काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका बहालवाला प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिवादी प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनका अनुसार केहिबेरअघि आरोप पत्र दर्ता भएको हो।
कृषि सामग्री कम्पनी लिमिटेडले कन्ट्रयाक्ट नम्बर ८९/०७७/०७८ बाट खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ एवं सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरीत विना प्रतिस्पर्धा मल खरिद गरेको पाइएको अख्तियारले जनाएको छ।