धनगढी- सुदूरपश्चिम प्रदेशमा बुधबार एकैदिन ५५ मा सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १२६ को नमूना परीक्षण गर्दा ५५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआरमार्फत नौ र एन्टीजेनमार्फत ४६ मा पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा सात र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार्फत कैलालीका ३३ र कञ्चनपुरका १३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि मङ्गलबार यस प्रदेशमा ४० मा सङ्क्रमण पुष्टि हुँदा चारजना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ।