काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दिउँसो खेल थियो, हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबको। खेलमा कहिले हिमालयन शेर्पा क्लबले दबाब बनाउँथ्यो कहिले सातादोबाटोले।
पछिल्ला केही खेलमा सातदोबाटोले कमजोर प्रदर्शन गरिरहेको छ। उसले राम्रो नतिजा पनि निकाल्न सकेको छैन। सुरवाती चरणमा शीर्षस्थानमा देखिने सातदोबाटो चौथो चरणपछि तालिकाको माथितिर देखिन छोडेको छ।
त्यसको ठिक विपरित नतिजाका साथ देखिएको क्लब हो, हिमालयन शेर्पा क्लब। यद्यपि सोमबार दिउँसो दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले हिमालयन शेर्पा क्लबलाई धेरै समय दबाबमा राख्न भने सफल भयो। दबाबबीच खेलको इन्ज्युरी समयमा हिमायलयन शेर्पा क्लबका मुतम्बी पिस्टोन भुनाईलाई सातदोबाटोका गोलरक्षक अभिषेक बरालले पेनाल्टी बक्सभित्रै लडाए।
त्यो समयमा शेर्पा क्लब सातदोबाटोमाथि १–० गोलले अघि थियो।
पोस्ट नजिकैको टचलाइनमा बसिरहेका शेर्पा क्लब सबैले लडाएको दृष्य मजाले देखे। प्रशिक्षक युगल किशोर राईसँगै अफिसियल पेनाल्टीको अपिलमा सकेन्ड रेफ्री प्रकाश भुजलको वरिपरी पुगेर दैडिरहे। किनभने रेफ्री भुजेल त्यसलाई वेवास्ता गर्दै दौडिरहेका थिए।
आक्रोशित मुद्रामा राई रेफ्रीसँग पेनाल्टीको अपिल गरिरहेका थिए। तर सेकेन्ड रेफ्री भुजेल हाँसेर आफ्नै काममा लागे। ‘त्यो हाँसोले के संकेत गरेको हो?’ नाटकीय खेलमा प्रश्न जायज छ।
सामान्य मुद्रामा खेलपछिको कन्फेरेन्समा देखिएका राईले भने, ‘अलिकती रेस्पेक्ट भएन जस्तो लागिरहेको छ यो फुटबलमा। मैदान पनि खत्तम भइसकेको छ। यो मैदानको विषयमा पनि सिरियस हुनुपर्छ जस्तो लाग्छ।’
उनले थपे, ‘यो कुरा भन्न मिल्छ वा मिल्दैन, तर क्लबले यत्रो धेरै लगानी गरेको हुन्छ। हामीले त्यस्तो खाले– विपक्षीले पनि पेनाल्टी पायो, हामीले पनि अघि त पायौँ। तर कमेन्ट गर्दा लाइन्समेन हाँस्नुभयो मलाई एकदमै डिस्रेस्पेक्ट(अनादर) लाग्यो।’
उनले अहिलेसम्म रेफ्रीको विरोध गरेको र दोष नदिएको भन्दै यी कुरा मिडियासामु व्यक्त गरे। ‘हामीलाई रेस्पेक्ट चाहिन्छ जस्तो लाग्छ,’ उनले थपे, ‘त्यो समयमा त हामीले पेनाल्टी पाएनौँ त्यो आफ्नो ठाउँमा छ। तर रेस्पेक्ट चाहिँ चाहिन्छ नि।’
त्यसअघि पहिलो हाफको ४२ औं मिनेटमा सातदोबाटोका पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङमाथि फउल गरे। शेर्पाले पेनाल्टीको अवसर पायो। मैदानमा घाइते भएर लडेका उनलाई उपचारका लागि दुवै फिजियो त्यहाँ पुगे। उपचारको क्रम लामो बनेपछि रेफ्री प्रज्वल श्रेत्रीले बाहिर जान अनुरोध गरे।
पेनाल्टीको सदुपयोग गर्दै शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गरे। त्यसपछि थपिएको सात मिनेटमा थप गोल भएन।
खेलको ८० औं मिनेटमा सातोबाटोको पोस्ट नजिकै मार्टिन्स एड्लेफी सिलो एनजंगा र अमृत श्रेष्ठ जुध्न पुगे। त्यो जुधाई इन्टेन्सनल थियो वा अकस्मात् खेलाडी नै जानुन्। त्यस विषयमा दुई विदेशी खेलाडीले रेफ्रीलाई गुनासो गरे। डिफेन्डर पिटर सेगुनले एक मिनेटसम्म रेफ्रीलाई पछ्याउँदै आक्रोश व्यक्त गरेपछि उनले त्यो अपिल अनावश्यक ठहर गर्दै रेफ्री क्षेत्रीले पहेँलो कार्ड देखाए।
त्यसपछि मार्टिन्स कोयोदे अजयीले पनि आनावश्यक गुनासो गरेको ठहर रेफ्री क्षेत्रीले पहेँलो कार्ड देखाएर गरे। यो कार्डसँगै मार्टिनले लिगको आठौं चरणको खेल भने गुमाएका छन्। यता मार्टिनले कार्ड पाउनुअघि नै एनजंगा उठेर रेफ्रीसँग ‘डिस्कस’मा पुगिसकेका थिए।
श्रेष्ठ भने उपचारपछि मात्र मैदान छिरे। शेर्पाले पेनाल्टी नपाएको क्षणको चार मिनेटपछि सातदोबाटोले पेनाल्टी पायो। पेनाल्टी पाउने तिने एनजंगा थिए। जीवन गुरुङसँग जुदेपछि उनी मैदानमा लडे। रेफ्रीले ढिलो नगरी सातदोबाटोलाई पेनाल्टी दिए।
पेनाल्टीको अवसरमा बल प्रहार गर्ने अधिकार पनि मिडफिल्डर एनजंगाले नै पाए। सातदोबाटोको सर्वाधिक गोलकर्ता मार्टिन अजयी र फरवार्ड सुशिल राई हुँदाहुँदै एनजंगाले पेनाल्टीको अवसर पाए। यस खेलअघि दुई खेल खेलेका उनीले गोल गर्न सकेका छैनन्।
उनले पेनाल्टी गोलकिपर उभिएकै पोजिसनमा प्रहार गरे। सातदोबाटोले बराबरी गर्ने सुनौलो अवसर गुमायो। पेनाल्टीलगत्तै खेल सकियो।
‘उसले कमब्याक राम्रै गरेको हो। पेनाल्टीको प्रहार राम्रो थियो तर हिमायनको गोलकिपर पनि राम्रो परेकाले गोल भएन,’ सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले भने।
लिगमा सातादोबाटो युथ क्लब आठ अंकका साथ आठौं स्थानमा छ भने ११ अंक बनाएको हिमालनय शेर्पा पाँचौ स्थानमा छ।
खेलपछि पत्रकार सम्मेलनमा आजको खेल दबाबमा खेलेको हिमायनल शेर्पाका प्रशिक्षक राईले बताएका छन्। यद्यपि आजको खेलमा तीन अंक पाएकाले उनी खुसी छन्। खेलमा ओपन प्लेमा गोलका अवसर सिर्जना भए तर गोल भएन।