काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।
सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले कोरोना महामारी जस्तो संकटमा समेत बैंकहरु बढी नै मुनाफा कमाउन मात्रै ध्यान दिएको बताएका हुन्।
मन्त्री शर्माले संकटको समयमा पनि बढी नै नाफा कमाउनुपर्छ भन्ने मानसिकता राख्न नहुने बताए। बैंकहरु जनताको निक्षेपमा मात्रै भर नपरी संकटको बेला सबै बच्न सक्ने उपायहरु पनि अपनाउन जरुरी रहेको बताए। उनले बैंकहरुले संकटको समयमा पनि उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरी ८ प्रतिशतबाट ब्याज ११ प्रतिशत पुर्याउनु राम्रो नभएको गुनासो गरे।
नेपालमा संकटको अवस्थामा पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति मुख्य समस्या रहेको त्यसको अन्त्य गर्न जरुरी रहेको बताए। मन्त्री शर्माले को उद्योगी, को व्यवसायी र को बैंकर छुट्याउन गाह्रो भएको टिप्पणी गरे।
अर्थमन्त्री शर्माले अब मुलुकले कुनै पनि हालतमा लकडाउनको बाटो रोज्न नहुने बताए। उनले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए। लकडाउनका कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए। उनले अब लकडाउन नभएर उचित रुपमा सुरक्षाका उपायहरु अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताए।
त्यस्तै, अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको दाबी गरे। उनले अर्थतन्त्रमा धेरै चुनौती रहेको तर संकट भने नरहेको बताए। मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको पनि दोहोर्याए। उनले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने दाबी गरे। तरलता समस्या समाधान गर्न सरकारले काम गरिरहेको उनको भनाइ थियो।
अर्थमन्त्री शर्माले बेमौसमी वर्षाका कारण ७ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका उत्पन्न भएको बताए। उनले सरकारले लक्ष्य लिएअनुसार आर्थिक वृद्धि गर्ने कुरामा लागिरहेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको बताए। उनले अहिले तरलताको मुख्य कारण पुँजीगत खर्च निकै कम हुनु रहेको बताए। गोल्छाले उद्योगीले उत्पादनमूलक उद्योगमा लगानी बढाउनु नसक्नु कस्ट अफ डुइङ भएको बताए। अध्यक्ष गोल्छाले तरलता राज्यको समस्या भएको भन्दै यो समाधान नभए राज्य नै असफल हुने तर्क गरे। सरकारले तरलता समस्याको समाधान नगरे केही महिनामा औषधि समेत किन्न नसक्ने अवस्था आउन सक्ने बताए।