काठमाडौं– नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ। विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ। यो प्रिमियम वर्गको मदिरामा पर्छ।
रमका पारखीहरुले ‘खुकुरी रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन्। ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट सम्मीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो।
यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो। त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो। विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको थियो।
प्रिमियम ‘खुकुरी रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए।