काठमाडौं- चालु आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७४÷७५ भित्र सरकारले १२ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ७९.१ प्रतिशत मात्र खर्च गर्न सकेको हो।
अर्थमन्त्रालय महालेखा नियन्त्रण कार्यालयको तथ्याकं अनुसार अझै २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुन बाँकी नै छ। यदि सरकारले लक्ष्य अनुसार गर्ने हो भने ६७ अर्ब १६ लाख रुपैयाँ दैनिक खर्च गर्नु पर्ने देखिन्छ।
यद्यपि गएको हप्ताको तथ्याङ्क अनुसार सरकारले असारे खर्च गरिरहँदा पनि दैनिक १ अर्ब ५३ करोड रुपैदेखि ११ अर्ब ८९ करोड रुपैयाँसम्म मात्रै खर्च गर्न सेकेको देखिएको छ।
बिहीबारसम्मको तथ्याङ्कअनुसार चालु खर्च ८ खर्ब ३ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ६ खर्ब ८५ अर्ब रुपैयाँ खर्च भएको छ। त्यस्तै विकास कार्यका लागि पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा २ खर्ब १८ अर्ब रुपैयाँ खर्च भएको छ।
वित्तिय व्यवस्थापनको लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेकोमा १ खर्ब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। तथ्याङ्क अनुसार चालुतर्फ अहिलेसम्म ८५.३२, विकास कार्यका लागि पुँजीगततर्फ ६५.२० र वित्तीय व्यवस्थापनतर्फ ७५.८८ प्रतिशत मात्रै खर्च भएको छ।
आर्थिक वर्षको अन्त्यतिर बजेट बढी निकास हुने र असारे विकासको रुपमा जथाभावि खर्च गरेर सिध्याउने प्रवृत्ति विगत वर्षहरु जस्तै दोहोरिएको छ। छुट्याएको बजेट खर्च गर्न हिउँदे बजेट भाषण तथा निकासी गरेपनि ढुलासुस्ती प्रवृति सुधार हुन सकेको देखिदैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४