शनिबार, वैशाख २२, २०८१

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
 |  बुधबार, पुस २८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, पुस २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी राजनीतिमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै आशाका अनुहार हुन्। गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माका सामु कांग्रेसलाई पुनर्जीवन दिने ठूलो चुनौती छ। दुई नेताको काँधमा बलियो र सुदृढ कांग्रेस बनाउने जिम्मेवारी कार्यकर्ताले थमाइदिएका छन्। 

triton college

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ। पुस १० गते महामन्त्रीको कार्यभार सम्हालेपछि नै उनीहरुको परीक्षा सुरु भइसकेको छ। २०८२ साल मंसिर (समयमै १५औं महाधिवेशन भएको खण्डमा)सम्म महामन्त्रीका रुपमा उनीहरुले दिएको परीक्षाको नतिजा प्राप्त हुनेछ। १५औं महाधिवेशनमा सफल बनेर नेतृत्व दाबी गर्ने तहमा उनीहरु हुन्छन् वा असफल बनेर कार्यकर्तासँग माफी माग्ने अवस्था आइपर्छ? त्यो उनीहरुले गर्ने कर्ममा भर पर्नेछ। तर, यो प्रश्नको जवाफमा दुवै महामन्त्रीको एकै स्वर छ– हामीलाई असफल हुने छुट छैन। 

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।

त्यसो त कांग्रेस वृत्तमा अर्को एउटा प्रश्न पनि टड्कारो भएर आएको छ। गगन–विश्वले सहकार्य गर्लान् वा संघर्ष? चिन्ता जायज पनि छ। पार्टी राजनीतिमा उनीहरु प्रतिस्पर्धीका रुपमा हेरिन्छन्। कांग्रेस राजनीतिमा लामै समय प्रतिस्पर्धी हुने सम्भावना पनि देखिएको छ। त्यसैले उनीहरुले महामन्त्रीको जिम्मेवारी कसरी पूरा गर्लान् भनेर चासो व्यक्त हुनु स्वाभाविक नै हो। 

गगन र विश्व आफूभन्दा सिनियर नेताहरुलाई पराजित गरेर महामन्त्रीमा निर्वाचित भएका हुन्। महामन्त्रीका उम्मेदवार डा. प्रकाशरण महत, डा. मीनेन्द्र रिजाल पार्टी राजनीतिमा गगन र विश्वभन्दा सिनियर नेता हुन्। कतिपय अरु सिनियर नेताहरुले पनि महामन्त्रीमा आकांक्षा राखेकै थिए। तर, उनीहरु प्रतिस्पर्धामा उत्रिएनन्। यसको अर्थ अब महामन्त्रीद्वयले युवाको प्रतिनिधित्व गर्दै सिनियर नेताको विश्वास जितेर पार्टी सञ्चालन गर्नुपर्नेछ। 

corrent noodles
Metro Mart

१४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि  विश्वप्रकाश शर्मा र गगन थापा।

कांग्रेसको विधान अनुसार महामन्त्री कार्यकारी पद हो। बैठकमा प्रस्ताव लैजानेदेखि संगठन चलाउनेसम्मको अधिकार महामन्त्रीलाई विधानले प्रत्यायोजन गरेको छ। र, सभापतिपछिको कार्यकारी पदमा थापा र शर्मा छन्। अब उनीहरु कसरी अघि बढ्छन् त?

दुवै महामन्त्री निकटहरुका अनुसार उनीहरुबीच संघर्ष र प्रतिस्पर्धा भन्दा पनि सहकार्य हुने सम्भावना धेरै देखिन्छ। महामन्त्रीमा निर्वाचित भएलगत्तै शर्माले भनेका थिए, ‘गगन र म हल बाँधेर कांग्रेस जोगाउनतर्फ लाग्छौं।’ त्यसो त महामन्त्री थापाले पनि शर्मासँग सहकार्यको जोड दिँदै आएका छन्। थापा भन्छन्, ‘मलाई विश्वप्रकाश शर्मा महामन्त्री हुँदा सहज छ। हामीले आफूलाई प्रमाणित गर्न पनि एकअर्कासँग मिल्नुपर्नेछ, परिपूरण गर्नुपर्ने छ र सकारात्मक हिसाबले तागत निर्माण गर्ने हो।’ 

दुवै जनाले पाटीभित्र सुधारको एजेन्डा उठाउँदै आएकाले एकै ठाउँमा उभिएर काम गर्ने थापाको भनाइ छ। ‘विधानले परिभाषित गरेर सभापतिपछि महामन्त्रीलाई अधिकार दिएको छ। यहाँनेर दुई दाजुभाइ एक ठाउँमा उभिन्छौं। पार्टीभित्रको सुधारको एजेन्डा वर्षौंदेखि उठाउँदै आएका थियौं। अब एकै ठाउँ उभिएर काम गर्नुपर्ने छ।’ 

दुवै महामन्त्री निकटहरुका अनुसार उनीहरुबीच संघर्ष र प्रतिस्पर्धा भन्दा पनि सहकार्य हुने सम्भावना धेरै देखिन्छ। 

अर्का महामन्त्री शर्मा पनि थापाले झैं मिलेर काम गर्ने दाबी गर्छन्। व्यक्ति दुई भए पनि पद एकै भएकाले मिलेरै काम गर्नुको विकल्प नरहेको शर्माको भनाइ छ। ‘हामीलाई महाधिवेशनले साझा जिम्मेवारी दिएको छ। मान्छे मात्रै दुईजना हो, पद त एकै हो नि,’ उनी भन्छन्, ‘पहिले एक जनामात्रै महामन्त्री हुने व्यवस्था थियो। तर, विस्तारै खुला समाजमा प्रतिस्पर्धा बढ्यो। ज्वलन्त समस्या बढे। त्यसलाई ध्यानमा राखेर दुई महामन्त्रीको व्यवस्था गरिएको हो। म गगनसँग मिलेर काम गर्ने पक्षमा छु र हामी त्यो गर्नेछौं।’ 

पुस १० गतेको पहिलो केन्द्रीय समितिे बैठकमा थापाले प्रस्ताव पेश गरेका थिए। १९ गतेको दोस्रो बैठकमा थापा उपत्यका बाहिर थिए र शर्माले प्रस्ताव लगेका थिए। यसले थापा र शर्मा सहकार्य गरेर अघि बढ्न चाहन्छन् भन्ने पुष्टि गर्छ। 

बैठकमा प्रस्ताव लैजानेसँगै संगठन चलाउने, कार्यालय व्यवस्थापन, विचार निर्माण र प्रस्तुतिकरणमा तालमेल गर्दै अघि बढ्ने शर्मा बताउँछन्। ‘महामन्त्रीले कार्यसमिति बैठकमा प्रस्ताव लैजाने हो। संगठन चलाउने, कार्यलय व्यवस्थापन, विचार निर्माण र प्रस्तुतिकरणमा सहकार्य गर्छौं,’ शर्मा भन्छन्, ‘अनुभवी नेतृत्वलाई युवा स्पिरिट थप्ने र पाका सभापतिबाट परिपक्वता आर्जन गर्ने हो।’

सफलता, असफलता र सहकार्य 

पार्टीको कार्यकारी पदमा यसअघि थापा र शर्मा दुवै परीक्षण नभएका नेता हुन्। पहिलो पटक कार्यकारी पदमा पुगेपछि उनीहरु परीक्षणको कसीमा छन्। नेता–कार्यकर्ताले उनीहरुको परीक्षण उनीहरुको कर्मका आधारमा गर्नेछन्। त्यो परीक्षणमा खरो उत्रिन पनि उनीहरु सहकार्यको पक्षमा देखिएका छन्। उनीहरुले सहकार्य गर्दा सफलता प्राप्त हुने बुझेका छन्। संघर्षले असफलताको जोखिम निम्त्याउने खतरा उनीहरुले देखेका छन्। त्यही जोखिमले उनीहरुलाई सहकार्यको विकल्पमा धकेलिदिएको छ। ‘मसँग राखिएका अपेक्षा पूरा गर्न खरो रुपमा उत्रन्छु भनेर प्रमाणित गर्न पनि मैले मेरो समयलाई उत्साह, ऊर्जाका साथ काममा लगाउनु पर्नेछ,’ थापा भन्छन्, ‘त्यसका लागि मैले अर्को महामन्त्रीसँग मिलेर काम गर्नैपर्छ। यो हामी दुवैको बाध्यता पनि हो।’

सहकार्य गरेर अघि बढ्न र बाटो पहिल्याउन उनीहरुले कसरत गरिरहेका छन्। महामन्त्रीमा निर्वाचित भइसकेपछि उनीहरुबीच पटक–पटक छलफल भएको छ। कांग्रेस हाँक्न उनीहरु दुईबीचको सहकार्यमात्रै पर्याप्त हुँदैन। विधानले उनीहरुलाई कार्यकारी भूमिका दिएको छ। तर, कांग्रेस सभापतिय प्रणाली भएको पार्टी हो। त्यसका लागि उनीहरुले सभापति शेरबहादुर देउवाको विश्वास जित्नुपर्ने छ। किनकि दुवै देउवाले नचाहेका महामन्त्री हुन्। त्यसो त शर्मा महामन्त्रीमा निर्वाचित हुनुअघि देउवाकै समूहमा थिए। २०७४ सालको आम निर्वाचनपछि देउवाले उनलाई पार्टी प्रवक्ताको भूमिका सुम्पिएका थिए। प्रवक्ताको जिम्मेवारीसँगै उनले देउवासँगको सामिप्ता प्रकट त गरिरहेका थिए तर, १४औं महाधिवेशन नजिकिँदै गर्दा उनी देउवा समूहबाट किनारामा उभ्याइए।

सहकार्य गरेर अघि बढ्न र बाटो पहिल्याउन उनीहरुले कसरत गरिरहेका छन्। महामन्त्रीमा निर्वाचित भइसकेपछि उनीहरुबीच पटक–पटक छलफल भएको छ।

मंसिर २५ गते (मनोनयन दर्ता गर्ने दिन) विश्वप्रकाश शर्मा देउवा समूहबाट अलग भएर प्रकाशमान सिंहको उम्मेदवार बन्न पुगेका थिए। यसको अर्थ आफ्नै समूहबाट किनारा लगाइएका शर्मा देउवाले चाहेका महामन्त्री होइनन्। थापा त पहिलेदेखि नै देउवाका कटु आलोचक थिए। त्यसकारण उनलाई देउवाले महामन्त्री चाहने कुरै भएन। यस्तो अवस्थामा दुवै महामन्त्रीले सभापति देउवाको विश्वास जित्नुपर्नेछ। त्यसका लागि उनीहरु प्रयत्नशील पनि देखिन्छन्। ‘कसरी अघि बढ्ने भनेर हामीबीच छलफल हुँदै आएको छ। हामी दुई जना मात्रै बसेर पनि छलफल गरेका छौं। सभापतिजीसँग बसेर पनि छलफल भएको छ। उपसभापतिहरुसँग पनि बसेका छौं,’ शर्मा भन्छन्, ‘आज (बुधबार) पनि गगन र मैले छलफल गरेका छौं।’

फरक स्वाभाव, शैली एकै 

गगन र विश्वप्रकाशको काम गर्ने शैली धेरै हदसम्म समान देखिन्छ। तर, स्वाभाव भने दुवैको फरक। थापा आक्रामक शैलीका छन्। आक्रामक र सटिक भाषणकला उनको खास खुबी हो। तर, शर्मा भने शालीन भाषणमा रमाउँछन्। तर्कशील र लालित्यपूर्ण भाषण शैली उनको खुबी हो। तर, दुवै नेतामा तत्काल धारणा बनाएर आफूलाई अभिव्यक्त गर्न सक्ने शैली समान छ। 

‘मास क्रेज’का हिसाबले पनि यी दुई कांग्रेसमा धेरै माग हुने नेताहरु हुन्। पार्टी कार्यक्रमहरुमा पहिलो खोजीभित्र पर्छन् दुवै नेता। चुनावी प्रचारमा सबैभन्दा धेरै माग उनीहरुकै हुन्छ। विपक्षीमाथि तर्कसहित ट्याकल गर्न सक्ने खुबीका कारण उनीहरु रुचाइन्छन्। अध्ययनशील र तर्कपूर्ण विचार राख्न माहिर दुई नेता कांग्रेस कार्यकर्ता माझ मात्रै होइन, जनतामाझ पनि उत्तिकै लोकप्रिय छन्। विचारका हिसाबले भने गगन बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादभन्दा अलि फरक कित्तामा छन्। उनले सामाजिक लोकतन्त्रको बहस यसै महाधिवेशनबाट छेडेका छन्। शर्मा भने बीपीको प्रजातान्त्रिक समाजवादबाट प्रभावित छन्। १४औं महाधिवेशनबाट कार्यकर्ताले दुवै नेतालाई एकै पदमा पुर्याइदिएका छन्। अब फरक स्वाभाव तर, समान शैलीका उनीहरुबीचको तालमेल कस्तो हुनेछ? समयक्रमसँगै थाहा हुनेछ। 

परिपूरक बन्दा दुवैलाई फाइदा छ

गेजा शर्मा वाग्ले, राजनीतिक विश्लेषक 

अहिले गगनजी र विश्वजीप्रति कार्यकर्तादेखि जनतासम्मको अपेक्षा उच्च छ। त्यो अपेक्षा पूरा गर्न उनीहरुलाई असफल हुने छुट छैन। उहाँहरुको राजनीतिक भविष्य पनि सफलतामै छ। त्यसका लागि गगनजी र विश्वजीले एकअर्कालाई प्रतिस्पर्धी भन्दा परिपूरकको भूमिकामा देखिनुपर्छ। त्यसले उहाँहरुको राजनीतिक भविष्य पनि सुरक्षित हुन्छ। लोकतन्त्र, संविधान र पार्टीको भविष्यका लागि उहाँहरुको सहकार्य आवश्यक छ। 

पार्टी सञ्चालनमा अहिलेको विधान अनुसार महामन्त्री कार्यकारी पद हो। विधानले महामन्त्रीको भूमिका निर्दिष्ट गरेको छ। तर, कांग्रेस सभापतिय प्रणालीबाट सञ्चालन हुने पार्टी हो। त्यसकारण उहाँहरुले सभापतिसँग सुमधुर सम्बन्ध बनाएर, सभापतिको विश्वास जितेर विधानले दिएको भूमिका निर्वाह गर्न सक्नुपर्छ। त्यो उहाँहरुको पहिलो चुनौती हो। सभापतिले भूमिका नदिएको अवस्थामा विधानले दिएको भूमिका निर्वाह गर्न सक्नुहुन्न।

उहाँहरुले आफ्नो विचार र कार्यक्रमका सन्दर्भमा पनि सभापतिलाई विश्वास दिलाउन सक्नुपर्छ। यो उहाँहरुको दोस्रो चुनौती हो। कार्यकर्ताको विश्‍वास जितेर उहाँहरु महामन्त्री निर्वाचित हुनुभएको छ। त्यसकारण उहाँहरु सफल हुने कुरामा र पार्टीलाई पुनर्जीवन दिने कुरामा गम्भीर भएका कारणले प्रतिस्पर्धा भन्दा पनि सहकार्य हुने मैले देखेको छु। उहाँहरुले सहकार्य गर्नुभयो भने महामन्त्रीका रुपमा सफल हुने सम्भावना धेरै छ। प्रतिस्पर्धा गर्न थाल्नुभयो भने दुवै असफल हुने जोखिम धेरै छ।


प्रकाशित: Jan 12, 2022| 17:50 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...