बिहीबार, वैशाख २०, २०८१

यसरी निरन्तर खस्कँदैछ माओवादीको मत, महाधिवेशनबाट फर्किएला शक्ति?

‘पार्टी रुपान्तरण हुन कि प्रवृत्ति सुध्रिनु पर्छ, कि नेतृत्व बद्लिनु पर्छ। यो दुवै कुरा यो महाधिवेशनले बदल्न सकेन। त्यसैले माओवादीले नारामा भनेजस्तो यो महाधिवेशनबाट रुपान्तरण हुने गुन्जायस देख्दिनँ,’ उनले भने।
 |  आइतबार, पुस १८, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, पुस १८, २०७८

काठमाडौं- २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकल बहुमत ल्याउने दाबी गरिरहेका सुनिन्थे। जनताले भनेजस्तो संविधान बनाउनका लागि पनि माओवादीलाई दुई तिहाइ मत दिनुपर्ने कुरा उनका भाषणमा प्रायः छुट्दैनथ्यो। तर, दुर्भाग्य! माओवादीको अवस्था यति 'टिठलाग्दो' बनिदियो कि पहिलो पार्टी एकैपटक तेस्रो स्थानमा खुम्चियो। 

triton college

२०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३१ लाख ४५ हजार ५ सय १९ मत ल्याएको माओवादी २०७० मा आइपुग्दा धेरै रक्षात्मक देखियो। लगभग आधा मत गुमाएको माओवादीले दोस्रो संविधानसभाको निर्वाचनमा जम्मा १६ लाख ९ हजार १ सय ४५ मत मात्रै पायो। बहुमत ल्याउने हुंकार दिएको माओवादीले अघिल्लो चुनावमाभन्दा १५ लाख ३६ हजार ३ सय ७४ मत गुमाएको थियो। २०६४ मा प्रत्यक्षतर्फ १२० सिटमा विजयी भएको माओवादी २०७० मा २६ सिटमा खुम्चियो। 

२०७० मा समानुपातिकतर्फ पनि उस्तै कमजोर देखियो माओवादीको मत। लोकप्रिय मत/पार्टीको मत भनेरसमेत चिनिने समानुपातिकमा २०६४ मा ३१ लाख ४४ हजार २ सय ४ मत ल्याएको माओवादी २०७० मा १७ लाख ४ हजार ४ सय ७८ मत गुमाउँदै जम्मा १४ लाख ३९ हजार ७ सय २६ मतमा खुम्चियो। 

२०७० मा पहिलो दल बनेको कांग्रेसले २५.५५ प्रतिशत लोकप्रिय मत ल्याउँदा तेस्रो स्थानमा खुम्चिएको माओवादीले १५.२१ प्रतिशत मत पायो। यो जनमतले उसको लोकप्रियता कसरी ह्वात्तै घटेको मात्रै देखाएन, माओवादीप्रतिको निराशासमेत दर्शाउथ्यो।  

माओवादी मतको आरोलो यात्रा यतिमै सीमित भएन। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा २०७४ को निर्वाचनमा मतदाता संख्या ३२ लाख ८० हजार ७३ ले बढेका थिए। २०७० मा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मतदाता थिए भने २०७४ मा मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ पुग्यो। तर, मतदाता संख्या बढिरहँदा माओवादीको मत भने घटिरह्यो। 

corrent noodles
Metro Mart

२०७० को निर्वाचनमा प्रत्यक्षतर्फ १६ लाख ९ हजार १ सय ४५ मत ल्याएको माओवादीले संविधान जारी गरेपछिको पहिलो निर्वाचन (२०७४) मा १५ लाख १० हजार ७ सय ६० मतमा सीमित भयो। २०७४ को निर्वाचनमा समानुपातिकतर्फ १३ लाख ३ हजार ७ सय २१ मत ल्यायो। करिब ३३ लाख मतदाता बढ्दा माओवादीको मत घट्यो।

विश्लेषक रोका यो महाधिवेशनलाई 'श्राद्ध'को संज्ञा दिन्छन्।

२०७० को निर्वाचनमा होमिँदा माओवादीको एउटा समूह विभाजित भएको थियो। मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापा, नेत्रविक्रम चन्दलगायतका नेताहरुले माओवादी फुटाएर नयाँ पार्टी गठन गरेका थिए। संविधान बनाउने वाचा गरेको पार्टीकै नेता डा बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गराएका थिए। संविधान बनाउने नाममा जनताको ६ वर्ष संविधान नपाई व्यतित भएको थियो। जसका कारण निराश भएका जनता र पार्टी टुटफुटका कारण निराश कार्यकर्ताबाट माओवादीको मत गुम्यो। 

२०७४ को निर्वाचनमा आइपुग्दा माओवादीबाट अर्का प्रभावशाली नेता डा बाबुराम भट्टराई पनि अलग भए। संगठन भद्रगोल अवस्थामा पुगेको थियो। पार्टीबाट पूर्व लडाकुदेखि सहिद परिवारसम्म निराश हुन थालेका थिए। यस्तो अवस्थामा चुनाव लडेको माओवादीको अवस्था झनै खस्कियो। विचार, नीति र कार्यशैलीसमेत ढुलमुले रहिरह्यो। 

शन्तिपूर्ण राजनीतिमा बलियो गरी स्थापित हुने कि विद्रोहको बाटोमा हिँड्ने? कम्युनिस्ट पार्टीहरु एक हुने कि लोकतान्त्रिक शक्ति भन्दै कांग्रेससँग सहकार्य गर्ने? यस्ता विषयमा माओवादी अल्मलियो। दोहोरो चरित्र देखाइरह्यो। जुन अलमल अहिले पनि कायमै छ। 

त्यसो त माओवादीको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा आफूहरु द्वैध मानसिकतामा रहेकै कारण पार्टी कमजोर भएको उल्लेख गरेका छन्। आफ्ना कमजोरीहरु स्वीकार्दै माओवादी बलियो बन्ने सम्भावना छ त? 

‘आत्मालोचना गर्दैमा पार्टी बलियो हुँदैन।  गल्ती नगर्ने गरी स्पष्ट विचार, प्रभावकारी कार्ययोजना ल्याउन आवश्यक छ। जुन माओवादीको महाधिवेशनबाट पारित दस्तावेजमा भेटिँदैन,' राजनीतिक विश्लेषक हरि रोका भन्छन्, 'राजनीतिक दलको सबैभन्दा ठूलो पुँजी विचार हो, उसले लिने नीति हो, त्यसको प्रभावकारी कार्यान्वयनको रोडम्याप हो। यो सबैमा माओवादी अहिले पनि अलमलिएको देखिन्छ। 

‘पार्टी रुपान्तरण हुन कि प्रवृत्ति सुध्रिनु पर्छ, कि नेतृत्व बद्लिनु पर्छ। यो दुवै कुरा यो महाधिवेशनले बदल्न सकेन। त्यसैले माओवादीले नारामा भनेजस्तो यो महाधिवेशनबाट रुपान्तरण हुने गुन्जायस देख्दिनँ,’ उनले भने। 

विश्लेषक रोका यो महाधिवेशनलाई 'श्राद्ध'को संज्ञा दिन्छन्। देहान्त भएका बाबुआमाको जसरी वर्षेनि श्राद्ध गरिन्छ, यो महाधिवेशन त्यही शैलीबाट भएको छ। कानुनी रुपमा महाधिवेशन गर्नै पर्ने बाध्यताका कारण माओवादीले महाधिवेशन गरेको उनको टिप्पणी छ। कर्मकाण्डी रुपमा माओवादीले गरेको यो महाधिवेशनले प्रचण्डलाई अनुमोदन गर्नेबाहेक अरु खास केही नगरेको विश्लेषक रोका बताउँछन्। 

‘पार्टी रुपान्तरण हुन कि प्रवृत्ति सुध्रिनु पर्छ, कि नेतृत्व बद्लिनु पर्छ। यो दुवै कुरा यो महाधिवेशनले बदल्न सकेन। त्यसैले माओवादीले नारामा भनेजस्तो यो महाधिवेशनबाट रुपान्तरण हुने गुन्जायस देख्दिनँ,’ उनले भने। 

माओवादी केन्द्रका नेता रामनारायण बिँडारी पनि महाधिवेशनबाट पार्टी क्रान्तिकारी हुने र ठूलै बद्लाव आउँछ भन्ने सोच्नु ज्यादा अपेक्षा भएको बताउँछन्। ‘कानुनी रुपमा बाध्यता रहेकाले महाधिवेशन गरिएको हो। केही नयाँ कुरा भएका छन्, आत्मालोचना भएको छ। पुराना गल्ती सुधार्ने प्रतिबद्धता आएको छ। तर, यही महाधिवेशनबाट माओवादीमा ठूलै बद्लाव आउँछ र पार्टी क्रान्तिकारी हुन्छ भनेर सोच्नु चाहिँ ज्यादा अपेक्षा हो,’ उनले भने। 

जनमत जोगाउन पहिरो रोक्ने चुनौती

माओवादीको मत जसरी खिइँदै गएको छ, त्यसैगरी संगठनमा पहिरो गहिरहेको छ। २०६८ चैतमा सेना समायोजनको निर्णय भएपछि माओवादीमा असन्तुष्टि सुरु भएको थियो। र, त्यो असन्तुष्टि अन्ततः २०६९ मा आइपुग्दा फुटमा परिणत भयो। मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, जयपुरी घर्ती, पम्फा भुसाल लगायत नेताहरु पार्टीबाट अलग भए। त्यसबेला ९० बढी सभासद र ३० प्रतिशत केन्द्रीय सदस्य सहितले अर्को माओवादी बनाएका थिए। पार्टी विभाजनको असर माओवादीले २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा देखियो। पहिलो पार्टी तेस्रो स्थामा खुम्चियो, करिब आधा जनमत गुमायो। 

यसपटक फेरि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका प्रभावशाली नेताहरु माओवादीबाट बाहिरिएका छन्।

हुन त त्यसअघि २०६२ सालमा मणि थापा र २०६५ मा मातृका यादवले अलग पार्टी बनाइसकेका थिए। तर, त्यसको असर खासै देखिएको थिएन। निकै उतार चढावका बीच २०७२ असोज ३ मा संविधान जारी भएपछि त्यसको ६ दिनभित्रै वरिष्ठ नेता डा बाबुराम भट्टराईले पनि माओवादी छाडे। उनले नयाँ शक्ति पार्टी गठन गरे। बाबुराम पनि पार्टीबाट अलग भएपछि २०७४ को निर्वाचनमा होमिएको माओवादीको अवस्था थप कमजोर बन्यो। सशस्त्र युद्धका बेलामा एक भएर लडेको माओवादी जति छिन्न भिन्न हुँदै गयो उति नै जनमत गुमाउँदै गएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। 

यसपटक फेरि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका प्रभावशाली नेताहरु माओवादीबाट बाहिरिएका छन्। चुनावमा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको अर्को कम्युनिस्ट पार्टी नेकपा एमालेमा गएका छन्। यसको असर फेरि पनि माओवादीले भोग्ने जोखिम उच्च रहेको विश्लेषकहरुको टिप्पणी छ। 

‘माओवादीमा पहिलो कुरा विचारमा स्खलन आएको छ। दोस्रो कुरा संगठन निरन्तर रुपमा खिइँदै गएको छ। पुराना नेताहरु छिन्नभिन्न भएका छन्। यसको असर माओवादी फेरि पनि निर्वाचनमा भोग्नु पर्ने खतरा देखिन्छ,’ विश्लेषक रोका भन्छन्। माओवादीमा मुख्य चुनौती संगठनमा निरन्तर रुपमा गएको पहिलो रोक्नु नै हो। छिन्नभिन्न भएका माओवादीलाई एकीकृत गर्न सकेको अवस्था माओवादी फेरि दर्बिलो पार्टीका रुपमा उदाउन सक्ने उनको विश्लेषण छ। 

माओवादी नेता हरिबोल गजुरेल माओवादीलाई फेरि पहिलेकै अवस्थामा लैजान पार्टीले संगठन सुदृढीकरणको नीति लिएको दाबी गर्छन्। ‘यो महाधिवेशमा हामीले हाम्रा गल्तीहरुको समिक्षा गरेका छौँ। आत्मालोचना गर्दै संगठन बलियो बनाउने काममा ध्यान केन्द्रित गर्ने नीति लिएका छौँ,’ उनले भने। नेता गजुरेलका अनुसार माओवादी छाडेर गएका वैद्य, बाबुराम र विप्लवहरुलाई फर्काउने प्रत्यन्त पनि भइरहेको छ। ‘उहाँहरुलाई पार्टीमा स्वागत गर्न हामी सधै तयार छौँ। उहाँहरुसँग हाम्रो संवाद पनि भइरहेको छ। माओवादी संगठन फेरि पहिलेजस्तै बलियो बनाउँने दिशातर्फ हाम्रो ध्यान केन्द्रित भएको छ।’ 

प्रकाशित: Jan 02, 2022| 20:53 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...