काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन्।
अर्थ मन्त्रालयका अनुसार आवेदकहरुमा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, जीवन अम्गाई, रमेश कुमार हमाल, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल छन्।
सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा मुछिएका भीष्मराज ढुंगानालाई सरकारले बोर्डको अध्यक्षबाट बर्खास्त गरेपछि पद खाली भएको हो। ढुंगानालाई बर्खास्त गरेपछि बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो। उक्त सूचनाअनुसार १२ जनाले आवेदन दिएका थिए।
तर, मन्त्रीस्तरीय सिफारिस समिति गठन भएको र त्यसले वैधानिकता नपाउने कारण देखाएर मन्त्रिपरिषद्बट सिफारिस समिति गठन गर्न भन्दै त्यसलाई खारेज गरेर पुनः यही पुस १५ गते अर्को समितिले सूचना प्रकाशित गरेर आवेदन माग गरेको थियो ।
बोर्डको अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा समिति गठन भएको छ। समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र जीवनाथ भुषाल छन्।