काठमाडौं– कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन लागु गरेको छ। जिप्रका कैलालीले बुधबार सूचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरी कडाइका विभिन्न निर्णय गरेको छ।
कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्रशासनले विभिन्न निर्णय गरेको हो।
सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनले आदेश जारी गरेको छ। यस्तै, भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ। सार्वजनिक ठाउँमा अब २५ जनाभन्दा बढी भेला हुन पाइने छैन।
सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ। यस्तै, माघ १५ सम्म विद्यालय बन्द रहनेछन्। पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न अनुमति दिइएको छ।
काठमाडौं उपत्यकामा पनि तीनै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेका छन्।