काठमाडौं– बैतडीका २३ वर्षीय शिक्षक हरिश अवस्थीले यही पुस २३ गते आफू अपहरणमा परेको स्टाटस लेखे फेसबुकमा। आफूलाई विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेको र मार्नका लागि राप्ती नदीमा धकेलिदिएको उल्लेख गरेका थिए अवस्थीले। अपहरणकारीले आफूलाई शौचालयमा नग्न बनाई यातना दिएको भन्दै उनले प्रहरीलाई उद्धारका लागि आग्रह गरेका थिए।
साथै हरिशले डम्मर अवस्थीलाई उनकै आफन्तले हत्या गरेको र त्यसमा आफूलाई फसाउन खोजेको लेखेका थिए। हरिशको स्टाटसपछि विप्लव नेतृत्वको पार्टीले विज्ञप्ति निकाल्दै शिक्षक अवस्थीको अपहरण नभएको र झुटो कुरा सामाजिक सञ्जालमा लेखेको भन्दै कारबाहीका लागि प्रहरीसँग माग गर्यो।
फेसबुक स्टाटस लेखेको भोलिपल्ट पुस २३ गते शुक्रबार बेलुका ८ बजेतिर बाँकेस्थित राप्ती नदी किनारमा प्रहरीले हरिशलाई भेट्टायो। त्यसबेला उनको कपडा, मोबाइल, पैसा भिजेको अवस्थामा थियो। उनलाई भेरी अस्पताल लगियो र सामान्य उपचार भयो।
प्रहरीसँग उनले बैतडीबाट आफूलाई केही युवाहरूले पुस २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको बताए।
त्यही समय बैतडीको सुनर्या गाउँपालिका–६ का डम्मर अवस्थीको शव जंगलमा भेटिएको थियो। डम्बरको हत्या उनकै आफन्तले गरेको फेसबुकमा लेखेका थिए हरिशले।
डम्मरको अन्तिम सम्पर्क हरिशसँग भएको पाइएपछि प्रहरीले उनलाई नै शंकाको घेरामा राख्यो। नभन्दै हरिशले डम्मरको हत्या आफूले नै गरेको र बच्नका लागि अपहरणको नाटक गरेको प्रहरीसँग स्वीकारेका छन्।
प्रारम्भिक अनुसन्धानबाट हरिशले नै डम्मरको हत्या गरेको देखिएको प्रहरीले बताएको छ। डम्मरको शव जंगलमा गाडेको अवस्थामा फेला पारेको छ।
डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए। उनका परिवारले खोजतलास गरे पनि फेला नपरेपछि पुस १ गते प्रहरीकहाँ जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार त्यसपछि उनको थप खोजी सुरू भएको थियो।
प्रहरीसँगको बयानमा हरिशले मंसिर १४ गते डम्मरको हत्या गरेर जंगलमा गाडेको बताएका छन्। हत्याको कारण भने खुलिसकेको छैन।