शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माणमा देउवापत्नी र पूर्वमन्त्री भट्टराई कनेक्सन?

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माणमा देउवापत्नी र पूर्वमन्त्री भट्टराई कनेक्सन?

डा आरजु बतास समूहको सल्लाहकार छिन्। बतासले सल्लाहकारमा उल्लेख गरेको उनको नामसहितको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै बतास ग्रुपले आफ्नो बेबसाइटबाट प्रधानमन्त्रीपत्नी डा आरजु देखिने लिंक भने नखुल्ने बताएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवा र नेकपा एमालेका नेतासमेत रहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको समेत संलग्नता भएको भन्दै विवाद सिर्जना भएको छ। ऐतिहासिक महत्वको दरबार परिसरमा रेस्टुरेन्ट निर्माण गरिहरेको कम्पनी बतास ग्रुपअन्तर्गतको उक्त ग्रुपमा प्रधानमन्त्रीपत्नी आरजु र पूर्वमन्त्री भट्टराई नै संलग्न भएको भन्दै विवादित बनेका हुन्। 

डा आरजुलाई बतास समूहले सल्लाहकार बनाएको र शक्तिको आडमा ऐतिहासिक धरोहरमा व्यापार गर्न लागेको भन्दै उक्त ग्रुपसहित डा आरजुको आलोचना भएको हो। बतासले सल्लाहकारमा उल्लेख गरेको उनको नामसहितको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै बतास ग्रुपले आफ्नो बेबसाइटबाट प्रधानमन्त्रीपत्नी डा आरजु देखिने लिंक भने नखुल्ने बताएको छ। 

बतास समूहकी सल्लाहकार आरजु राणा नै हुनुले नारायणहिटीभित्र रेस्टुरेन्ट निर्माणको स्वीकृति दिनुमा उनको पनि संलग्नता हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन्। प्रधानमन्त्रीपत्नी राणाको संलग्नता रहेको पाइएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बतास ग्रुपअन्तर्गतको बी म्यानेजमेन्टलाई निर्माण कार्य रोक्नका लागि दिइएको निर्देशनमा मन्त्रालयको 'मौखिक आदेश' भन्ने पदावली राखिएको छ। मन्त्री प्रेमबहादुर आलेलाई अप्ठेरो पर्ने भएकाले नै मन्त्रीको नाम उल्लेख नगरी मन्त्रालयको मौखिक निर्देशन भन्दै समितिले रेस्टुरेन्ट निर्माणको काममा रोक लगाएको हो। 

मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेले नारायणहिटीभित्र निर्माण भइरहेको रेस्टुरेन्ट निर्माणको काममा रोक लगाउन निर्देशन दिएपछि यो विषय चर्चामा आएको हो। 

मन्त्री ओलेले मंगलबार मन्त्रालय अन्तर्गतको समितिलाई निर्देशन दिएपछि समितिले रेस्टुरेन्ट निर्माणको काम रोक्न निर्देशन दिएको थियो।

‘नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारका कारण विवाद सिर्जना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा बी म्यानेजमेन्टलाई लेखिएको पत्रमा उल्लेख छ।

मंगलबार रेस्टुरेन्ट निर्माणको काम रोक्न निर्देशन गरिएसँगै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको पनि तीव्र आलोचना सुरु भएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रहेका भट्टराईकै पालामा बतास ग्रुपलाई नारायणहिटी दरबार परिसरभित्र रेस्टुरेन्ट बनाउन स्वीकृति दिइएको थियो।

भट्टराईकै पालामा नारायाणहिटीभित्र रेस्टुरेन्ट बनाउन अनुमति दिएको भन्दै समाजिक सञ्जालमा चर्को आलोचना भएपछि तत्कालीन पर्यटनमन्त्री भट्टराईको समाजिक सञ्जाल फेसबुकमार्फत् नै स्पष्टीकरण दिएका छन्।

आफू पर्यटनमन्त्रीमा नियुक्त हुनुभन्दाअघि नै नारायाणहिटीभित्र कफीसप बनिसकेको दाबी गरेका छन्। यद्यपि 'कफीसप' निर्माणको काम भने अहिले जारी थियो। र नै समितिले काम रोक्न निर्देशन दिएको हो। 

‘नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यससम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु। साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु,’ तत्कालीन संस्कृतिमन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहिता नरहने स्वतः स्पस्ट छ। बिना कसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु। मेरो संलग्नता रहेको भए सत्यतथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशनपत्र सार्वजनिक गर्न म चुनौती दिन्छु। स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो।’

मंगलबार फेसबुकमार्फत् आफूमन्त्री हुनुभन्दा अघि नै कफीसप बनिसकेको बताएपनि उनले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २२ माघ २०७६ मा नारायाणहिटीभित्र कफीसप बन्न सक्ने बताएका थिए। सोबाट पनि बतास ग्रुपलाई नारायाणहिटी भित्र रेस्टरेन्ट निर्माण गर्ने अनुमिति तत्कालीन पर्यटन मन्त्री भट्टराईले नै दिएको देखिन्छ। 

‘नारायणहिटी दरबारमा कफी सपसम्म हुन सक्छ,’ उनले २२  माघ २०७६ मा संसदको अन्तर्राष्ट्रिय समितिमा भनेका थिए, ‘त्यसलाई होटल रिसोर्ट भन्न नमिल्ला।’

संसदीय समितिको सो बैठकमा तत्कालीन एमालेका नेता माधवकुमार नेपालले नारायाणहिटी दरबार संग्रालयको संरक्षण हुनुपर्ने र त्यहाँ रेस्टुरेन्ट बनाउन नहुने बताएका थिए। नारायणहिटी भित्र रेस्टुरेन्ट बनाउने हल्ला चलेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यसको विरोध गरेका थिए।

प्रकाशित: Jan 05, 2022| 19:13 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्