सोमबार, वैशाख २४, २०८१

फिल्म समीक्षा : प्रहरी अनुसन्धानलाई गिज्याउँदैछ 'चपली हाइट ३'

निर्मला पन्तको हतियारा उम्किँदै जाँदा ‘चपली हाइट–३’ जसरी पर्दामा आएको छ, त्यसले पक्कै कहीँ न कहीँ प्रहरीको अनुसन्धान प्रणालीलाई पनि गिज्याउँछ। सिनेमाले प्रश्न छाडेको छ– ‘कहिलेसम्म अपराधीहरु यसरी प्रहरीको चंगुलबाट उम्किरहनेछन्?’
 |  शुक्रबार, पुस ३०, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, पुस ३०, २०७८

सिनेमाका लागि यौन गज्जब विषय मानिन्छ। हुन त यसलाई ‘पोर्न’ का रुपमा देखाउने पनि छन् तर यसमाथि रोमाञ्चक र सन्तुलित तरिकाले फिल्म बनाउनेको पनि कमी छैन। हाम्रो समाजमा हुने गरेका आपराधिक घटनाका ग्राफलाई केलाउने हो भने ती अधिकांश घटना यौनकै पृष्ठभूमिबाट भइरहेका देखिन्छन्। अथवा ती घटनाको केन्द्रमा कहीँ न कहीँ महिला जोडिएकै छन्। अभाव यत्ति हो, हामीकहाँ यिनै विषय सिनेमामा सिर्जनात्मक हिसाबले आउन सकेका छैनन्।

triton college

यौन मनोविज्ञानलाई केन्द्रमा राखेर बनाइएका संसारभरका क्राइम थ्रिलर फिल्महरुको सुन्दर विशेषता के हो भने यसमा काम गर्ने कलाकारले आफूले निर्वाह गरेको पात्रलाई ‘मल्टिलेयर’मा देखाउन पाएको हुन्छ। फिल्मको सुरुमा हेर्दा ऊ जस्तो देखिन्छ, पछि त्यस्तै नरहन सक्छ। सुरुमा सरल देखिने त्यही पात्र दर्शकलाई पछि क्रूर लागिदिन सक्छ। 

विडम्बना! हामीकहाँ यस्तै विशेषता बोकेर कमै विधागत सिनेमा बनेका छन् तर करिब १० वर्षअघि रिलिज भएको ‘चपली हाइट’ यस्तै एउटा फरक आइडियामा बनेको सिनेमा थियो। यसको कथावाचनमा केही समस्या नभएको होइन तर यसले समाजमा कुण्ठित भएर बसिरहेको यौनलाई जसरी सिनेमामा देखाउने साहस गर्‍यो, त्यो नेपाली समाजमै राम्रै बहसको विषय बन्यो। नेपाली सिनेमामा संकट आइपरेको त्यो समयमा निर्देशक दीपेन्द्र के खनाल र निर्माता अर्जुन कुमारले यौनलाई केन्द्रमा राखेर जस्तो थ्रिलर सिनेमा बनाउने हिम्मत गरे, त्यो धेरैका लागि प्रशंसाको विषय बनेको थियो।

तेस्रो संस्करणसम्म हरेक पटक यो फिल्मका कलाकार फेरिए, यसपटक त निर्देशक पनि फेरिए तर फिल्मको केन्द्रमा महिला र अपराध छुटेको छैन।

त्यतिबेला व्यावसायिक हिसाबले पनि हिट मानिएको ‘चपली हाइट’ त्यसपछि दर्शकमाझ संस्करणकै रुपमै प्रस्तुत हुँदै आएको छ। ०७३ सालमा यसको दोस्रो संस्करण ‘चपली हाइट–२’ रिलिज भएको थियो। पाँच वर्षपछि अर्जुन कुमारले यसको तेस्रो संस्करण लिएर आएका छन्, ‘चपली हाइट–३’।

तेस्रो संस्करणसम्म हरेक पटक यो फिल्मका कलाकार फेरिए, यसपटक त निर्देशक पनि फेरिए तर फिल्मको केन्द्रमा महिला र अपराध छुटेको छैन।

corrent noodles
Metro Mart

राति पानी परिरहेको समयमा चपली हाइटको जंगलमा भएको एउटा रहस्यमय हत्याबाट फिल्मको कथा अगाडि बढ्छ। ठमेलको नाइट क्लब टर्टलबाट फर्किरहेकी युवतीको गाडी चपली हाइटमा पुग्दा एक्कासि बिग्रिन्छ। तीनजना नकावधारी उनलाई सहयोग गर्ने बहाना त्यहाँ आइपुग्छन्, अनि बलात्कारको प्रयास गर्छन्। 

त्यही क्रममा क्लबबाट पछ्याउँदै त्यहाँ पुगेका धनाढ्य व्यापारीका छोरा पारस (अमिर गौतम) को चपली हाइटमा हत्या हुन्छ। घटनाको एकमात्र साक्षी हुन्छिन्, फिल्मकी मुख्य पात्र श्रद्धा (स्वस्तिमा खड्का)।

स्यास्या गर्दै निकै डराएको भावमा उनी घटनाको सूचना लिएर चपली हाइटस्थित प्रहरी वृत्त पुग्छिन्। घटना सविस्तार बताउँछिन्।

अपराधीसमक्ष पुग्न प्रहरीसँग कुनै ‘क्लु’ हुँदैन, उनको बयानबाहेक। उनी जे–जे कथा भन्छिन् त्यही नै प्रहरीको मूल अनुसन्धानको आधार हुन्छ। पारसलाई कसले किन मारेको हुन्छ? 

सरसर्ती हेर्दा हत्याराको खोजी र पहिचान नै यो सिनेमाको कथा हो। तर, त्योभन्दा बढी, एउटा हत्यारा आफू अनुसन्धानको जालोबाट उम्किन प्रहरीलाई कुन हदसम्म चक्मा दिन सक्छ भन्ने हो। 

हिरासतमा रहँदा प्रमुख पात्र श्रद्धाले पढ्ने कुमार नगरकोटीको पुस्तक ‘मिस्टिका’ यो फिल्मका दर्शकका लागि खास सरप्राइज हो। फिल्मको अन्त्यतिर पुस्तकका पात्रमार्फत जसरी फिल्मले बोकेको रहस्यको पर्दा उघ्रिन्छ, त्यो साँच्चै दर्शकका लागि अप्रत्याशित ‘ट्विस्ट'  बनिदिन्छ। यस मानेमा दर्शकलाई अन्त्यसम्म बाँधिरहन फिल्म सफल छ। 

फिल्ममा सत्य र झुटबीच गहिरो द्वन्द्व छ। द्वन्द्व सिर्जनामा निर्देशकले विद्यालयकी शिक्षिका श्रद्धाको सहारा लिएका छन्। पूरै अनुसन्धानको सुई श्रद्धा वरपर घुम्छ। 

भनिन्छ, क्राइम थ्रिलर फिल्मको भिलेन अथवा एन्टागोनिस्ट निकै चतुर र सिर्जनशील हुनुपर्छ। यतिसम्म कि ऊ आफ्नो पछि लागिरहेको अनुसन्धान अधिकृतभन्दा सधैँ एक कदम अगाडि हुनुपर्छ। अनि मात्रै फिल्ममा रोचकता र डर थपिँदै जान्छ। यसमा स्वस्तिमा खड्का केही हदसम्म सफल देखिन्छिन्। ‘बुलबुल’ फिल्ममा काम गर्दा कमाएको साख मात्रै उनले यो फिल्ममा गुम्न दिएकी छैनन्। 

भिलेनका रुपमा अर्पण थापाको अभिनय सानदार छ। उनको उपस्थितिले सिनेमामा थ्रिल पैदा गरेको छ। 

नेपालमा बनिरहेका क्राइम थ्रिलर फिल्महरुको तुलनामा निकेश खड्काको ‘चपली हाइट–३’ धेरै अर्थमा अब्बल छ। यद्यपि कमजोरीविहीन छैन। सामान्यतः सहरमा कुनै हाइप्रोफाइल हत्या हुँदा सीआईबीदेखि अपराध महाशाखासम्म सिनियर प्रहरी अधिकृतहरु खटिने गर्छन्। फिल्म लिबर्टीको नाममा होस् या अज्ञानता, यो यथार्थलाई फिल्मले नजरअन्दाज गरेको छ। त्यत्रो हाइप्रोफाइलको हत्यारा खोज्न आर्थिक लेनदेनका हिसाबले खराब छवि बोकेको एउटा इन्सपेक्टरलाई खटाइनु त्रुटिपुर्ण देखिन्छ। 

यद्यपि इन्सपेक्टरको भूमिकामा महेश त्रिपाठी खरो उभिएका छन्। एउटा प्रहरी अधिकृत आफ्नो अनुसन्धानको तनाव प्रहरी कार्यालयदेखि परिवारसम्म कसरी पोख्छ, फिल्ममा उनले देखाएका छन्।

फिल्ममा सब–इन्सपेक्टर नीलो स्कार्पियो कुदाएर हिँड्छन्। जबकि हामीकहाँ उच्च तहका प्रहरी अधिकृतले मात्रै यो सुविधा पाउने गर्छन्। सायद सिनेमामै भए पनि यो सुविधा पाउँदा, काठमाडौं प्रहरी वृत्तमा कार्यरत सब इन्सपेक्टरहरु खुसी हुँदा हुन्!

सिनेमामा सस्पेन्स र थ्रिल सिर्जना गर्न बढी महत्त्व दिँदा यसका निर्देशक पात्रको परिपक्व स्थापनामा चुकेका छन्। प्रमुख पात्रहरु श्रद्धा, प्रिया, इन्सपेक्टर लगायतको पारिवारिक पृष्ठभूमि राम्रोसँग स्थापित नहुँदा दर्शकमा अन्योल रहिरहन्छ। अझ प्रिया र आश्रमकी बहिनीसँग पनि श्रद्धाको खास सम्बन्ध स्थापित छैन। संवाद र अनुमानकै भरमा दर्शकलाई बुझाउन खोज्नु पक्कै निर्देशकीय कमजोरी हो। 

समाजमा निर्मला पन्तको हतियारा उम्किदै जाँदा ‘चपली हाइट–३’ जसरी पर्दामा आएको छ, त्यसले पक्कै कहीँ न कहीँ प्रहरीको अनुसन्धान प्रणालीलाई पनि गिज्याउँछ। सिनेमाले प्रश्न छाडेको छ– ‘कहिलेसम्म अपराधीहरु यसरी प्रहरीको चंगुलबाट उम्किरहनेछन्?’

सुरुवातदेखि फिल्मले जुन गतिमा उत्सुकुता प्रकट गर्दै जान्छ, क्लाइमेक्समा पुग्दा त्यो गति झन् कमजोर भएको छ। जबकि क्राइम थ्रिलर फिल्मको विशेषता नै क्लाइमेक्समा उच्च तहको तनाव सिर्जना गर्नु हो। अन्त्यमा जसरी निर्देशकले फिल्मलाई टुंग्याएका छन्, त्यो हतारको परिणाम हो भन्ने सहजै महसुस हुन्छ। 

फिल्ममा दीपाश्री निरौला पनि एक–दुई पटक प्रहरी वृत्त प्रमुख डीएसपीको भूमिकामा झुल्किएकी छिन्। तर उनको उपस्थितिको कुनै अर्थ भेटिँदैन, एकदुइटा संवाद बोल्नबाहेक। लक्ष्मी बर्देवालाई दिइएको महिला प्रहरीको भूमिका पनि  चित्तबुझ्दो छैन। यद्यपि उनले इमानदारसाथ निर्वाह गरेकी छिन्। सिनेमामा जीवन भट्टराईको रहस्यमय उपस्थिति पनि गज्जब छ। 

प्राविधिक पक्षमा फिल्म अब्बल देखिन्छ। दर्शकमा भाव छरेर थ्रिलर मुभीमा साउन्ड र सर्टहरुले पनि कहीँ न कहीँ पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छन्। यो फिल्ममा पुरुषोत्तम प्रधानले चलाएको क्यामेराका सर्ट र उत्तम न्यौपानेले सिर्जेको साउन्डले दर्शकमा धेरैपटक डर पैदा गर्न सहयोग पुर्‍याएको छ। यो फिल्मको सबल पक्ष हो। 

एकपटक आईजीपी हुँदा सर्वेन्द्र खनालले फिल्मकर्मीसँग अनुरोध गर्दै भनेका थिए, ‘प्लिज ! प्रहरीलाई फिल्ममा नकारात्मक नदेखाइदिनुस्।’ तर, समाजमा निर्मला पन्तको हत्यारा उम्किँदै जाँदा ‘चपली हाइट–३’ जसरी पर्दामा आएको छ, त्यसले पक्कै कहीँ न कहीँ प्रहरीको अनुसन्धान प्रणाली पनि गिज्याउँछ। सिनेमाले प्रश्न छाडेको छ– ‘कहिलेसम्म अपराधीहरु यसरी प्रहरीको चंगुलबाट उम्किरहनेछन्?’


प्रकाशित: Jan 14, 2022| 20:45 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।