काठमाडौं– मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टू इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरूप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ । फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा गौरवान्वित भएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए ।
यसैगरी, सीईओ अनुपमा खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताइन् ।
दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रूपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ ।
यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पांग्रे सवारी साधन टेम्पोमा प्रयोग गरिनेछ । धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरुमा सिलिण्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ । यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैंयाको आयात कम हुने विश्वास लिइएको छ ।
मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीन पांग्रे टेम्पोलाई सिएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको जनाएको छ ।