काठमाडौं - विवादको लामो शृंखलापछि सोमबारबाट कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भयो। प्रशिक्षणअघि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सबै खेलाडीको समस्या बुझेको बताएका थिए। उनले पत्रकारसामु सबैको समस्या बुझेको र बन्द प्रशिक्षणमा खेलाडी सहभागी हुने बताएका थिए।
खेलाडीहरु बन्द प्रशिाक्षणमा आएनन भने नि ? भन्ने प्रश्नको जवाफमा उनले भनेका थिए, ‘मलाई लाग्छ त्यस्तो हुँदैन।’ तर त्यस्तै भयो। क्यानले शनिबार साँझसम्म रिपोर्टिङ गर्न र आइतबारबाट प्रशिक्षण सुरु गर्ने तालिका बनाएको थियो। तर पुबुदुले भने विपरीत १२ खेलाडीले रिपोर्टिङ नै गरेनन्।
त्यसैले पुबुदुको खेलाडीप्रतिको बुझाइको सुरुआति पाइलामै ठेस भने लागेको छ। यद्यपि क्यानले आइतबार अपरान्हमा सिनियर खेलाडी ज्ञानेन्द्र मल्लसँग बैठक गर्यो। क्यान र खेलाडीबीच लामो समय पत्रबाट भएको कुराकानीलाई अर्को मोड दिन त्यो बैठक निकै महत्पूर्ण रह्यो।
भलै त्यो बैठकमा भएका समझदारीलाई पूर्णता दिन क्यानको बैठक आवश्यक छ। तर, त्यसले बन्द प्रशिक्षणको असहज वातावरणलाई सहज बनाइदिएको छ। तर, यो कुरा पुबुदुले भनेजस्तै भयो। नेपाल फर्किएपछि उनले भनेको पहिलो कुरा थियो, ‘बन्द कोठामा सबै बसेर छलफल गरे समाधान हुन्छ।’ भयो पनि त्यस्तै। त्यसैले आजबाट कीर्तिपुर मैदानमा खेलाडीले अभ्यास गर्ने वातावरण सुरु भएको छ।
तर, सबै खेलाडीको पीसीआर रिपोर्ट नहुँदा उनीहरु प्रशिक्षणमा भने पुगेका छैनन्। ‘कप्तानसँग सहमति भइसकेको छ। क्यान बोर्डले गरेको निर्णय म मान्छु भनेर ज्ञानेन्द्रले भन्नुभएको छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने। अध्यक्ष चन्दसहित कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच आइतबार छलफल भएको थियो।
त्यहि छलफलपछि खेलाडी बन्द प्रशिक्षणमा जान राजी भए। उनले आजबाट विना अवरोध प्रशिक्षण सुरु हुने बताए। सोमबार दिउँसोसम्म २० खेलाडीले रिपोर्टिङ गरेका छन्। ३० जनामा बाँकी खेलाडीले भने पीसीआर रिपोर्ट आएपछि (आज साँझलसम्ममा) रिपोर्टिङ गर्ने भएका छन्। क्यानले खेलाडीलाई कसरी कन्भिन्स गर्यो त ? ‘यो बोर्डको निर्णयलाई म मान्छु भनेर कप्तान मल्लले भन्नुभएको छ,’ ज्ञानेन्द्रको भनाई उल्लेख गर्दै अध्यक्ष चन्द भन्छन्।
तत्कालका लागि प्रशिक्षण सुरु भए पनि यो दीर्घकालीन समाधान भने होइन। आइतबार बैठकमा भएको पनि मौखिक सम्झौता मात्र हो। यसको आंशिक समाधान अबको बोर्ड बैठकल गर्नेछ।
त्यसका लागि पहिलो कुरा कारबाही परेका खेलाडीको कारबाही फिर्तास्वरुप ६ महिनाको सेन्ट्रल कन्ट्याक्टबारे निर्णय सच्याइने भएको छ। उनले भने, ‘सन् २०२२ को पहिलो ६ महिनाको ग्रेडिङमा उहाँहरुलाई पनि सेन्ट्रल कन्ट्राक्टको प्रकृयामा सहभागी गराउनका लागि आगामी बोर्ड बैठकमा निर्णय गर्ने सहमति भएको छ। हामी पुरानो निर्णयलाई सच्याउँछौं।’
विवाद सुरु भएको नै सेन्ट्रल कन्ट्र्याक्ट र ग्रेडिङको विषयलाई लिएर थियो। यो विषयमा आउने दिनमा पनि क्यानले ध्यान पुर्याउने भएको छ।
अहिले खेलाडीको माग हो - ग्रेडिङपूर्व त्यसको मापदण्डका आधाहरु पनि जानकार हुनुपर्छ। ‘कुन क्राइटेरियामा जानकारी गराउने तर त्यसलाई पारदर्शी बनाउनु पर्ने भन्ने माग राख्नुभएको छ। ग्रेडिङ पहिला कुन कुरामा गरिन्छ, त्यो जानकारी गराउनु पर्ने माग राख्नुभएको छ। अब पारदर्शी तरिकाले हामी जानकारी गराउँछौं,’ अध्यक्ष चन्दले भने।
ज्ञानेन्द्र मल्लले ग्रेडिङ गर्ने विषयमा टिम वा कप्तानसँग सरसल्लाह गर्नुपर्ने भन्दै पुष २ गते आयोजित पत्रकार सम्मेलनमा बताएका थिए। ‘पहिले ग्रेडिङ गर्दा खेलाडीसँग पनि सरसल्लाह हुन्थ्यो। तर अहिले के आधारमा ग्रेडिङको नियम तयार भएको छ। त्यो हामीलाई थाहा भएन,’ ज्ञानेन्द्रले भनेका थिए।
त्यसैले अब बन्ने ग्रेडिङको क्राइटेरियाका सन्दर्भमा छलफल गर्न क्यानले कप्तान वा टिमको प्रतिनिधिलाई पनि बोलाउने भएको छ। ‘ग्रेडिङको क्राइटेरिया बन्छ। त्यसमा उहाँहरुको पनि सरसल्लाहले क्राइटेरिया बनाइन्छ। त्यो भइसकेपछि ग्रेडिङमा को पर्छ, को पर्दैन भनेर नियमबाटै थाहा हुन्छ। अंक र प्रदर्शनको आधारमा को-को कहाँ-कहाँ फिट भयो भन्ने थाहा हुन्छ,’ अध्यक्ष चन्दले भने।
अब विवादको आंशिक समाधान भएपछि बाँकी पनि समाधान हुँदै जानेमा अध्यक्ष चन्द विश्वस्त देखिन्छन्। तर, अहिले ग्लोबल क्वालिफायर नजिक आइसकेको दबाबमा मात्र दुवै पक्ष लचिलो भएको कुरा कसैबाट छुपेको छैन।
त्यसपछि आइतबारको बैठकमा पनि मल्लले आफूलाई टी २० वा एकदिवसीय कम्तीमा पनि एकको कप्तान बनाइनु पर्ने माग गरेका छन्। त्यो कुरा क्यानले सम्बोधन गर्छ वा गर्दैन। त्यसले पनि अगाडीको अवस्था निर्धारण गर्ने देखिन्छ।
यद्यपि, सबै कुरा मिलाएर आउँदो समयमा त्रिकेटमा केन्द्रित रहने अध्यक्ष चन्द बताउँछन्। साथै उनले सन् २०२२ को क्रिकेट क्यालेन्डरमा राम्रा प्रतियोगिता रहेको र कोभिड १९ ले प्रभाव नपारेको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेमा आशावादी रहेको बताए।
उनले भने, ‘पहिलो त विश्वकपको क्वालिफायर पनि छ। त्यसपछि ट्राईसिरिज पनि छ। नेपालमै सिरिज गर्ने लक्ष्य राखेका छौं। अनि आईसीसीले के भन्छ (कोभिडको प्रभाव अनुसार) त्यसअनुसार हामीले गर्छौं। त्यसबाहेक घरेलु क्रिकेटका कार्यक्रमहरु पनि छन्।’
उनले थपे, ‘२०२२ मा एक दिवसीय टी २० का प्रतियोगिता हामी गर्छौं।’ अब नेपालले आउँदो फ्रेब्रुअरीमा हुने ग्लोबल क्वालिफायरमा समूह ए मा रहेका टिमसँगै खेल्नेछ। समूह ए मा नेपालसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, ओमन, फिलिपिन्स र यूएई रहेका छन्।
यो समूहको दोस्रो स्थानसम्म रहन सके नेपालले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछ। त्यो विश्वकपको दबाब अहिले क्यान र खेलाडी दुबैलाई छ। त्यसैले अहिले मिलेको दबाब फेब्रअरीको हुने छनोटपछि पुन बल्झिने त होइन ? यसको उत्तर कसैसँग छैन। किनभने क्यानको कारबाहीप्रति जहिल्यै असन्तुष्ट खेलाडी अहिले पनि पूर्ण खुसीसाथ मैदान फर्किन नसकेको अवस्था उनीहरुको भावभंगीबाटै झल्किन्छ।
देशका लागि खेल्न भनेर खेलाडी मैदानमा उत्रन तयार भएका छन्। तर भिन्नभिन्न विषयमा वर्षौँदेखि देखिएको मतभेद एक दिनको बैठकले समाधान भएको कुरा समर्थकले पत्याउन भने गाह्रो देखिन्छ।