काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेको मौखिक आदेशपछि नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट निर्माण कार्य रोकिएको छ।
नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बी म्यानेजमेन्ट प्रालिलाई संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणको कार्य रोक्न पत्र पठाएको छ।
समिति र बतास ग्रुपअन्तर्गतको उक्त कम्पनीबीच संग्रहालयभित्र रेष्टुरेन्ट निर्माण तथा सञ्चालनको सम्झौता भएको थियो। त्यसको तीव्र विरोध भएपछि तत्काल निर्माण रोक्न पर्यटनमन्त्री आलेको मौखिक आदेश दिएका थिए।
उक्त आदेशपछि समिति पछि हटेको हो। समितिले भनेको छ, ‘समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सिर्जना भएकोले मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्नुहुन जानकारी गराइन्छ।’