शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ मन्त्री : श्रेष्ठ

सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ मन्त्री : श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन्।

काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन्।

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेकोमा जोड समेत दिइन्। उनले भनिन्,  ‘सहकारीको सिद्दान्त, उद्देश्य, र मर्म अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ। सहकारी क्षेत्रमा देखिएका चुनौति र जोखिमलाई न्युनिकरण गर्दै यस क्षेत्रप्रति आमनागरिकको विश्वास र भरोसा बढाउदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो।’

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताइन्। सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार भिजन पेपर तयार पारिरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन्।

सहकारीको सिद्धान्त मुल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन्।

प्रकाशित: Jan 14, 2022| 22:35 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्