काठमाठडौं- लगातार तीन दिन बढेको सेयर बजार बुधबार ३०.७५ अंकले घटेको छ। साताको पहिलो तीन दिन बढेको सेयर बजार चौथो दिन घटेर २६४९.२ अंकमा झरेको हो।
तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय बिन्दुमाथि नेप्से पुगेको थियो। साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो।
बुधबार नेप्से परिसूचकसँगै हाइड्रो र फाइनान्सबाहेकका सबै उपसूचक घटेका छन्। त्यस्तै ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इन्डेक्स ६.६८ अंक, फ्लोट इन्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७५ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको छ। मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो। कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ।
नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ। जसमध्ये जलविद्युत उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ।
नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ। त्यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ।
बुधबार कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।