काठमाडौं- साहित्यमा स्थापित राजन मुकारुङ गीतसंगीतमा सक्रिय हुन थालेका छन्। 'दमिनी भीर' उपन्यासका लागि २०६९ सालको मदन पुरस्कार जित्न सफल मुकारुङले किन गीतसंगीतलाई 'ड्रिम' बनाउँदै छन् त। उनी भन्छन्, ‘मेरो बाल्यकालदेखिको सपना हो गीतसंगीत।’
दर्जनौं गीतका लेखक राजनले आधा दर्जन गीतमा आफैंले संगीत दिएका छन्। उनको भर्खरै सार्वजनिक भएको गीत 'चरा' यति बेला चर्चामा छ। जसमा उनी आफैंले संगीत दिएका छन्। चराको 'थिम कथा' मुन्धुमसँग सम्बन्धित छ। राजनले यो गीत २०७७ को सुरुतिर रचना गरेका हुन्।
'चरा' को रचनागर्भ अलिक भिन्न छ। कोरोना महामारीका कारण लकडाउन थियो। लकडाउनमा मानिस पिजँडाको पन्छीजस्तै भए। घरबाट बाहिर त हेर्न पाइन्थ्यो तर हिँड्न पाइन्थेन। जिन्दगीको न्यास्रो मेट्न राजनलाई प्रिय लाग्थ्यो घरको छत। बेलाबेला घरको छतमा पुगेर बागमती र यूएन पार्क नियाल्थे। चराहरु यताउता गरिरहेको दृष्यले उनलाई चस्स छोयो। उनले सोचे– चराहरु स्वतन्त्र छन्, बिन्दास छन्। हिँडिरहने मानिसको स्वभाव घरमा खुम्चिनुपर्दाको पीडा कति दर्दनाक! चराजस्तै उड्न पाए जीवन कति सानदार हुन्थ्यो होला!’
यसैबाट जन्मियो चरा गीतको थिम।
'जाउँ कतै अब टाढा चरा बनेर..'
मुन्धुममा चरालाई यामसँग जोडिन्छ। अर्थात ऋतुसँग जोडिन्छ। चराहरु प्रकृतिसँग अत्यन्तै नजिक छन्। खोला, नाला, बन, पाखा, हिमाल पहाड तराईसँग चराहरु चिरपरिचित छन्। त्यसैले मौसमअनुसार चराहरु हिउँदमा उँधो तराईतिर झर्छन्। खेतका फाँटैफाँट डुल्छन्। खोलासँगै बग्दैबग्दै फराकिला मैदानी फाँटमा जीवन बाँच्छन्। गीतको पहिलो अन्तरामा राजन लेख्छन्– उँधै उँधै बग्छ खोला यही खोला पछ्याउँला।
मुन्धुममा उँभौली र उँधौली भनेझैं चराहरु पनि गर्मीयाममा पहाडतिर उक्लिन्छन्। त्यहाँ गुँड बनाउँछन्। परिवार बसाउँछन्। जुनी सार्छन्। मानिसको जीवन पनि यस्तै हो। गीतमा स्वतन्त्र मानिस चराको बिम्बमा खोज्छन् उनी। चराकै जस्तो मानिसको जीवनशैली देख्ने राजन भन्छन्, ‘मुन्धुमसँग सम्बन्ध राख्ने चराहरुको जस्तै मानिसको जीवन संघर्षमय छ।’
०००
'जिन्दगीको उकालोमा जुनी लेख्ने चौतारा राखौंला...।'
चौतारा भन्नेबित्तिकै हामी गाउँघर सम्झिन्छौं। गाउँले जनजीवन भेट्छौं। राई समुदायमा चौतारा बनाउने चलन छ। यो गीत लेखिसकेपछि नेपालमा चौतारा बनाउने चलन कहाँकहाँ छ भनेर उनले फेसबुकमार्फत सूचना संकलन गरे। देशैभरिका सबै जाति समुदायमा चौतारा बनाउने चलन हुने प्रतिक्रिया पाए। जसले चौतारा बनाइदियो उसको चार पुस्ताकै नाम लेख्ने गरिन्छ। राई समुदायमा चाहिँ चौतारा तीन दिन लगाएर बनाइन्छ। उनी भन्छन्, ‘चौतारा राख्दा तीन दिन अनिवार्य लगाइन्छ। नाम लेखिन्छ। मुन्धुममा यसको रीतै छ।’
‘हे नि जेठी जै जिन्दगीमा’, ‘सेवारो ज्यानै हाजिर भो’, जस्ता गीत कम्पोज गरिसकेका राजन गीतका शब्द लेख्दा गुनगुनाउँछन्। भाकाको बेसलाइन मुन्धुमसँग बढी नजिक हुन्छ। महाभारत क्षेत्रमा बस्ने मान्छे जो मुन्धुमसँग सरोकार राख्छन्। राईले मात्रै मुन्धुम भने पनि या नभने पनि प्रकृतिलाई पूजा गर्ने परम्पराचाहिँ हरेक जातिमा रहेको बताउँछन् उनी। त्यसैले चरा गीतमा उनी प्रकृतिकै बिम्ब बोल्छन्।
गीत कम्पोज गर्दा उनले धेरै किसिमको मेलोडी बनाए। तर, चित्त बुझेन। टुङ्ना र सेलोको थोरैथोरै बिट खेलेको बताउने राजन लोकजीवनलाई छोएर संगीत गर्नुपर्ने जोड गर्छन्। गीत तयार भइसकेपछि उनले डमी बनाए। डमी गीतलाई उनले गायक राजेश पायल राईलाई पठाए। राजेशले गीत सुनेपछि अलिकति मधुरो अर्थात् ‘लो स्केल’ रहेको सुझाव दिए। पछि स्केल बढाइयो।
राजनसँग दुई दर्जन गीतको अडियो छ। आधा दर्जन गीतको भिडियो बन्ने तयारीमा रहेको बताउँछन्। ती सबै गीत आइसकेपछि नेपाली सांगीतिक क्षेत्रमा राजनको अर्को छवि देखिनेछ। उनी भन्छन्, ‘अहो! यो मान्छे त संगीत पनि गर्दोरहेछ भन्लान्।’
गीतसंगीत मौलिक हुनुपर्नेमा उनले बहस चलाउँदै आएका छन्। ‘खै नेपाली संगीत?’ शीर्षकमा राष्ट्रिय दैनिकमा उनले लेख लेखेका थिए। यद्यपि, चरा गीतको लय मुन्धुममा आधारित भए पनि संरचना भने छैन। अर्थात् उनी थिम संगीतचाहिँ नेपाली लोकसंस्कृति झल्कने खालको हुनुपर्नेमा जोड दिन्छन्। उनी चल्तीका संरचनाबाट एकदम टाढा हुनचाहिँ सकेका छैनन्। भन्छन्, ‘यो गीतले सुन्दै आएको संचरनालाई पनि पछ्याएको छ।’
गीतसंगीत लोकजीवनमा व्यक्त गर्ने भावनाबाट प्रेरित हुनुपर्नेमा उनको जोड छ। उनी भन्छन्, ‘यो चाहिँ हाम्रो गीत हो भन्ने हुन सक्नुपर्छ। दर्शकश्रोताले पनि मौलिक सजिलै चिन्न सकून्।’ लोकजीवनमा भेटिने गीतसंगीतबाटै विश्वको मन जित्न सक्ने उनको बुझाइ छ।
०००
गीत शब्दले मात्रै तयार हुँदैन। गीत पूर्ण हुन संगीत, एरेन्ज, बाजा, गायन इत्यादिको संयोजन हुनैपर्छ। उनी चरा गीत पूर्ण रुपमा तयार हुनुको किस्सा सुनाउँछन्।
२०२१ को कोपा अमेरिका खेलको अन्तिमतिर। राजन ब्राजिलका पक्षमा थिए र चरा गीत गाउने गायिका सीता सिंगक लिम्बुका पति हङकङबाट अर्जेन्टिनाका पक्षमा थिए। सीताका पति र राजनले खेलको बारेमा च्याटमा कुराकानी पनि गर्थे। यस्तैमा च्याटबाट दुवैले बाजी राखे। ब्राजिलले जित्यो भने सीताका पतिले गीतमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने। अर्जेन्टिनाले जित्यो भने राजनले नि:शुल्क गीतसंगीत उपलब्ध गराउनुपर्ने सर्त थियो।
ब्राजिलले हार्यो। राजन गीतसंगीत नि:शुल्क उपलब्ध गराउने वचन पूरा गर्नतिर लागे। गायिका सीता र राजेशले गीत गाइदिए। गीत तयार पारिसकेपछि राजनले अभिनेता नाजिर हुसेनलाई पठाइदिए। नाजिरले गीत मन पराएपछि आफैंले मोडलिङ गर्ने वचन दिए।
टिम त बन्यो तर खर्च गर्ने कसले? किनकि गीत बनाउन भन्दा भिडियो बनाउन खर्च बढी छ। ‘लिरिकल’ भिडियो मात्रै युट्युबमा अपलोड गर्दा भ्युज आउँदैन। भिडियो पनि उस्तै राम्रो हुनुपर्छ। ‘म्युजिक महँगो भयो,’ उनी भन्छन्, ‘मसँग दुई दर्जन अडियो छ तर भिडियो बनाउन सकिने अवस्था छैन, आफैं सुन्दै बस्ने हो।’
उनी भिडियो निर्माणका कथा जोड्छन्। गायिका सीता हङकङ फर्किनुपर्ने समय नजिकिँदै थियो। ‘लिप सिन’ दिइहाल्नुपर्ने थियो गायकगायिकाले। केही फुटेज खिच्ने कुरा भयो। गायकगायिकाको फुटेज खिच्न उनीहरु चोभार पुगे। साँझको समयमा भिडियो खिचियो। गीत गाउँदै गायकगायिका काँसघारीमा हिँडिरहेका दृश्य खिचेर आएको साँझ उनलाई चलचित्र निर्देशक रामबाबु गुरुङको फोन आयो। निर्देशक गुरुङले चरा गीतको कुरा कोट्याए। गीत उनले पठाइदिए। 'कबड्डी ४' को छायांकन मिति नजिकिँदै गरेका बेला 'चरा' गीत 'कबड्डी ४' मा राख्ने जानकारी निर्देशक गुरुङले दिए।
गीतको सम्पुर्ण खर्च कबड्डी ४ को टिमले व्यहोरेर गीत लिन तयार भयो। तर राजनले गीतलाई नाजिरको जिम्मा लगाइसकेका थिए। नाजिरले गीत अभिनय गर्ने भनेपछि निर्देशक पवित्रा राईले भिडियो कथाको स्क्रिप्ट तयार पारिन्। सुटिङमा जाने तयारी भयो। तर कलाकारहरुको समय अभावले मिति सर्दै गयो। यस्तैमा राजनको पनि समय मिलेन। यसरी महिना दिन पछाडि पारेर सुटिङमा जान तयार भएको टिम अचानक रोकिनुपर्यो। कारण थियो– रंगकर्मी किरण चाम्लिङ राईले निर्देशन गरेको म्युजिक भिडियो 'तारे भीर'।
चराका लागि बनाएको कथा र तारे भीरमा आएको भिडियो कथाको थिम एउटै भयो। अन्तिममा कथा फेर्नुपर्यो। गीतलाई सामान्य कथामा निर्माण गरियो। पछ्यौरालाई मुख्य बिम्ब बनाएर गीत छायांकन गरियो। गीतमा लेखक राजन पनि देखिन्छन्। अभिनयमा खासै रुचि नभएका राजन निर्देशक पवित्रा राईले ‘प्रप’का रुपमा सहयोग गरेको मान्छन्। भन्छन्, ‘म प्रपका रुपमा देखिएको हुँ, कलाकारका रुपमा होइन।’
०००
मुकारुङ परिवार गीतसंगीत क्षेत्रमा सक्रियता छन्। १२–१३ वर्षको कुनै मुकारुङले गीत गाउन या बजाउन जानेन भने त्यसमाथि शंका गर्नुपर्ने बताउँछन् उनी। उनका दुई छोरा विशेष गितार बजाउँछन्। राजनका माल्दाइ पेसाले वकिल भए पनि फाइन गितारिस्ट हुन्। ठूला दाजु कवि श्रवण मुकारुङ पनि गीतसंगीतमै क्रियाशील छन्।
राजनलाई पनि कुनै समय गायक बन्ने उत्कट अभिलाषा थियो। गाउँमा हुँदा उनी गीति नाटकमा आफ्नो स्वर दिन्थे। काठमाडौं आएर उनी संगीतको कक्षा त लिएनन् तर संगीतमाथि लेखिएको किताबचाहिँ पढ्न छुटाउँदैनथे। अध्ययनसँगै उनको सांगीतिक यात्रा पछाडि पर्दै गयो भने साहित्य यात्रा उचाइतिर लाग्यो। लेखनमा जम्दै गए।
अडियोको जमानामा पनि उनले गीत नकोरेका भने होइनन्। पहिलो गीत पारस मुकारुङको संगीत र राजेश पायल राईको स्वरमा आएको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि युद्धमा घाइते भएको पात्रको कथा थियो गीतमा। ‘बैसाखी छ साथी यही टेक्दै आएँ’, बोलको गीत लेखेका थिए। जसको भिडियो बन्न सकेन। त्यसपछि केही जागरण गीत पनि लेखे उनले।
म्युजिक भिडियोमा आएको गीतचाहिँ ‘हुरुक्कै भएँ म’ हो। भिडियोसँगै आएको ‘हुरुक्कै भएँ म’ गीतले उनलाई गीतकारका रुपमा चिनायो। दिनेश काजी वान्तवाको संगीत र राजेश पायल राईको स्वरमा रहेको यो गीतको भिडियो बनेर बजारमा पुगेको पहिलो गीत मान्छन् उनी। भन्छन्, ‘भिडियोमा आएको पहिलो गीत हो, 'हुरुक्कै भएँ म'। अहिले चरा गीतमाथिको कमेन्टमा ‘हुरुक्कै भएँ म’ लेखिरहेका छन्।’
०००
उनको सांगीतिक यात्रामा गायक राजेश पायल राई कहीँ छुटेका छैनन्। आफूले बनाएका गीतमा कहीँ न कहीँ राजेशको स्वर खोज्छन्। गीत लेखिसकेपछि कसले गाउँछ होला भन्ने कुरा चलिहाल्छ। उनको मनमा राजेश ‘क्लिक’ हुन्छन्। लामो समयदेखि सहकार्य गर्दै आएका पनि छन् दुवैले। उनी भन्छन्, ‘मैले जति पनि गीत मेरो समुदाय र मेरो जीवनबाट प्रभावित भएर गरेको छु र यस्ता गीतलाई राजेशले न्याय गर्छन् भन्ने लाग्छ। र हामी दौंतरी पनि हौं।’
उनका गीतसंगीत राई समुदायको लोकजीवनबाट प्रभावित हुने भएकाले पनि न्याय गर्ने स्रष्टा खोज्छन्। अर्को कुरा ‘टिम वर्क’ पनि मान्छन्। टिममा पनि उनी कहीँ न कहीँ राईकै बाहुल्य भेट्छन्। ‘हुरुक्कै भएँ म’ बोलको गीतलाई सिंगै राई दाजुभाइले गरेको किस्सा सुनाउँछन्, ‘गीत लेख्ने म, संगीत गर्ने दिनेश काजी वान्तवा, गायक राजेश पायल राई, भिडियो निर्देशन गर्ने किरण चाम्लिङ राई, भिडियोमा खेल्ने दयाहाङ राई र एलिसा राई।’
यस्तो हुुनुको कारण गीतले खोजेको पात्र र साथीभाइको सम्बन्ध ठान्छन् उनी। यतिमात्रै होइन राजनसँग राजेश नजिकिनुको कारण अभियान ठान्छन्। नेपाली साहित्यमा हाङयुग अज्ञात, कवि उपेन्द्र सुब्बा र राजनले 'सिर्जनशील अराजकता' नामको साहित्यिक आन्दोलन नै चलाएका थिए। भन्छन्, ‘हाम्रो अभियानप्रति राजेश सद्भाव राख्छन् र उनले अभियानलाई बुझेका पनि छन्।’