शुक्रबार, असोज १६, २०८३

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला शनिबार लामो समयसम्म थन्किएको सो रेलको परीक्षण गरिएको हो।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

धनुषा- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परीक्षण गरिएको छ।  

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला शनिबार लामो समयसम्म थन्किएको सो रेलको परीक्षण गरिएको हो। 

भारतीय रेल्बे कम्पनी कर्पोरेसनबाट गत विसं २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ। पाकिङ गरी राखिएका रेलको आज परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा रेलको परीक्षण गरिएको छ। 

रेलको सफल परीक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै छिट्टै रेल सेवा सञ्चालको तयारी भइरहेको बताए। 'अहिले न्यूनतम आवश्यकताका आधारमा ६० कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौँ,' महाप्रबन्धक झाले भने, 'नियुक्त भएका कर्मचारीको तालिम सोमबार सञ्चालन गर्ने छौँ, तालिम दिएर ती कर्मचारीलाई काममा परिचालन गरिने छौँ।' यसबाहेक रेल सञ्चालनका लागि भारतीय पक्षबाट समेत २४ मध्ये १४ कर्मचारी आइसकेको उनले बताए। 

उद्घाटनपछि तत्कालका लागि दिनमा एकपटक आउने र एकपटक जाने गरी रेल चलाउने तयारी भइरहेको जानकारी दिँदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकताअनुसार दिनमा दुई-तीन पटकसम्म पनि रेल चलाउन सकिने बताए। रेल्वे लिकमा रहेका क्लीप चोरी भइरहेको र अझै पनि ठाउँठाउँमा रेल्वे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाइ हुन सक्ने जनाउँदै उहाँले यसमा सबै पक्ष सचेत भएर सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए।

यसअघि गत मङ्गलवार मात्र भारतीय रेल्बे कम्पनी कर्पाेरेसन (कोंकण) का कार्यकारी निर्देशक डा मनोज सिंह नेतृत्वको टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण गरेको थियो। 

भारतीय रेल्बे कम्पनी कर्पाेरेसनबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन नसकेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन्। वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन्।

प्रकाशित: Jan 08, 2022| 22:40 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्