शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नौ हजार श्रमिक कोरिया जाने बाटो खुल्यो, सातामा दुई सय जना पठाइँदै

नौ हजार श्रमिक कोरिया जाने बाटो खुल्यो, सातामा दुई सय जना पठाइँदै

अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ। नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं।
 |  शनिबार, पुस २४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शनिबार, पुस २४, २०७८

काठमाडौं– दुई वर्षदेखि प्रतीक्षामा बसेका नेपाली कामदार दक्षिण कोरिया जान थालेका छन्। कोरोना महामारीका कारण २०७६ फागुनदेखि कोरियामा श्रमिक जान पाएका थिएनन्। कोरोनाको कहर कम भएसँगै कोरिया सरकारले नयाँ कामदार लैजान सुरु गरेको हो। प्रतिबद्ध (पहिला गएर फर्किएका) कामदारलाई भने गत कात्तिकदेखि जान थालेका थिए। कोरियाले केही दिनअघिदेखि नयाँ कामदारलाई प्रवेश अनुमति दिएको छ। 

triton college

कोरियाले अब प्रत्येक साता श्रमिक लैजाने प्रतिबद्धता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। सोहीअनुसार दुई वटा उडानमार्फत सयभन्दा बढी श्रमिक नयाँ श्रम भिसामा कोरिया पुगिसकेका छन्। विभागका अनुसार अवस्था सामान्य रहेका सातामा करिब दुई सयजना श्रमिक कोरिया जान पाउनेछन्। 

२० महिनापछि नेपाली श्रमिक कोरिया जाने प्रक्रिया १० कात्तिकबाट सुरु भएको थियो। पहिलो चरणमा ४८ जना कमिटेड श्रमिक कोरिया उडेका थिए। दोस्रो चरणमा मंसिर ८ गते ८१ जना कोरिया गए। तेस्रो चरणमा मंसिर २७ गते १ सय २२ जना श्रमिक कोरिया पुगेका छन्। तीमध्ये नयाँ ४६ र ७६ जना कमिटेड छन्। चौथो चरणमा पुस ७ गते १ सय ३८ जना, जसमा कमिटेड ४९ र नयाँ कामदार ८९ जना र पाँचौं चरणमा पुस १९ गते १६९ कोरिया उडेका छन्। जसमा कमिटेड ९६ र नयाँ कामदार ७३ जना नेपाली कामदार कोरिया उडेका छन्।

अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ। नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं।

कोरियामा पाँच वर्षसम्म एउटै रोजगारदाताकहाँ काम गरेर फेरि त्यहीं काम गर्न जाने गरी फर्किएका कामदारलाई प्रतिबद्ध (कमिटेड) श्रमिक र भाषा परीक्षा पास गरेर श्रम कारर कुरिरहेकालाई ‘नियमित श्रमिक’ भन्ने गरिन्छ।

नियमित र प्रतिबद्ध गरेका करिब नौ हजार जना श्रमिक कोरिया जान पाउने आसमा पालो कुरिरहेका छन्। कोरियाले मंसिरदेखि नयाँ श्रमिकलाई लैजान थालेको विभागका महानिर्देशक दीपक काफ्लेले बताए। ‘अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ। नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं’, उनले भने। 

corrent noodles
Metro Mart

'जान पाइने भएपछि खुसी लागेको छ'

पाचँथरकी दीपा लिम्बु २०१८ मा ईपीएस पास गरिन्। कोरिया जाने प्रक्रिया हुँदाहुँदै कोरानाका कारण कोरिया बन्द भयो। उनलाई लागेको थियो अब कोरिया जान पाइँदैन होला? किनकि कोरिया भाषा पास गरेको दुई वर्षभित्र जान पाइयो भने मात्रै कोरिया जान पाइन्छ। उनले कोरिया भाषा पास गरेको दुई वर्ष पूरा भइसकेका कारण पनि उनलाई आस हराएको थियो। उनी भन्छिन्, ‘कोरिया भाषा पास गरेकाले १ लाखमा कोरिया जान पाइन्थ्यो अहिले टिकट भाडा महँगो भएछ, कोरोना बिमा, सबै गर्दा पाँच लाख लाग्ने रहेछ महँगोमा परियो। तर जान पाइने भइयो यसैमा खुसी छु।’

गोरखाका राम थापा मगरले २०१८ मा ईपीएस पास गरिसकेका थिए। कोरोनापछि कोरिया जाने प्रक्रिया पुनः सुरु भएसँगै उनी पनि कोरिया जाने प्रक्रियामा छन्। ‘लामो प्रतीक्षापछि कोरिया जान पाइने करिब निश्चित भएको छ। निकै खुसी लागेको छ। कोरिया जान पाइँदैन कि भन्ने थियो तर, कोरिया जान सीसीभी आएकोमा खुसी लागेको छ’, उनले भने। 

कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन। प्रतीक्षा सूचीमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि प्रक्रिया, स्वास्थ्य र चारित्रिक मापदण्ड पूरा गरेर मात्र जान पाइन्छ। अझै पनि प्रतीक्षा सूचीमा रहेका थुप्रै श्रमिकको श्रम सम्झौता आएको छैन।

कोरियामा आम्दानी पनि राम्रो हुने भएकाले प्रतिवर्ष करिब एक लाख युवा कोरिया जान भाषा परीक्षाको तयारी गर्छन्। सन् २०२० का लागि भएको भाषा परीक्षा दिएका ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए। त्यसपछि भाषा परीक्षा रोकिएको छ। कोरिया सरकारकै निगरानीमा हुने भाषा परीक्षाको नतिजा उसैले प्रकाशित गर्ने भएकाले यसको निष्पक्षतामा नेपाली युवाको विश्वास कायम छ।

रोजगारीका लागि कोरिया गएकामध्ये हालसम्म १ सय १३ जनाले ज्यान गुमाएका छन्। तिनमा एक महिला र १ सय २२ जना पुरुष छन्। काम गर्ने क्रममा अंगभंग हुनेको संख्या २३ जना रहेको विभागको तथ्यांक छ। 

२०१८ मा ईपीएस पास गरेकी भाषा परीक्षादेखि कोरिया जाने समयसम्म पाँच वर्ष समय लाग्ने कामदारहरू बताउँछन्। कोरियन भाषा पास गरिसकेपछि छनोट भएका कामदारले मेडिकल शुल्क ७ हजार, ट्रेनिङ शुल्क ७ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। भिसा शुल्क ५ हजार, परीक्षा शुल्क २७ सय तथा हवाई टिकट खर्च ७० हजार रुपैयाँ र बिमाबापत १० हजार रुपैयाँ खर्च गर्नुपर्छ। 

कोरियामा ३३ हजार नेपाली कार्यरत

ईपीएसमार्फत हालसम्म ६६ हजार ७२६ जना नेपाली कामदार कोरिया गएको विभागको तथ्यांक छ।  ३३ हजारभन्दा धेरै नेपाली कोरियामा कार्यरत छन्। कोरियाले उत्पादन र कृषि क्षेत्रमा कामदार लैजाने गरेको छ। हालसम्म ५ लाख ८९ हजार ६ सय १८ जनाले कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका छन्। त्यसमध्ये ७७ हजार ३ सय ७७ जनाले भाषा परीक्षा पास गरेका छन्। 

कोरियामा नेपालीले मासिक १ लाख ६० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गर्छन्। कोरियाबाट अधिकांश रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिने गर्छ। दक्षिण कोरियाबाट वार्षिक ३३ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने तथ्यांक छ। 

कुन सालमा कति कोरिया पुगे 

नेपालबाट कोरियाले ईपीएसमार्फत २००८ देखि नेपाली कामदार लैजान सुरु गरेको हो। पहिलो वर्ष  २ हजार ८ सय १४ नेपाली कोरिया गएका थिए । सन् २००९ मा १ हजार ९ सय ११ कोरिया गए। २०१० मा २ हजार ३ सय ३९ र २०११ मा ३ हजार ९ सय ८३ कामदार गएका थिए।

यस्तै २०१२ मा ६ हजार ३ सय ३२, २०१३ मा ५ हजार ५६, २०१४ मा ६ हजार २८ र २०१५ मा ५ हजार ८ सय ६६ नेपाली श्रमिक कोरिया गएको तथ्यांक छ।

२०१६ मा  ८ हजार ७९, २०१७ मा ७ हजार ८ सय, २०१८ मा ८ हजार ५ सय ११, २०१९ मा ७ हजार १ सय सय र २०२० मा १ हजार २७ जना कोरिया गएका छन्। 

रोजगारीका लागि कोरिया गएकामध्ये हालसम्म १ सय १३ जनाले ज्यान गुमाएका छन्। तिनमा एक महिला र १ सय २२ जना पुरुष छन्। काम गर्ने क्रममा अंगभंग हुनेको संख्या २३ जना रहेको विभागको तथ्यांक छ।

प्रकाशित: Jan 08, 2022| 08:41 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्