काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फी रुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।
पछिल्लो समय बतास अर्गनाइजेसनका बारेमा सरकारले लिएका कदम र आएका समाचारका बारेमा विज्ञप्ति जारी गर्दै महासंघले यस्तो चिन्ता व्यक्त गरेको हो।
महासंघले आज शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकारले अनुमति दिएको सरकारी स्रोतमाथि व्यापार गर्दा एकतर्फी आक्रमण भइरहेको भन्दै विरोध जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ। पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।’
बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएकाले सरकारी निकायले अनुमति दिएकोमा स्वाभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएको महासंघले बताएको छ। प्रक्रिया र कानुन विपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई अन्यथा नलिने तर त्यसको सत्यतथ्य खोजी हुनुपर्ने महासंघले बताएको छ।
महासंघले भनेको छ, ‘सञ्चारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन।’