काठमाडौं– बुधबार ३० अंकले गिरावट भएको सेयर बजार मापक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार बढेको छ। बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से बिहीबार ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ।
आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले बढेको छ।
कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँमा कारोबार भएको छ। नेप्से परिसूचक बढे पनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ। बुधबार नेप्सेमा ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ। जसमा जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९ प्रतिशत बढेको छ। लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आज कारोबारमा आएका मध्ये मध्य भोटेकोशीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य भने १ प्रतिशत घटेको छ। आज कारोबार रकमका आधारमा ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ।