धनगढी- सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस संक्रमण देखिएको छ। बिहीबार एकैदिन १२० जनामा संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ।
गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा संक्रमण पुष्टि हुँदा पाँच निको भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ।