली डब्बा देखेपछि सिसी टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको उनले बताए। उनले पसलबाट पोको एम थ्री प्रो २८ हजार पर्ने र एमआई नाइन ए १३ हजार पर्ने मोबाइल चोरी गरेको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित निवेदन आएपछि छानबिन भइरहेको बताए। उनले घटनामा संलग्न प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भइरहेको बताए । उनले निजहरूबाट मोबाइल समेत बरामद गरिएको बताए। बिहीबार प्रहरीले ग्यालरीबाट लागूऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको थियो।
प्रहरीले १.५५० मिलिग्राम खैरो हेरोइनसहित दोर्णबहादुर रावल, टेक विष्ट र मनिष भण्डारीलाई पक्राउ गरेको जनाएको छ।