शुक्रबार, असोज १६, २०८३

सम्भव छ आन्तरिक उडानमा यात्रुको एन्टिजेन परीक्षण?

सरकारले आन्तरिक हवाई उडानमा हरेक यात्रुको एन्टिजेन परीक्षण अनिवार्य गर्ने आदेश जारी गरेपछि वायुसेवा कम्पनीहरु बिलखबन्दमा परेका छन्।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं- सरकारले आन्तरिक हवाई उडानमा हरेक यात्रुको एन्टिजेन परीक्षण अनिवार्य गर्ने आदेश जारी गरेपछि वायुसेवा कम्पनीहरु बिलखबन्दमा परेका छन्।

कोरोनाको पहिलो र दोस्रो लहरबाट नराम्रोसँग थलिएर भर्खरै बौरिन खोजेको उड्डयन उद्योगलाई सरकारको पछिल्लो आदेशले फेरि थला पार्ने चिन्ता सम्बद्ध व्यवसायीले व्यक्त गरेका छन्।

हवाई सेवा सञ्चालकहरुले सरकारले जारी गरेको उक्त आदेश व्यवहारिक नभएकाले कार्यान्वयन गर्न नसकिने बताएका छन्। सरकारको यस्तो निर्णयका कारण उडान तालिका प्रभावित हुने र यात्रुको भाडासमेत बढाउनुपर्ने भएकाले अव्यवहारिक भएको संघका प्रवक्ता योगराज कँडेलले बताए।

'एक जना यात्रुलाई एन्टिजेन परीक्षण गर्न करिब १२ मिनेट लाग्छ। जनस्वास्थ्यका अरु मापदण्ड पालना गर्दा अझ धेरै समय लाग्छ। यसले गर्दा हवाई यात्रा झन् झन्झटिलो हुन्छ,' कँडेलले भने,  जनस्वास्थ्यका मादण्ड पालना गर्न कुनै समस्या छैन, गर्नुपर्छ,। तर एन्टिजेन परीक्षणको हकमा जुन आदेश जारी भएको छ, त्यो व्यवहारिक छैन। सरकारकै खर्चमा परीक्षण गर्ने भए ठिक छ, नभए हामीले यात्रुको भाडामा थप अतिरिक्त शुल्क थप गरेर वृद्धि गर्नुपर्छ, जुन सम्भव छैन।'

सरकारले भनेका अरु मापदण्ड पालना गर्न भने कुनै समस्या नरहेको र यसअघि पनि पालना भइरहेको प्रवक्ता कँडेलले बताए। एन्टिजेन परीक्षणबारेको निर्णय फिर्ता लिन सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले वायुसेवा कम्पनीले नै यात्रुको एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्रै उडान गराउन पाउने निर्णय गरेको छ। चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेस सिल्ड अनिवार्य गर्ने, हवाईजहाजभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र ब्यागेज निःसंक्रमित गर्नुपर्ने, चेकइन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय पनि सरकारले गरेको छ।

सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य

सरकारले सार्वजनिक यातायातमा पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारीसाधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदि व्यवस्था गरिएको छ ।

चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रूपमा निःसंक्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने सरकारले जारी गरेको मपदण्डमा उल्लेख छ ।

मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

प्रकाशित: Jan 18, 2022| 07:40 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्