शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि, भएन 'मूल्य स्थिरिकरण' कोषको प्रयोग

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि, भएन 'मूल्य स्थिरिकरण' कोषको प्रयोग

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यकता अनुसार यसअघि पनि मूल्य स्थिरिकरण कोषको रकम प्रयोग हुने गरेकामो अबका दिनमा पनि उक्त रकम प्रयोग गरिने दाबी गरे। निगमका अनुसार पछिल्लो समय मूल्य स्थिरिकरण कोषमा १५ अर्ब ३४ करोड रुपैयाँ सञ्चिति रहेको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको भन्दै नेपाल आयल निगमले पछिल्लो समय निरन्तर मूल्य वृद्धि हुँदै आएको छ। २०७६ चैतमा कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा सवारी सञ्चालन तथा विकास निर्माणका काम ठप्प भएपछि निगमले पेट्रोल तथा डिजेलको मूल्य थोरै घटाएको थियो। कोरोनाका कारण अधिकांश मुलुक प्रभावित बन्दा पेट्रोलियम पदार्थको मागमा आएको कमीका कारण अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्यमा गिरावट आएको थियो। सोही कारण नेपालमा पनि नेपाल आयल निगमले मूल्य घटाएको थियो। 

२०७६ चैतमा लकडाउन हुनुअघि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँका दरले रहेको थियो। लकडाउनपछि निगमले उक्त मूल्य घटाउँदै पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८५ रुपैयाँका दरले कायम गरेको थियो।

२०७७ असारमा लकडाउन खुकुलो भएर जनजीवन सामान्य हुन थालेपछि पेट्रोलियम पदार्थको खपत (माग) बढ्न थाल्यो। माग बढ्न थालेसँगै निगमले मूल्य पनि बढाउन सुरु गर्‍यो। २०७७ जेठसम्म पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको निगमले असारमा लकडाउन खुकुलो भएसँगै बढाउन सुरु गरेको थियो।

२०७७ असार १६ मा मूल्य बढाउँदै पेट्रोलको मूल्य १०१ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पुर्‍याएको थियो। त्यसपछि सोही असार २६ मा मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८८ पुर्‍यायो। त्यसको एक महिना नबित्दै साउन १७ मा फेरी पेट्रोलियम पदार्थको मूल्य बढाउँदै निगमले पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम पुर्‍याएको थियो। त्यसयता निगमले पटक-पटक मूल्य बढाउँदै पेट्रोलको मूल्य प्रतिलिटिर १३६ रुपैयाँ र रडिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुर्‍याएको छ। पटक-पटक मूल्य वृद्धि गर्दा नेपाल आयल निगमले देखाउने एउटै कारण हो - 'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु’।

पछिल्लो पटक निगमले मूल्य बढाएर पेट्रोलको मूल्य १३६ रुपैयाँ प्रतिलिटर तथा डिजेल तथा मट्ट्तिेलको मूल्य ११९ रुपैयाँ कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८४.४० डलर प्रतिब्यारेल रहेको थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। आइबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७.७८ डलरमा झरेको छ। 

निगमले खरिद गर्दै आएको भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आईओसीले अंग्रेजी महिनाको प्रत्येक १५ तारिक र १ तारिखमा नयाँ मूल्यसूची पठाउँदै आएको छ। सो अनुसार पछिल्लो पटक आएको नयाँ मूल्य सूची अनुसार आईओसीबाट यसअघिको तुलनामा मूल्य घटेर आएको छ। तर, नेपाल आयल निगमले भने घटाउने छाँटकाँट देखाएको छैन। आइतबार नेपाल आर्थिक पत्रकार संघ सेजनसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गर्दै निगमले अहिले मूल्य घटाउन सान्दर्भिक नरहेको उल्लेख गरेको छ। 

निगमले पछिल्लो समय बिक्री गरिरहेको पेट्रोलियमको मूल्यमा पनि घाटा बेहोरिरहेको बताएको छ। अहिलेकै मूल्यमा निगम नाफामा जानको लागि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६५ डलर प्रतिब्यारेल पुग्नुपर्ने दावी गरेको छ। निगष्ष्मले यसअघि  अन्तर्राष्ट्रि बजारमा प्रतिब्यारेल १०५ डलर पुगेका बेलामा नेपालमा १४० रुपैयाँ प्रतिलिटरसम्म पनि बिक्री गरिएकाले अहिलेको मूल्य स्वभाविकै रहेको उल्लेख गरेको छ। निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले २०७० सालमा अन्तर्राष्ट्रिय बजारमा १०५ डलर प्रतिब्यारेल पुगेका नेपालमा १४० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गरिएको भन्दै अहिले अन्तर्राष्ट्रिय बजारमा रहेको मूल्य अनुसार नेपालमा १४९ रुपैयाँ प्रतिलिटरसम्म पुग्नुपर्ने दाबी गरे। 'पेट्रोलियम पदार्थको मूल्य घटबढमा अन्तर्राष्ट्रिय बजारमा रहेको कच्चा तेलको मूल्यको मात्रै भूमिका हुँदैन। डलर सटही दरको पनि भूमिका हुन्छ,’ साहले भने, '२०७० सालमा १४० रुपैयाँका दरले पेट्रोल बिक्री हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०५ डलर प्रतिब्यारेल थियो। नेपालमा डलर सटही दर त्यतिबेला ८७.२८ रुपैयाँ थियो।  अहिले ११९.२४ रुपैयाँ सटही दर छ।’

मूल्य स्थिरिकरण कोष प्रयोग गर्ने दाबी

उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले निगम घाटामा जानेगरी मूल्य घटाउन उचित नहुने बताए। 'निगमले नाफा कमायो भने त्यो नाफा नागरिककै हितमा जाने हो,’ सचिव भट्टराईले भने, 'निगमको नाफा कमाउने उद्देश्य होइन। घाटामा पनि जानु भएन।' सचिव भट्टराईले आफूले यसअघि नै मूल्य स्थिरिकरण कोषको रकम प्रयो गरौं भने पनि लामो समय त्यो रकमले नधान्‍ने भएकाले प्रयोग नगरिएको बताए। अबका दिनमा मूल्य स्थिरिकरण कोषको रकम प्रयोग गरिने सचिव भट्टराईको भनाई थियो।

त्यस्तै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यकता अनुसार यसअघि पनि मूल्य स्थिरिकरण कोषको रकम प्रयोग हुने गरेकामो अबका दिनमा पनि उक्त रकम प्रयोग गरिने दाबी गरे। निगमका अनुसार पछिल्लो समय मूल्य स्थिरिकरण कोषमा १५ अर्ब ३४ करोड रुपैयाँ सञ्चिति रहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएमा नेपालमा मूल्य नबढाउने र उक्त कोषको रकम प्रयोग गर्ने सर्त अनुसार उक्त कोष सञ्चालनमा आएको थियो। मूल्य स्थिरिकरणको कोषका लागि उपभोक्ताले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ १२ पैसा, मट्टितेलमा १ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८४ पैसा र खाना पकाउने ग्यासमा १४ रुपैयाँ २५ पैसा थप महंगो तिर्नु परेको छ।


प्रकाशित: Jan 02, 2022| 21:06 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्