काठमाडौं– नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। ३ वर्षे कार्यकाल पूरा गरी सुरेन्द्र पौडेल गत बिहीबारदेखि निगमबाट बाहिरिएसँगै निगमले दरखास्त आह्वान गरेको हो।
कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरेर नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। कार्यकारी निर्देशकका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
३५ वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने छन्। आवेदन दिँदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्ययोजना छुट्टै खाममा सिलबन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तका साथ पेश गर्नुपर्ने सूचनामा जनाइएको छ। दरखास्त शुल्क ५ हजार तोकिएको छ।