काठमाडौं- गाँजा सेवनको औचित्य र वैधानिकताबारे बहस भइरहेका बेला हामीले गाँजाको बोटबाट बनाइने सामग्री उत्पादन गर्ने एउटा कारखाना भेट्यौं, अघिल्लो साता।
काठमाडौं सहरको उत्तरी भागमा पर्ने बूढानीलकण्ठ मन्दिरनजिकै रहेको फरेस्टी हेम्प ब्याग उद्योग पुग्दा झन्डै ५० जना श्रमिक व्यस्त थिए। कोही कच्चा पदार्थ प्रशोधन गर्दै थिए, कोही मेसिन चलाउँदै थिए। कोही ‘प्याकिङ’ गर्दै थिए त कोही उत्पादित सामग्रीलाई गोदाममा थन्काउँदै।
पृष्ठभूमिमा बजेको सुमधुर संगीतको लयमा लय मिलाइरहेको श्रमिकहरुको रफ्तारबीच भेटिए उद्योग सञ्चालक गणेश ऐरी। मूलतः गाँजाको रेसाबाट ब्याग र जुत्ता बनाउने यो कारखानाले यतिबेला मास्क, शारीरिक कसरत गर्दा प्रयोग गरिने म्याट, कोटका कपडा, तन्ना, थैलीलगायतका सामग्री उत्पादन गर्दो रहेछ। ‘यहाँ धेरै सामग्री देख्न सक्नुहुन्छ’, सञ्चालक ऐरीले मुस्कुराउँदै हामीलाई सुनाए, ‘यो उद्योगको संघर्षको कथा अलिक लामै छ। अहिले जे भइरहेको छ, म सन्तुष्ट छु।’
करिब सय जनालाई रोजगारी दिएका ५१ वर्षीय ऐरीले यो उद्योग २०६७ सुरु गरेका हुन्, काठमाडौंमा। त्यसो त उनले आफ्नो थातथलो बझाङमा यसको व्यवसाय २०५४ सालदेखि नै सुरु गरेका थिए। गाउँमा सामान्य ढंगले व्यापार चलिरहेको थियो। तर गाउँमा आफ्नै प्रकारका सीमितता थिए। उत्पादनका लागि जनशक्ति, ब्रान्डिङ, बजार र यसको व्यावसायिक कनेक्सनको सम्भाव्यता खोज्न अलिक सहज थिएन। त्यसैले गाउँमा भन्दा सहरमा फराकिलो सम्भावना देखेर उनी काठमाडौं आइपुगे। ‘गाउँमा पनि ठिकै थियो। चलिरहेकै थियो। तर कतिपयले हेम्प व्यागको उत्पादन र बजारका हिसाबले सहरमा राम्रो हुने सुझाव दिए’, उनले भने, ‘मलाई पनि यो कुराले छोयो। हो भन्ने लाग्यो। विदेशतिर पनि यसको बजार फैलाउनु थियो।’
उत्प्रेरक कुरा के छ भने ऐरीले यो काम हजार रुपैयाँबाट सुरु गरेका थिए। उद्योगले अहिले वर्षमा चार करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्छ।
काठमाडौं छिरेपछि उद्योग स्थापनाको प्रारम्भमा उनले अनेक कठिनाइ बेहोरे। काठमाडौंको व्यावसायिक आयाम नौलो थियो उनका लागि। उनीसँग पर्याप्त पैसा थिएन। उत्पादन पनि ठिक–ठिकै थियो। तर उनमा एउटा अठोट थियो, म अझै राम्रो गर्न सक्छु। उत्पादनको गुणस्तर विश्वासिलो भयो भने उपभोक्ताको मन जित्न सकिन्छ। तर त्यसका लागि फराकिलो बजार तय गर्न जरुरी थियो। ‘मैले बिस्तारै इन्टरनेटका माध्यमबाट देश–विदेशको बजारको खोजी गरेँ। सम्भावना अरु ढोका पनि ढकढकाएँ', ऐरीले अनुभव सुनाए, ‘त्यसपछि हाम्रो उद्योगका उत्पादनको माग बढ्न थाल्यो। ग्राहकहरुको चासो बढ्यो। र, अहिले जे भइरहेको छ त्यसले हामीलाई खुसी बनाइरहेको छ।’
उत्प्रेरक कुरा के छ भने ऐरीले यो काम हजार रुपैयाँबाट सुरु गरेका थिए। उद्योगले अहिले वर्षमा चार करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्छ। र, उनले यसको ५० प्रतिशत जोगाउँछन्। अहिले बजारको माग धान्नसमेत धौ धौ परिरहेको अनुभव उनको छ। कोरोना महामारीका बेलामा पनि उनले वर्षको ८० लाख सम्मको कारोबार गरे। ‘सबै व्यवसाय थला परिरहेका बेला पनि हामीलाई खास फरक परेन’, ऐरीले सुनाए, ‘उद्योगले सय जनासम्मलाई रोजगारी दिएको छ।’
उनका छोराबुहारीसहित सबै परिवार नै यही उद्योगमा कार्यरत छ। त्यसैले उनी विदेश जाने युवालाई पनि अलि फरक ढंगले यस्तै व्यवसाय गर्न सल्लाह दिन्छन्। ‘विदेश जाने युवा पैसा खोज्न भन्दा पनि साहु खोज्न गएका हुन्। साहु खोज्न विदेश जानुको साटो यहीं बसेर केही फरक काम गर्नुपर्छ। सुरुमा दुःख हुन्छ आत्तिनु हुन्न। फल अवश्य पाइन्छ’, उनले भने।
भाले गाँजा जसको बोट ठूला र अग्ला हुन्छन्। भाले गाँजालाई हेम्प भनिन्छ। यही भाले गाँजाको बोटको रेसा र बोक्राबाट लुगा, ब्याग, जुत्तालगायतका सामग्री बनाउने गरिन्छ।
उद्यमी ऐरीसँग गफगाफ गर्दै हामी उद्योग र यस परिसरमा घुमिरहेका थियौं। छेउमा मनग्य कच्चा पदार्थ भण्डारण गरिएको थियो। उनले भण्डार गरिएको कच्चा पदार्थ देखाउँदै भने, ‘गाँजा भाले पोथी गरी दुई खालका हुन्छन्। पोथी गाँजका बोट साना हुन्छन्, जुन लागूऔषधका रुपमा प्रयोगमा आउँछ । तर, भाले गाँजा जसको बोट ठूला र अग्ला हुन्छन्। भाले गाँजालाई हेम्प भनिन्छ। यही भाले गाँजाको बोटको रेसा र बोक्राबाट लुगा, ब्याग, जुत्तालगायतका सामग्री बनाउने गरिन्छ।’
भाले भनिने अग्ला बोटजन्य पदार्थबाट जुत्ता, ब्याग लगायतका सामग्री उत्पादन अवैध मानिँदैन। यसको आयातनिर्यातमा पनि कुनै प्रतिबन्ध छैन। ऐरीका अनुसार भाले गाँजाको डाँठबाट काटेर निकालिएको रेसा र लाठी नै मुख्य कच्चा पदार्थ हुन्। यसलाई खरानीमा मोलेर भिजाउने र पकाउने गरिन्छ। कमेरो माटो दलेर सुकाउने गरिन्छ। सुकाइएको सामानलाई भांग्रो भनिन्छ। यसको कच्चा पदार्थ पानी धेरै भएको ठाउँमा बनाउने गरिन्छ। त्यो काम अहिले देशका ४७ जिल्लामा भइरहेको छ।
‘अहिले सबैभन्दा बढी कच्चा पदार्थ रुकुममा उत्पादन हुन्छ। बाजुरा, बझाङ, रोल्पा, सल्यान, प्युठानमा उत्पादन बढेको छ’, उनले भने, ‘हामी ती कच्चा पदार्थ ल्याएर सामग्री बनाउने काम गर्छाैं।’
अहिले गाँजाका सामग्रीको माग विश्वभर बढ्दै गएको अनुभव नेपाली उद्यमीको छ। यस्ता सामग्रीका लागि नेपालमा चलेका वस्तुमध्ये कपासभन्दा भांग्रो धेरै सस्तो छ। जति कपास फल्छ तर त्यती भांग्रो उत्पाद छैन। नेपालमा अहिले ३ सय ९९ साना उद्योगीले यो व्यवसाय गर्छन्। सबै उद्योगीले पैसा हालेर उद्यागी गुरु पब्लिक लिमिटेड पनि खोलेका छन्। जसमा ५ हजार देखि ५ लाख सेयर हालेर २० करोडको कम्पनी बनाएका छन्। ‘नेपालभरिका अल्लो र भाङग्रो जति हाम्रो रेसा हो, त्यो संकलन गरेर रिलाइन्स इस्पेलिङ मिलसँग सम्झौता गरेका छौं। त्यो मिलमा धागो बनाउने काम गरिन्छ’, ऐरीले भने, ‘यो तरिका काम गर्दा अलिक सहज भएको छ।’
हामी छुट्टिनुअघि फेरि उद्यमी ऐरीले हामीलाई एउटा कुरा दोहोर्याए। भन्दै थिए, ‘नेपाल युवा पुस्तालाई भन्दिनुहोला उद्यमका लागि सीप र जाँगर छ भने पैसा कमाउन कठिन कुरा होइन।’
ऐरीले गत वर्ष कोरोना कालमै २० हजार किलो भांग्रो र अल्लोको काम गरेको थिए। यस वर्ष भने २० लाख किलो बराबरको काम गरिहेका छन्। ‘हामीसँगै सिकेका कतिपयले ससना उद्योगहरु पनि स्थापना गरिरहेका छन्’, गाँजा र अल्लोबाट उपभोग्य सामग्री उत्पादनको आयामबारे उनले सुनाए, ‘उद्यमीहरु बढ्दै जानु खुसीको कुरा हो।’ हेम्प एसोसिएसन संस्था छ त्यसमा सबै जना आबद्ध छन्। राष्ट्रिष्य अल्लो संघका विभिन्न शाखा छन्। अहिले १३ वटा जिल्लाबाट सामग्री वितरण गरिहेका छन्। विदेशमा भन्दा स्वदेशमा बिक्री गर्नुपर्छ भन्ने उद्देश्यले खोलिएका यस्ता वितरण केन्द्रहरुप्रति थप रुचि देखिँदै गएको छ।
‘त्यसो त बजार विदेशमा पनि विस्तार भइरहेको छ’, ऐरीले भने, ‘भांग्रो र अल्लोबाट बनेका सामाग्री ७० देशमा निर्यात गर्दै आएको छ। जर्मन, बेलायत, स्पेनलगायत अन्य देशमा सामान जान्छ।’
हामी छुट्टिनुअघि फेरि उद्यमी ऐरीले हामीलाई एउटा कुरा दोहोर्याए। भन्दै थिए, ‘नेपाल युवा पुस्तालाई भन्दिनुहोला उद्यमका लागि सीप र जाँगर छ भने पैसा कमाउन कठिन कुरा होइन।’