काठमाडौं- अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राईमाथि हातपात भएको थियो। गीत गाइरहेको समयमा उनीमाथि हातपात भएको भिडियो भाइरल भएपछि चौतर्फी विरोध भएको थियो।
त्यसपछि आइतबार उनीमाथि आक्रमण गर्ने व्यक्तिले माफी मागेका छन्। उनले आफू राजेशपालको फ्यान रहेको बताउँदै आफूलाई रोक्न नसकेर स्टेजमा गएर पछाडिबाट अंगालो हाल्न खोज्दा हातपात गरेको जस्तो देखिएको भन्दै माफी मागेका छन्।
उनले यसले गायक राई प्रति परेको असरप्रति क्षमा याचना गरेका छन्। आयोजक बुद्ध ट्याक्स एण्ड अकाउन्टिङका पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँदा झुक्याएर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हाल्दा हातपात गरेजस्तो देखिएको बताए।
आक्रमण गर्ने व्यक्तिले माफी मागेसँगै गायक राईले आम माफी दिएको बताएका छन्। 'उहाँ बिरामी पनि हुनुहुँदो रहेछ। मानिसबाटै गल्ती हुने हो। गल्ती स्विकार्नु महानता हो। उहाँको स्वास्थ्य लाभको कामना,' राईले भनेका छन्।