काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।
आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७–०७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो। नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ। ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ।
नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७–०७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो। सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ।
थापाथलीस्थित बिएलसी विल्डिङमा सम्पन्न वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए।
उनले अस्पतालमा हालै आइभिएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गरेका थिए।