काठमाडौं- नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको २७ प्रतिशत काम सम्पन्न भएको छ। हालसम्म मुख्य सुरुङमार्ग पूर्व र पश्चिमतर्फबाट कुल ७ सय ३६ मिटर खनिएको छ। २ किलोमिटर ६८८ मिटर खन्नुपर्ने सुरुङमा अब १ किलोमिटर ९५२ मिटर मुख्य सुरुङ खन्न बाँकी छ।
आयोजनामा २ हजार ५ सय ५७ मिटर खन्नुपर्ने इभ्याकुएसन टनेलमध्ये १ किलोमिटर २७६ मिटर खनिएको छ। मुख्य सुरुङमार्गमा दुर्घटना भए वा अन्य कारणले जाम भएको अवस्थामा खुलाउनका लागि बनाइने सुरुङलाई इभ्याकुएसन टनेल भनिन्छ। आयोजनाका अनुसार हालसम्म मुख्य सुरुङमार्ग, इभ्याकुएसन सुरुङ, एप्रोच पुल तथा सडकको भौतिक प्रगति २७ प्रतिशत पुगे पनि वित्तीय प्रगति भने ३७ प्रतिशत पुगेको छ। यसमा अग्रिम भुक्तानीसमेत समावेश छ।
सुरुङमार्गमा इभ्याकुएसन र मुख्य गरी ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नपर्ने छ। यस्तै १ सय २८ मिटर क्रस प्यासेज बनाउनुपर्नेमा ४३ मिटर बनाइएको छ।
सुरुङमार्गलाई मुख्य सडकसँग जोड्नका लागि आयोजनाले २ ओटा अण्डरपास, ४ ओटा कलभर्ट, १ ओभरपास, ३ ओटा पुल, १ फ्लाईओभर पनि निर्माण गर्नुपर्ने छ। फ्लाईओभरका लागि जग्गा अधिग्रहणको काम भइरहेको आयोजनाले जानकारी दिएको छ।